काठमाडौं । आईसीसी यू–१९ ट्वान्टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ ।
मलेसियाको बांगीस्थित यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
बंगलादेशका निम्ति सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडे । बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका निम्ति ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । सिमाना केसीले १० रनको योगदान दिइन् । अरू नेपाली खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान पूजा महतो दुई रनमा आउट भइन् । अलिशा यादवले चार रन बनाइन् । तिर्सना विक र रचना चौधरीले समान तीन/तीन रन बनाए । रिया शर्मा पाँच रनमा अविजित रहिन् ।
बंगलादेशका निम्ति जनाथन माओलाले दुई विकेट लिइन् । अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक/एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्तीमा एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया छन् । आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई नौ विकेटले पराजित गरेको छ ।