• माघ ७ २०८१, सोमबार

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावासको सजाय

माघ ७ २०८१, सोमबार

७ माघ, नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकाताको गएको वर्ष अगष्ट महिनामा एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणका दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

सोमबार कोलकाताको सियालदह अदालतले आरजी कार अस्पतालकी प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मुद्दामा दोषी संजय रोयलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

सीबीआईले यस मामिलालाई दुर्लभ घटना भन्दै दोषीलाई फाँसी दिनुपर्ने माग गरेको थियो । दोषीलाई अधिकतम सजाय दिनुपर्ने उनीहरूको तर्क थियो । आफ्नो फैसला पढ्दै गर्दा न्यायाधीशले यो दुर्लभमध्ये दुर्लभ घटना नभएको भन्दै दोषी रोयलाई आजीवन कारावासको सजाय सुनाएका थिए ।

अदालतमा दोषी ठहर भइसकेका रोयले फेरि पनि न्यायाधीश समक्ष बिन्ती गर्दै आफूलाई निर्दोष बताएका थिए । उनकी आमाले पनि अदालतमा दयाको याचना गरेकी थिइन् ।

दुवै पक्षको बहस सुनेपछि न्यायाधीशले दिउँसो २ः४५ बजेसम्मको लागि आफ्नो निर्णय सुरक्षित राखेका थिए । दोषी प्रमाणित भइसकेकोले रोयलाई अधिकतम सजायमा मृत्युदण्ड वा आजीवन कारावास के दिने भन्नेबारे मात्रै फैसला सुनाउन बाँकी थियो ।