• माघ ७ २०८१, सोमबार

घलेहरुले मनाए घले ल्होसार, घलेलाई जनजातिमा सूचिकृत गर्न पहल गरिने

माघ ७ २०८१, सोमबार

सुन्दरबजार । लमजुङ जिल्ला लिल फङ अर्थात् (घले समाज)ले यही माघ १ गते शनिवारको दिन सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडार स्थित सिउडीवार समूताँ तमू समाजकाे भवनमा यसवर्षकाे घले ल्होसार सभ्य र भव्यरुपमा  सम्पन्न गरेकाे छ ।

सो कार्यक्रमको प्रमुख अतिथिमा बौद्धधर्मका प्रमुख गुरु वयाेवृद्द ८९ वर्षीय कर्णु घले र विशेष अतिथिमा उनकी श्रीमती सुकासी घलेले उपस्थित सम्पूर्णलाई टिका र फूल दिइ आशिरवाद प्रदान गरेका थिए । कार्यक्रमकाे विशेष अतिथिमा महावीर घले, सुनमाया घले र आइतसरी घले थिए ।

साथै सभाको अध्यक्षता घले समाज लमजुङ जिल्लाका अध्यक्ष समाजसेवी तथा सामाजिक अभियान्ता वीरसिंह घलेले गरेका थिए । कार्यक्रमको संचालन सो संस्थाका सदस्य एवम् गण्डकी प्रदेश सदस्य कुमराज घलेले गरेका थिए ।

घले समाजकी सदस्य मीना घलेले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिइन् । सो अवसरमा नृत्यबाट पनि सहभागीलाई स्वागत गरिएको थियो । सो अवसरमा घले समुदायका असल विद्यार्थी तथा वयोवृद्ध घलेहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै सम्मानितहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

यसरी सम्मानित हुने वयोवृद्धहरुमा महावीर घले, आइतसरी घले, सुकासी घले र सुनमाया घले रहेका छन् । सो अवसरमा सम्मानित हुने घले विद्यार्थीहरुमा नीता घले (बीएसी पास), मनिषा घले  (बीए पास) र सलिन घले (हिराजङ घले) (अतिरिक्त कृयाकलापमा विभिन्न संस्थामा सहभागी भइ प्रथम, द्वितीय र तृतीय पुरस्कार पाएकाे) थिए । उनीहरुलाई प्रमुख अतिथि र सभाअध्यक्षको हातबाट सम्मानित गरिएको थियो ।

सो समारोहमा लिल फङ अर्थात् घले समाज गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष मकर घलेले नेपाल सरकारबाट पाउने सुविधाबाट घलेहरू बञ्चित भएकाे हुँदा अब जनजातिमा सूचिकृत भएपछि ती सुविधा पाउने कुरा भेलामा सहभागीहरूलाई विश्वास दिलाए ।

साे अवसरमा घले संरक्षण कोष महिला समूहका अध्यक्ष बिनकासी  घले, घले संरक्षण कोषका सदस्य एवम् ग्लोबल भिजन बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल मेन घले समेतले शुभकामना मन्तव्यका क्रममा घले जातिकाे बारेमा प्रष्ट पारेका   थिए ।

त्यस्तै साे अवसरमा समुताँ तमू समाजका अध्यक्ष पदमराज गुरुङ, संस्थाका सल्लाहकार भीमबहादुर गुरुङ, संस्थाका कोषाध्यक्ष गर्वलाल गुरुङ, सोही संस्थाका पूर्वअध्यक्ष कीर्तिमान गुरुङ र संस्थाका सचिव चञ्चल गुरुङले घलेहरुकाे इतिहासकाे बारेमा जानकारी गराएका थिए ।

यसअघि २०७४ सालको माघ १ गते लमजुङ जिल्लाको सदरमुकाम  बेसीशहरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय घलेहरुकाे  भेला गरि ल्हाेसार मनाइएकाे थियो । सो अवसरमा प्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका थिए ।

देश तथा विदेशमा बस्ने घले समुदायका मानिसहरुको आर्थिक व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष वीरसिंह घलेले जानकारी दिए ।

साथै उनले घले जातिलाई ०७४ काे चुनावमा अल्पसंख्यामा सूचिकृत गरिएकाे तर अब जनजातिमा सूचिकृत गर्न जिल्लाबाट प्रदेश हुँदै केन्द्रकाे अध्यक्ष अधिवक्ता दिनेश घलेकाे  अगुवाइमा आदिवासी जनजाति  आयाेगका अध्यक्ष रामबहादुर थापामगर र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरूङलाई भेटेर ज्ञापनपत्र बुझाएकाे भेलामा जानकारी दिए ।

सभाका अध्यक्ष घलेले कार्यक्रमका लागि आर्थिक सहयाेग गर्ने उपस्थित अतिथिहरू, शुभकमना दिने अतिथहरू, कलाकारहरू र भान्सामा खट्ने सबैलाई धन्यवाद दिँदै अर्काे साल भेट्ने बाचा गर्दै सभाकाे विसर्जन गरेका थिए ।