• माघ ७ २०८१, सोमबार

तिब्बतमा गएको भुकम्प खतराको घण्टी, हिमाली क्षेत्र भूकम्पको उच्च जोखिममा

माघ ४ २०८१, शुक्रबार

काठमाडौं । नेपालको हिमाली क्षेत्र आसपासको क्षेत्रमा साना भूकम्पको कम्पन गइरहेको हुन्छ । जसको ख्याल नगरिएपनि नेपाल–चीन सीमानजिकै हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गत साता मात्रै शक्तिशाली भूकम्पले भने खतराको घण्टी बजाएको छ ।

तिब्बतमा गएको भूकम्पको धक्का नेपालको राजधानी काठमाडौंदेखि, भारत र भुटानसम्म महसुस भयो । चीनको सिजाङ काउन्टी केन्द्र भएर ६.८ म्याग्निट्युडको भूकम्प गएसँगै आउने दिनमा भूकम्पको जोखिम कति छ भनेर सोच्न बाध्य बनाएकोछ । खासगरी हिन्दूकुश तथा हिमाली क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरुको भनाई छ ।

शुरुमा हिन्दूकुश क्षेत्रमा पर्ने हिमाल कसरी बने भन्नेबारे बुझ्नु पर्ने हुन्छ । टेथिस सागर पुरिएर बनेको नयाँ हिमाली संरचना जुन ठाउँको मुनी दुई प्लेट एकआपसमा टकराब भइरहेका छन् । भारतीय प्रायद्वीप र युरेशियाका विशाल भूखण्डहरूको जुधाइमा चेपिएर साबिकको महासागर हिमाली समुद्र बन्न पुग्यो, जसको पींधमा पूर्वबाट पश्चिमतर्फ गएका अनेकन् धाँजा र चिराहरू पर्न गए । त्यही समुद्री पींधको एक भाग मास्तिर उकासिएर हिमालयको पहिलो शृंखलाका रूपमा तिब्बततर्फ होचा पर्वतश्रेणी भएर देखा परेको इतिहास पढ्न पाइन्छ । यसरी पर्वत माथि उठ्दा त्यहाँ बग्ने नदीहरू उत्तर र दक्षिण दुई दिशामा बग्न थालेको इतिहास टोनी हेगनले लेखेको पुस्तकमा उल्लेख छ ।

हिमाली श्रृङ्खला धेरै पुरानो होइन । करिब ५ करोड वर्षमा सागरमुनिबाट उठेर सगरमाथा जस्ता चुचुराहरू करिब ९ किलोमिटरको उचाइमा पुगेको वैज्ञानिक खोजले पत्ता लगाएका थिए । वास्तवमा हिमालयको उत्पत्ति भारतीय भू–खण्ड तथा इन्डियन प्लेट र युरेसिया भनिने दुई विशाल भू–भागहरूको टक्करका कारण भएको हो भन्ने कुरा पनि वैज्ञानिक अध्ययनले पत्ता लगाएको थियो । हिन्दूकुश क्षेत्र अन्तर्गत इन्डियन प्लेट विस्तारै उत्तर तिर धकेलिदै जादाँ बेलाबेलामा भूकम्पको धक्का महसुस हुने गरेको छ । हाल सो प्लेट हिमालय पर्वत श्रृङ्खलामा रहेका कारण पनि सो क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरुको भनाई छ ।

भारतीय र यूरेशियन प्लेटको घर्षणबाट निस्किएको शक्ति जमीनमुनि जम्मा भइरहेकाले विनाशकारी कम्पन निम्तिन सक्ने चेतावनी विज्ञहरुले दिने गरेका थिए । अर्थात्, जमीनमुनि भइरहेको ठूलो खलबलीको परिणाम बाहिर निस्कन पाएको छैन । तिब्बतमा गएको अहिलको भूकम्पले शक्ति मोञ्चन ग¥यो त भन्ने प्रश्नमा भूकम्पविद् जनार्दन बेल्बासे जमिन मुनी भएको शक्ति क्षयीकरण नभएको बताउँछन् । उनका अनुसार भूकम्पको जोखिम विशेषगरी हिन्दूकुश क्षेत्रमा रहेको देखिन्छ । भारतीइ प्लेट विस्तारै यूरेशियन प्लेटसँग घर्षण गरिरहेकाले भोलीको दिनमा पनि शक्तिशाली भूकम्पको जोखिम उत्तिकै देखिन्छ ।

