• माघ ७ २०८१, सोमबार

जनतालाई अँध्यारोमा राखेर उद्योगलाई दिएको विद्युतको महशुल तिर्नैपर्छ : कुलमान घिसिङ

माघ ७ २०८१, सोमबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न आफूलाई उपभोक्ताले ठूलो सहयोग गरेको बताएका छन् ।

शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफू लोडसेडिङ हटाउन सफल भएको बताए ।
‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरें । उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भएँ ।’ लोडसेडिङ एकैपटक अन्त्य गर्न नसकिने अवस्थामा आफूले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उनको जिकिर छ ।

घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताए ।

‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । बिचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ ।’ उनले भने ।

लोडसेडिङको समय माएउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गने ।

‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’ पहाडी जिल्लामा ४ मेगावाट पनि खपत नहुने घिसिङ भन्नुहुन्छ ।
सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको उनको दावी छ । २०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत पुगेको उनको दावी छ ।

‘लोडसेडिङको अन्त्य शहरी क्षेत्रको मात्र गरिराख्यौं, तर, काठमाडौं वरिपरीमै विद्युत पुगेको थिएन । जहाँ २४सै घण्टा लोडसेडिङ थियो त्यहाँ विद्युत पुर्याउने हाम्रो काम नै महान काम हो । अहिले ९९ प्रतिशत जनताले विद्युत पाइरहेका छन् ।’
१ प्रतिशत जनताको घरमा आफ्नै कार्यकालमा पुर्याउने भन्दै उनले भने, ‘अब ६, ७ महिना छ यही कार्यकालमा १ प्रतिशत जनताका घरमा विद्युत पुर्याउँछु ।’