• बैशाख ९ २०८२, मंगलवार

मेयर बालेनको प्रश्न,‘सानोतिनो काम पनि केन्द्रलाई नै भन्नु पर्ने हो भने प्रदेशको के काम ?’

पुष २८ २०८१, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय सरकारका समस्या समाधानका लागि संघीय सरकारलाई नै भन्नु पर्ने भए प्रदेश सरकार किन आवश्यक छ भन्दै प्रश्न उठाएका छन् ।

‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिनसक्ने प्रदेश सरकार चाहिएको हो,’ बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव हरिप्रसाद लम्सालसँग आइतबार मेयर साहले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो ?’

मेयर शाहले सुकुम्वासीको समस्या आउँदा पनि संघ सरकार नै सक्रिय भएको बताएका थिए ।

‘सुकुम्बासीको समस्या आउँदा वा नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ,’ मेयर शाहले भने, ‘यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो त्यसो हुन सकेन ।’

प्रदेश सरकार अभिभावक भएर स्थानीय तहलाई सक्षम बनाउन लाग्नुपर्ने उनको भनाइ छ । चालु आर्थिक वर्षका लागि मनोरञ्जन करमा प्रदेश सरकारले कायम गरेको दररेटका कारण महानगरको राजस्व संकलन घटेको पनि मेयर साहको भनाई छ ।

हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधनमा लगेर गत आर्थिक वर्षको दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन पनि उनले आग्रह गरेका थिए ।