• जेष्ठ २६ २०८२, आईतवार

बैंक खाता खोल्न माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

माघ ४ २०८१, शुक्रबार

माघ ४, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्न यही माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । सरकारले गएको असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । सोही व्यवस्था नेपाल राष्ट्र बैंकले कार्यान्वयन गरेको हो ।

हाल बैंकमा नयाँ खाता खोल्न जानेहरूलाई भने यो अनिवार्य गरिएको छैन । निश्चित अवधिमा राष्ट्रिय परिचयपत्र ल्याउने सर्तमा बैंक खाता खोल्ने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।

‘बैंकिङ कार्यमा राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गरेसँगै त्यसलाई हामीले लागु गरेका हौँ,’ उनले बाह्रखरीसित भने, ‘तर, अहिले बैंकमा जानेहरूलाई बैंक खाता खोल्न रोकिएको छैन । केही समयभित्र राष्ट्रिय परिचयपत्र ल्याउने सर्तमा बैंकहरूले व्यवस्था मिलाइरहेका छन् ।’

पुराना खातावालालाई पनि क्रमिक रूपमा राष्ट्रिय परिचयपत्र ‘अपडेट’ गराइने उनले बताए । ‘सरकारले नै अनिवार्य गरेपछि हामीले त्यसलाई लागु गर्नैपर्छ,’ आचार्यले भने, ‘पुराना खातावाला ग्राहकलाई पनि राष्ट्रिय परिचयपत्र अपडेट गर्न लगाउँछौँ । यो नागरिकता जस्तै अनिवार्य हुन्छ ।’ बालबालिकाको हकमा बुवा वा आमाको राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको उनले जानकारी दिए ।