काठमाडौं । नेपाल मगर संघको आयोजनामा आज माघे सकराती पर्वको अवसरमा काठमाडौंको टुंडिखेलमा शुभकामना आदन प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका मगर समुदायको संस्कृतिमा आधारित झाँकी तथा र्यालीहरु प्रदर्शन गरिएका थिए । माघीको अवसर भएकोले टुंडिखेलमा मगर समुदायले उत्पादन गरेका विभिन्न स्थानीय खानाका परिकारहरु पनि प्रदर्शन तथा बिक्रीमा राखिएका थिए ।
सो अवसरमा गण्डकी प्रदेशमा प्रचलित कौरा नाच, थाली नाच तथा विभिन्न क्लबहरुबाट सहभागी कलाकारहरुले विभिन्न नृत्यहरु प्रदर्शन गरेका थिए । मेलामा गैरमगर समुदायका मानिस पनि सहभागी थिए ।
सोही अवसरमा नेपाल सरकारका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका मगर समुदायको इतिहास समेटेर प्रकाशन गरिएका ३ वटा पुस्तकहरुको एकसाथ विमोचन गरेकाथिए । यसपालिको माघी मेला तथा साँस्कृतिक कार्यक्रम प्रथम सहिद लखन थापा संग्रहालयप्रति समर्पित रहेको आयोजकले जनाएको छ । सोही कार्यक्रममा एक समारोहका बीच नाट्य सम्राट तथा संस्कृतिविद भैरवबहादुर थापालाई सम्मान पनि गरिएको छ । सो अवसरमा प्रमुख अतिथिको तर्फबाट बोल्दै संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको निजामती क्षेत्रमा मगर समुदायको प्रतिनिधित्व कमजोर रहेको भन्दै यसको पूर्ती गर्नको लागि सरकारलाई झक्झक्याउनु पर्नेमा जोड दिए । उनले मगरहरुको पराक्रमकै कारण पृथ्वीनारयण शाहले नेपाललाई एउटै बनाउन सफल भएको इतिहास भुल्न नहुने बताए ।
सो अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले सबै जातजातिहरुमा एक अर्काका संस्कृतिप्रति सामाजिक सहिष्णु हुनुपर्ने धारणा राखे । उनले यदि समाजमा सामाजिक बेमेलहरु छन् भने पनि यस्ता चाडहरुको माध्यमबाट ती बेमेलहरुलाई हटाएर शान्त र सहिष्णु समाज बनाउनु पर्नेमा जोड दिए । सबै जात र जातिका चाडहरुमा सबै सहभागी हुनु पर्नेमा पनि उनको जोड रहेको छ ।
मगर समुदायले चेलीहरुलाई समाजको उन्नतीको संवाहकको रुपमा पुजा गर्ने चलन रहिआएको छ । त्यस्तै माघे सकरातीकै दिनमा दिवंगत भएर गएका पुर्खाहरुको सम्झना गर्ने र पुजा गर्ने चलन पनि रहेको छ ।
नेपालका अन्य समुदाय जस्तै मगर समुदाय पनि लामो समयदेखि आफ्नै अर्थतन्त्र र संस्कृतिसहितको राज्य सत्ता संचालन गरेर आएको जाति हो । त्यसको अवशेष अझै पनि मगर समुदायमा अझै देख्न सकिन्छ । मगरहरु मातृप्रधान समाजमा अर्थात् महिलाले समाज र घरको अगुवाई गरेर आएका मानिसहरु हुन् ।
तर एक जाति, एक भाषा र एक धर्म जस्ता साङ्लोमा बाँधेर नेपाली शासकहरुले शासन गरेकोले मगरहरुको त्यो राज्यसत्ताको अन्त्य गरियो र त्यो सँगै उनीहरुको भाषा, धर्म र संस्कृतिमाथि नै निर्मम प्रहार गरियो । तर आजको लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा त्यसरी दबाइएका जातिहरुको पहिचान खोजिनु पर्ने र थप विकास गरिनु पर्ने आजको आवश्यकता भएकोमा आजका वक्ताहरुको जोड थियो ।