भूकम्पविद्हरुले ६ रेक्टर स्केलको भूकम्पलाई साना कम्पनको रुपमा मान्ने गरेका छन् । ६ देखि ७ म्याग्निच्यूडसम्मका भूकम्पलाई मझौला र ७ देखि ८ म्याग्निच्यूडसम्मका भूकम्पलाई शक्तिशाली वर्गमा राख्छन् । ८ भन्दा माथि म्याग्निच्यूडका भूकम्पलाई महाभूकम्पका रूपमा राखिने गरेको छ ।

तिब्बतमा गत साता गएको भूकम्प मझौला किसिमको हो । तिब्बतमा भूकम्प गएको त हो नि भनेर बस्ने अबस्थमा नरहेको भुकम्पविद् बेलबासे बताउँछन् । हिन्दूकुश क्षेत्रको हिमाली भेगको जुन सुकै ठाउँमा पनि ठूला भूकम्प जहिले पनि जाने सम्भावना उत्तिकै रहेको उनको भनाई छ ।

पश्चिम नेपालमा केही महिना अघि गएको भूकम्प र तिब्बतमा गएको भूकम्पमा कुनै फरक नरहेको विज्ञको भनाई छ । पश्चिम नेपालमा ५ सय वर्षयता ठूलो भूकम्प गएको पाइदैन । सन् १५०५ मा पश्चिम नेपालमा महाभूकम्प गएको थियो । त्यतिबेला के कति क्षति भयो भन्ने बारे अभिलेख देखिदैन । भारतीय प्रायद्वीप र युरेशियन प्लेटतर्फ घर्सने क्रम बढिरहेकाले विशेष गरी हिमाली क्षेत्रमा भूकम्पको जोखिम उच्च रहेको देखिन्छ ।

हिमालय क्षेत्र त्यस्तो ठाउँ हो जहाँको जमिनमुनि दुई वटा प्लेटहरु एक आपसमा टकराव गरिरहेका छन् । विज्ञका अनुसार हिन्दूकुश क्षेत्रमा पृथ्वीको सतहमुनि दक्षिणतर्फ रहेको इन्डियन प्लेटले पाँच सेन्टिमिटरको दरले उत्तरतर्फ युरेसियन प्लेटलाई सारिरहेको । पुरानो प्लेटहरु निष्क्रय रहँदै नयाँ प्लेटहरु बन्ने क्रम जारी रहेको छ । हिमालमुनी मात्रै इन्डियन प्लेट वर्षेनी करिब दुई सेन्टिमिटर सर्ने गरेको छ । यसरी हेर्दा दुई वटा प्लेट जसरी एक आपसमा टकराव भइरहेका छन् सोही अनुसार हलचल उत्पन्न भइरहेका छन् ।

वि‌ स २०७२ सालमा गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पपछि भूकम्पीय जोखिमबारे सुक्ष्म ढंगले अध्ययन भने हुन सकेको देखिदैन । त्यसो त नेपालका हिमाल र चुचुराहरुको भौगोलिक अबस्थाका बारेमा विस्तृत रुपमा अध्ययन गरिएको भएपनि प्रतिवेदन सार्वजनिक भएको पाइदैन । भूकम्पविद्हरुले भने भूकम्प गएपछि कुन ठाउँमा बढी क्षति हुन्छ भनेर भन्न सक्ने अबस्था समेत देखिदैन ।

भूकम्पको जोखिम त छ साथै हिमाली क्षेत्रमा बनेका हिमतालहरु फुट्ने सम्भावना पनि उत्तिकै छ । जसले थप जोखिम निम्त्याउन सक्छ । २०७२ सालकै भूकम्पमा पनि लाङटाङमा हिमपहिरो जादाँ लाङटाङ उपत्यकामा मात्रै १७५ जनाको पुरिएर मृत्यु हुन पुग्यो । त्यस्तो विपत्ती फेरि नआउला भन्न सकिन्न । तर, पनि सोही क्षेत्र आसपास मानिसहरुले आफ्नो बसोबास बिस्तार गरेका छन् ।

हिमाली क्षेत्रमा पर्ने हिमतालको विषयमा केही समय अघि अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको, कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रसहित भारत र चीनमा ४७ वटा हिमतालहरु खतराको सूचीमा रहेको औल्याएको छ ।

खतराको सूचीमा परेका हिमतालहरूमध्ये २१ वटा नेपालमा, २५ वटा तिब्बतमा र एउटा भारतमा रहेको सो अध्ययनले उल्लेख गरेको छ । सन् १९७७ यता नेपालले दुई दर्जन भन्दा बढी हिमताल विस्फोटनसँग जोडिएका घटनाहरू महसुस गरेको र त्यसमध्ये केहीको स्रोत तिब्बत रहेको बताइएको छ ।