• फाल्गुन २७ २०८२, बुधबार

वामदेव गौतम एमालेमै फर्किने, केपीसित भयाे गम्भीर छलफल

माघ ६ २०८१, आईतवार

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नएमालेमै फर्किने भएका छन् । आज बिहान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपीशर्मा ओलीसँग फोनवार्ता भएको थियो ।

फोन वार्तापछि उनले आफू एमालेमा नै जान तयार भएको प्रतिक्रिया दिएका हुन् । “आज बिहान ओलीजीसँग फोनवार्ता भएको थियो । कुरा सकारात्मक भएको छ,” उनले भने ।

उनले दुई वर्षदेखि एमाले नै फर्कन आफू तयार रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । “एमालेमा फर्कन दुई वर्षदेखि प्रयास गरेको थिएँ । पहिले तयार हुनुभएन । अहिले तयार भएर खबर गर्नुभएको छ,” उनले  भने ।

केहीयता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने गरी पनि छलफल भएको थियो । तर, जिम्मेवारीबारे कुरा नमिल्दा उनी एमाले नै जान तयार भएका हुन् ।

“एकीकृत समाजवादीमा जाने नै मनस्थिति बनाएको पनि थिएँ । मेरा कुरा उहाँहरूले ग्रहण गर्नुभएन,” उनी भन्छन् ।

गौतमले पार्टी प्रवेश गर्न सक्रिय भूमिका माग गर्दै आएका छन् । ओलीले भने पहिले पार्टीमा आएपछि मात्रै जिम्मेवारी दिने वचन दिएका छन् ।

“धेरै साथीहरूले, घरपरिवारका साथीहरूले एमाले नै जानुपर्छ भनेपछि म एमालेमा जाने भएको छु,” उनी भन्छन्, “ओजीले पहिला आउनुस् न, यहाँ आएपछि अपमान गर्छौं ? भन्नुभएको छ ।”

एमालेका तत्कालीन उपाध्यक्ष गौमतले ०७८ भदौ १८ गते राजीनामा बुझाएका थिए । उनी तीन वर्षपछि फेरि एमाले फर्कन लागेका हुन् । केही दिनमा नै एमाले प्रवेश गर्ने उनको तयारी छ । उनी निकट केही नेता भने नेकपा (माओवादी केन्द्र) प्रवेशको तयारीमा छन् ।