तर एक जाति, एक भाषा र एक धर्म जस्ता जंलालमा बाँधेर नेपाली शासकहरुले शासन गरेकोले मगरहरुको त्यो राज्यसत्ताको अन्त्य गरियो र त्यो सँगै उनीहरुको भाषा, धर्म र संस्कृतिमाथि नै निर्मम प्रहार गरियो । तर आजको लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा त्यसरी दबाइएका जातिहरुको पहिचान खोजिनु पर्ने र थप विकास गरिनु पर्ने आजको आवश्यकता भएकोमा आजका वक्ताहरुको जोड थियो ।
कार्यक्रममा नेपालका प्रथम सहिद लखन थापाको नाममा बन्न लागेको संग्रहालयको बारेमा नेपाल मगर संघका सहअध्यक्ष गंगाबहादुर थापाले जानकारी गराएका थिए । उनले ४ सहिदको माथिबाट सहिद बनाउने राजाको सालिक बनाउने गलत भएको बताए ।
सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जेन लामाले आफ्नो संस्थाको तर्फबाट प्रथम सहिद लखन साँस्कृतिक संग्रहालयको भवन निर्माणको लागि रु. १ लाख ११ हजार ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।
त्यस्तै सोही भवन निर्माणार्थ निर्मल सारुले पनि रु. ५१ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । कार्यक्रमको संचालन नेपाल मगर संघका महासचिव टेक नाम्जाली मगरले गरेका थिए । माघी पर्व मगर समुदायको प्रमुख साँस्कृतिक पर्व हो ।
सो अवसरमा अन्तराष्ट्रिय मगर संघका अध्यक्ष नवीन रोकामगरले इन्द्रेणीले विभिन्न रंगहरु दिएजस्तै विभिन्न जातजातिहरुका कारण नेपाल पनि रंगीन भएको बताए । साथै उनले माघी पर्व चेली, प्रकृति र पितृ पुज्ने पर्व भएको भन्दै यो पर्व नयाँ वर्ष भएको पनि बताए ।
मगरहरु आफ्नो पहिचान र सभ्यतासहित बाँच्न चाहेको जाति भएको भन्दै आफूहरुले मगरातसहितको गणतन्त्र माग गरेको बताए । उनले मगरात साझा इतिहास भएको भन्दै पूर्खाको नासो मगर संस्कार जोगाउनु अहिलेको पुस्ताको जिम्मेवारी भएकोमा जोड दिए ।
मगरात स्वायत्त प्रदेश बनाउनु पर्ने रोकाको माग छ । आक्रोसित मुद्रामा मन्तव्य राखेका रोकामगरले सरकारले नै मगरहरुलाई विभाजन गरेको आरोप पनि लगाए । आक्रोसित हुँदै उनले भने,‘मगर जातिको इतिहासलाई थरमा सिमित गरिदिने नेपाल सरकारको तथ्यांक विभागप्रति मुर्दावाद भन्न चाहन्छु’ ।
सो अवसरमा विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै जनजाति नेता महेन्द्र थापाले माघी अरु जातिले पनि मनाउँछन् तर माघी मगरको मुख्य साँस्कृतिक पर्व भएको बताए । उनले नेपाल आफ्ना पूर्खाले रगत बगाएर बनाएको देश भएपनि आफूहरु आज शरणार्थी जस्तै बनाइएको गुनासो पोखे ।
कार्यक्रमका अर्का वक्ता तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जेन लामाले ‘आमालाई पल्ला घरे साइँलाले मँ त ढलेँ ढलेँ भने झैं सरकारको पनि यस्तै हालत भएको भन्दै व्यङ्ग्य गरे । उनले सरकारले जनतालाई रोजगारी दिनुपर्नेमा काम गर्न खोज्नेलाई पनि खुट्टा तान्ने प्रवृति बढेको बताए । उनले यति ठुलो समारोहमा मगर भाषामा एउटा पनि गीत र नृत्य देख्न नपाउनु दुर्भाग्य भएको बताए ।
