• माघ ७ २०८१, सोमबार

अमेरिकाको ४७औँ राष्ट्रपतिमा ट्रम्प नियुक्त, बाहिरीए बाइडेन

माघ ७ २०८१, सोमबार

माघ ७ । अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प नियुक्त भएका छन् । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन् । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गरेका छन् । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भनेका छन् ।

७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उनी अमेरिकाको ४५औँ राष्ट्रपति थिए । सत्ताच्यूत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौंदेखि गैरकानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ ।

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसबाट बिदाइ भएका छन् । बाइडेन र ट्रम्पबिच शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण प्रक्रिया सम्पन्न भएको छ ।

शपथग्रहण समारोहका कार्यक्रमहरू शनिवारदेखि नै सुरु भएको थियो र मङ्गलवार सम्पन्न हुनेछ । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही महत्त्वपूर्ण नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न केही कार्यकारी आदेश र केही महत्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ ।

ट्रम्पले सोही दिन करिब १ वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् । पहिलो दिन ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबै मानिसलाई आममाफी दिने बताइएको छ ।

त्यसैगरी पहिलो दिन नै उनले अवैधानिक तवरले अमेरिकामा बसोबास गर्दै आएका विशाल जनसमूहलाई देशनिकाला गर्नसक्ने आदेश दिने बताइएको छ ।

त्यस्तै दक्षिणी सीमामा पर्खालको निर्माण, खनिज पदार्थको उत्खनन, क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत कर र चिनियाँ सामानमा ३५ प्रतिशतसम्म कर लगाउने निर्णय पनि गर्ने बताइएको छ ।