नेपालका आदिवासी जनजाति मगर समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’ सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् ।
नेपालका विभिन्न जाति र समुदायले माघे पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्। मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने प्रचलन छ।माघे संक्रान्ति मगर समुदायको प्रमुख साँस्कृतिक पर्व हो ।
मगर समुदायका मानिसहरूले काठमाडौंको टुँडिखेलमा सामूहिक रूपमा यो पर्व मनाएका छन्। नेपाल मगर संघद्वारा आयोजित ‘प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सङ्क्रान्ती-२०८१’ कार्यक्रममा मगर समुदायको पहिचान झल्कने कृषि औजारलगायत मौलिक र सांस्कृतिक रहनसहन वेशभूषा प्रदर्शनमा राखिएको थिए ।माघी पर्वको अवसरमा मगर समुदायका मानिसहरूले विभिन्न झाँकीहरूसमेत प्रस्तुत गरेका थिए।
काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक र्याली निकालिएको थियो । सांस्कृतिक र्याली विभिन्न स्थानको परिक्रमा गर्दै टुँडिखेल पुगेको थियो ।
माघे संक्रान्ति पर्वको अवसर पारेर नेपाल मगर सङ्घले काठमाडौंको टुँडिखेलमा दुई दिने महोत्सवको आयोजना गरेको हो । यस दिन छोरी चेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् ।छोरी चेलीलाई पिँडालु, तरुल,गिट्ठा, भ्याकुर, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ ।