काठमाडौं । बुद्ध एयर प्रा. लि ले सर्वोच्च अदालत बार एशोसिएसनमा स्थापना गरेको यस वर्षको ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’बाट बरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता बद्रीबहादुर कार्की सम्मानित भएका छन् । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार,अन्वेषणलगायत विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले गत वर्षबाट मात्रै बुद्ध एयरले तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना गरेको थियो ।
‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’का लागि बनेको पुरस्कार समितिमा सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवशंकर निरौला, बरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र बुद्ध एयरका तर्फबाट कानुनी सल्लाहकार सन्तोष कुमार महतोसमेत रहेको समितिले बरिष्ठ अधिबक्ता बद्रीबहादुर कार्कीलाई दिने पुरस्कार प्रदान गर्ने सिफारिस गरेको हो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा कार्की २०५५ जेठ १ गतेदेखि २०५८ चैत २२ सम्म महान्यायाधिबक्ता भएका थिए । अनवरत रुपमा न्यायको क्षेत्रमा लागेका कार्कीको योगदानको कदर गर्दै उनलाई सम्मान गर्न लागिएको हो । २०३४ सालमा अधिबक्ता भएका काकी २०६५ सालमा बरिष्ठ अधिबक्ता भएका थिए ।
गत वर्ष मात्रै तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना सम्बन्धी सम्झौतामा बुध्द एयर प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष श्री वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
स्वर्गीय सुरेन्द्रबहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत भएका थिए बस्नेतले २०२७ देखि २०२९ सम्म प्रेस काउन्सिल नेपालको पहिलो अध्यक्षको रूपमा काम गरेका थिए । प्रेस काउन्सिलमा रहँदा बस्नेतले ‘मिसन पत्रकारिता’ गरिरहेका पत्रिकाको अनुगमन गरी मर्यादित र जिम्मेवार बनाउन भूमिका खेलेका थिए ।