कार्यक्रमका आकर्षण तथा मगर संस्कृतिको इतिहास खोजकर्ता तथा संस्कृतिविद बमकुमारी बुढाले लामो समयदेखि मगरहरुको संस्कृतिको रुपमा मनाएर आएको माघे सकरातीलाई निरन्तरता दिनुपर्ने बताइन् । उनले २ हजार वर्षको बीचमा मगर आफैले शासन गरेको इतिहास रहेको भन्दै राजतन्त्रको एकात्मक शासनले गणतन्त्रात्मक मगरको शासनलाई एकात्मकमा गाभेको इतिहास सुनाइन् ।
सोही अवसरमा बोल्दै नेपाली कांग्रेसकी सांसद कुसुम थापाले जनजातिले जोगाएर ल्याएको पर्यावरण बिग्रँदै गएकोले यसको रक्षाको लागि नेपाल मगर संघ जस्ता संघसंस्थाहरुले पहल गर्नुमा जोड दिइन् । कार्यक्रमका अर्का वक्ता नेपाल मगर संघका सहअध्यष गंगा खासुमगरले प्रकृति बिना प्रणीको जीवन सम्भव नहुने भएकोले प्रकृतिलाई पूजा गर्ने, हामीलाई जीवन दिने पितृ र उन्नतीको संवाहक चेलीहरुलाई पुजा गर्ने चलन रहिआएको इतिहास बताइन् ।
सोही कार्यक्रमका अर्का वक्ता तथा नेपाल मगर संघका सहअध्यक्ष गंगा थापामगरले लखन थापालाई सहिद भन्न १ सय ३९ वर्ष लागेको इतिहास सुनाउँदै यो राज्य जनजातिप्रति विभेदकारी भएको आरोप लगाए । उनले नेपालका ४ जना सहिदको सालिक राखिएको स्थानमा खलन थापाको पनि सालिक राख्नुपर्ने माग राखे । उनले सहिदको सालिक राखेको स्थानमा राजाको सालिा राख्न नहने तर्क गरे ।
अर्का वक्ता तथा नेपाल मगर संघका सल्लाहकार तिलबहादुर थापाले ३० लाख मगरहरुले नेपाललाई कोरिया र अमेरिकाको स्तरमा नेपाललाई सम्पन्न बनाउनउ सकिने कुरा राखे । त्यसको लागि नेपालका मगर तथा गैरमगरहरु आफै आत्मनिर्भर बन्नेतिर लाग्नु पर्नेमा उनको जोड थियो ।
सोही कार्यक्रमका अर्का वक्ता तथा नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेसम गुरुङले माघी पर्वको अवसरमा मगरहरुले सामाजिक प्रतिष्ठा पाउनको लागि थप उत्प्रेरणा मिलोस् भन्ने शुभकामना दिए ।
कार्यक्रमका अर्का वक्ता तथा नेपाली कांग्रेसका नेता अमरसिंह पुनले सुशिल कोइराला सरकारको पालामा लखन थापालाई नेपालको प्रथम सहिद घोषणा गरेको स्मरण गराए ।
कार्यक्रमका अतिथि तथा वक्ता एवम् साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रबन्धक किरणबाबु पुनले मगर समुदाय संस्कृतिले सम्बृद्ध भएको जाति भएको भन्दै यसको पहिचान र अस्तित्वलाई स्थायित्व दिने मुख्य कुरा भएको बताए । उनले त्यसका लागि नीति बनाएरै अघि बढ्नु पर्नेमा जोड दिए । सो अवसरमा मगर खेलकुद संघ लगायतका खेलाडीले तेक्वान्दो लगायतका खेलकुद प्रस्तुत गरेका थिए ।
सो अवसरमा मगर खेलकुद संघ लगायतका खेलाडीले तेक्वान्दो लगायतका खेलकुद प्रस्तुत गरेका थिए । सभाध्यक्ष ज्ञानेन्द्र पुनले कार्यक्रमको समापन गरेका थिए । तस्वीर : राेमन बुढामगर, पुस्ते थापामगर ।