• माघ ७ २०८१, सोमबार

मानविकी शंकायकाे स्नातक तहमा ‘मगर अध्ययन’ विषय पढाइका लागि खुल्यो आवेदन

माघ ६ २०८१, आईतवार

काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा पढाई हुने थुप्रै विषयमा अर्को एउटा विषय पनि थपिने भएको छ । मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान, नेपाल मगर लेखक संघ र नेपाल मगर संघको निरन्तरको पहलमा नेपालमा पहिलो पटक मगर समुदायको भाषा, साहित्य, संस्कृति, इतिहास र सभ्यताको बारेमा अध्ययन गर्न नेपाल खुल्ला विश्वविद्यालयको मानविकी सङ्काय अन्तर्गत स्नातक तहमा ‘मगर स्टडिज’ विषय अध्ययन गर्न स्वीकृत भएपछि अध्ययनका लागि यो विषय थपिएको हो ।

खुला विश्वविद्यालयको तर्फबाट विद्यार्थी भर्नाको लागि हालै मात्र प्रकाशित सूचनामा यो कुराको जानकारी गराइएको छ ।
खुला विश्वविद्यालयबाट यो विषय स्वीकृत गर्न पहल गर्न सहयोग पुर्याउने सबैप्रति नेपाल आदिवासी प्रतिष्ठानका उपाध्यक्ष जीवन प्रवेश रोकामगरले हार्दिक आभार गरेका छन् ।

यो सूचना प्रकाशन भएको ३० दिनभित्र जुनसुकै विषयबाट जोड २ पास भएका, केही बर्ष पढाइ छुटेका, मगर भाषा, साहित्य, संस्कृति, इतिहास र सभ्यतामा चासो राख्नेहरुले अध्ययन गर्न चाहने सबैलाई भर्नाको लागि आवेदन दिन नेपाल खुला विश्वविद्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।

‘मगर अध्ययन’ विषयको कक्षा अनलाइनबाट संचालन हुने भएकोले देश तथा विदेश रहने जुनसुकै ठाउँबाट पनि पढ्न र जाँच दिन सकिने छ ।

उपाध्यक्ष रोकाले मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानकै पहलमा रोल्पाको थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका र परिवर्तन गाउँपालिकाका केही विद्यालयहरुमा पनि मगर खाम भाषामा १ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीहरुका लागि पाठ्यक्रम बनाएर पढाई भइरहेको जानकारी दिए ।

१ देखि ८ कक्षासम्म मगरसँगै अन्य समुदायका विद्यार्थीले पनि मगर खाम भाषामा पढ्ने छन् भने कक्षा ९ देखि भने मगर बाहेकका समुदायका विद्यार्थीहरुलाई खाम भाषा अनिवार्य गरिएको छैन ।

यता खुला विश्वविद्यालयको स्नातक तहको मानविकी तर्फ पनि मगर अध्ययन विषयमा पढाई सुरु गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष रोकामगरले जानकारी दिए । सो तहमा तामाङ, नेवार, किरात लगायतका विषय जस्तै मगर अध्ययन विषयमा पनि पढाई सुरु हुन लागेको उनको भनाई रहेको छ ।

जुनसुकै समुदायका विद्यार्थीहरुले पनि यो विषय पढ्न पाउने उनले जानकारी दिए । अनिवार्य विषय बाहेकका विषयमा विद्यार्थीहरुले यी ऐच्छिक विषय छान्न पाउनेछन् । त्यसैगरी उपाध्यक्ष रोकाले एमए तहमा पनि मगर भाषामा पढाई सुरु गर्नका लागि त्रिवि र लुम्बिनी विश्वविद्यालयमा पहल थालिएको जानकारी दिए ।

‘मगर अध्ययन’ विषयमा मगर समुदायको इतिहास, भेषभूषा, सभ्यता, संस्कृतिको बारेमा पढाइ हुने भएपनि मगर भाषा नजान्ने विद्यार्थीहरुले खस नेपाली भाषामा पनि पढ्न र परिक्षा दिन पाउनेछन् ।

सहभागीमध्ये १० जना मगर भाषा बुझ्‌ने विद्यार्थी संख्या पुगेमा मगर भाषाबाट पढाई हुनेछ र प्रश्नपत्र पनि त्यसै अनुसार तयार गरिनेछ । प्रयाप्त संख्या पुगेन भने सोही सामग्री खस नेपाली भाषाबाट पढाइनेछ । उपाध्यक्ष रोकाका अनुसार यसको उद्धेश्य मुख्यतया मगर संस्कृति, सभ्यता र इतिहासको बारेमा जानकारी दिनु रहेको छ ।

अनलाइनबाट कक्षा संचालन हुने भएकोले नेपाल र विदेशमा समेत रहेका विद्यार्थीहरुले यसमा सहभागीता जनाउन सक्नेछन् । पढाई पूरा भएपछि अनलाइनबाटै परिक्षा संचालन गरिनेछ ।

अति आवश्यक ठानेर थप जानकारीका लागि हामीले खुला विश्वविद्यालयद्वारा जारी गरिएको आवेदन सम्बन्धि सूचना जस्ताको तस्तै राखिदिएका छौं ।