• पुष २६ २०८१, शुक्रबार

टीकापुर जग्गा प्रकरणमा नगरपालिकाका उपमेयर शाह पनि दोषी ठहर

पुष २६ २०८१, शुक्रबार

पुस २६, काठमाडौं । कैलालीको टीकापुरमा जग्गा अनियमितता गरेको मुद्दामा टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह पनि दोषी ठहर भएका छन् । ८७ जना दोषी ठहर हुँदा शाहलाई पनि तीन महिना कैद र १३ लाख सात हजार जरिवाना तोकिएको हो ।

उनलाई यसअघि नै अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि टीकापुर नगरपालिकाको कार्यपालिकाले निलम्बन गर्दै २०८० फागुनमा जानकारी गराएको थियो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार शाहको निलम्बन जारी रहनेछ ।

‘फैसलाको पूर्णपाठ आएपछि उहाँहरूलाई पुनरावेदनको अधिकार हुन्छ,’ उनले भने, ‘पुनरावेदनपछि सर्वोच्चले सफाइ दियो र उहाँको उपमेयरमा अवधि बाँकी रह्यो भने निलम्बन फिर्ता हुन्छ । सर्वोच्चबाट पनि दोषी ठहर भए उहाँको पद नै जान्छ ।’

शाह २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका थिए । उनी नगर विकास समितिका तत्कालीन बोर्ड सदस्य हुन् ।

यस्तै, विशेष अदालतले पदाधिकारी र कर्मचारीसमेत ११ जना तथा जग्गा खरिद गर्ने ७६ जना गरी ८७ जनालाई दोषी ठहर गरेको थियो । कसुरको मुख्य जिम्मेवारीमा रहेको भन्दै अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी र उपसमिति संयोजक गणेशसिंह रावललाई डेढ वर्ष कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकेको छ । जोशीलाई थप तीन महिना कैद हुने फैसलामा उल्लेख छ ।

अन्य पदाधिकारी र कर्मचारीलाई भने तीन महिना कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकिएको छ । दोषी ठहर भएका अन्य जग्गाधनीलाई भने तीन महिना कैद र बिगोअनुसारको जरिवाना तोकिएको छ । व्यक्तिको नाममा कायम भएको जग्गा जफत हुने फैसलामा उल्लेख छ ।