• माघ २ २०८१, बुधबार

माकेनिकट विद्यार्थी संगठनको अध्यक्ष पदमा एक दर्जन आकांक्षी

माघ १ २०८१, मंगलवार

काठमाडौं । ३२ वर्षे उमेरहद लागू भएपछि पनि नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको अध्यक्षमा दर्जन बढी आकांक्षी देखिएका छन् ।

क्रान्तिकारीको चुनाव यही १२ माघमा हुँदैछ । उम्मेदवारी मनोनयन दर्ता ५ माघका लागि तय भएको छ । मनोनयन दर्ता नजिकिएसँगै नेतृत्वका आकांक्षीहरूको दौडधुप बढेको छ ।

नेताहरूका अनुसार अध्यक्षमा पर्वतका विजयप्रकाश सापकोटा, अछामका नवीन उपाध्याय, भोजपुरका हेमन्त राई, म्याग्दीका सुदिन पौडेल, रौतहटका उपदेश यादव सिन्धुपाल्चोकका श्याम रोकाको दाबेदारी छ ।

पौडेललाई उपमहासचिव वर्षमान पुन पक्षधर, राईलाई उपमहासचिव जनार्दन शर्मा पक्षधर र यादवलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी पक्षधरले अगाडि सारेका हुन् । अध्यक्ष प्रचण्ड पक्षधरहरूबाट भने कम्तीमा तीनजना दावेदारी छन् । उपाध्याय, सापकोटा र रोकालगायतलाई प्रचण्ड पक्षधरले अगाडि सारेका हुन् ।

यसका अलावा क्रान्तिकारीमा अध्यक्षका आकांक्षी अरु पनि छन् । डोल्पाका योगेन्द्र बुढा, मधेश प्रदेशका विश्वमणि थापा र हाल क्रान्तिकारीको उपमहासचिव रहेकी त्रिशना हमाल पनि अध्यक्षका आकांक्षी छन् ।

रोशन थापा मगर, गोविन्द बानियाँ र सञ्जयकुमार महतो पनि क्रान्तिकारीको नेतृत्वका आकांक्षी देखिएका छन् । नेतृत्वका आकांक्षीहरूले आन्तरिक तयारी र नेताहरूसँगको संवाद दुवै बढाएका छन् ।

ममता अधिकारी, विराज थापा र रमेश आचार्य पनि नेतृत्वका आकांक्षी हुन् । तर, विधानका कारणले केही आकांक्षी उम्मेदवार नै हुन नपाउने अवस्थासमेत रहेको छ ।

नेताहरूका अनुसार विधानले पदाधिकारी लड्न एक कार्यकाल कार्यसमिति वा सचिवालय सदस्य हुनुपर्ने र अध्यक्ष लड्न एक कार्यकाल पदाधिकारी हुनुपर्ने भनेको छ ।