दक्षिणमा भारत अवस्थित इण्डो–अष्ट्रेलियन भौगर्भिक प्लेट र उत्तरमा चीन अवस्थित युरेसियन प्लेटको बिचमा रहेको हिमालय खण्ड भौगर्भिक तथा मानवीय हिसाबले अहिले हलचलको अवस्थामा छ । यसै बेलामा गत मंगलबार तिब्बतको भूसतहमुनि भूइँचालो गएपछि त यसले चर्चाको मोड नै लिएको छ ।
अहिले हिमालयमा भौगर्भिक तथा मानवीय चासो बढी केन्द्रित छ । भौगर्भिक हिसाबले भित्री हलचल जति चल्न थालेको छ, भूसतहबाहिर पनि उत्तिकै मानवीय हलचल चलिरहेको छ । यसलाई अभिव्यक्त गर्न सरल र सहज हुने शब्दको पनि चयन गरिसकिएको छ । यसलाई हिमालयको ‘ड्रामा’ भन्न थालिएको छ ।
संयोग वा आवश्यकता के हो ? तर हिमालयमा अहिले भित्री र बाहिरी शक्तिको संघर्ष वा घर्षण हिमालयमा केन्द्रित हुँदै गएको छ । भित्री वा भौगर्भिक घर्षणलाई भूगर्भविदले हिमालको भूसतहमुनि इण्डो–अष्ट्रेलियन प्लेट दोब्रिँदै, चोइटिँदै र धस्सिँदै जाने गरिरहेको छ भनी नयाँ व्याख्या गर्न थालेको छन् । यो प्रक्रियाले केही लामो समयपछि तिब्बतीय पठार विभाजित हुने र दुई भागमा चोइटिएर जाने भन्दै नयाँ प्रचार गरिरहेका छन् ।
यसअघि युरासियन प्लेटभित्र इण्डोअष्ट्रेलियन प्लेट घुस्दै गइरहेको भनिएको थियो । सतहमा आए अनुसार यतिसम्म पनि भनिएको थियो कि कालान्तरमा भारत चीनको तिब्बत पठारमुनि धसिंदै र घुस्दै जाने छ । तर अहिले तर्क फेरिएको छ । बहसले नयाँ मोड लिएको छ । यो बहस विशुद्ध भौगर्भिक भन्दा पनि भौगर्भिक–राजनीतिक बन्न पुगेको छ ।
नेपालको भूगोलसहितको हिमालय क्षेत्र भूकम्प प्रभावित रहँदै आएको साँचो हो । भौगर्भिक हलचल हुँदा टेथिस सागर माथि उठेर हिउँ जमेपछि हिमालय श्रृङ्खला निर्माण भएको हो । यो श्रृङ्खला भारतीय प्लेट तिब्बततिर घुस्दा भौगर्भिक हलचलका कारण माथि उठिरहेको भाष्य अहिलेसम्म कायम थियो ।
अब यो भाष्यमा परिवर्तन हुन गएको छ । किनकि, यदि इण्डो–अष्ट्रेलियन प्लेट दोब्रिँदै, चोइटिँदै र धस्सिँदै जान थालेको हो भने यो दुई प्लेटको दुरी अबका आउँदा दिनमा टाढा हुने र हिमालय क्षेत्र पुनः सागरमा जलसमाधि लिनजाने देखिन्छ ।
नयाँ अनुसन्धान र बहसपछि तिब्बतको पठारक्षेत्र दुई चिरामा विभाजित हुँदैछ भनेर अनुमान लगाउनुका पछाडि यिनै दुई जोडदार तर्कले काम गरिरहेका छन् ।
पहिलो हो, भौगर्भिक तर्क । यस तर्क अन्तर्गत तिब्बतको भूसतहमुनि केही फरक ढङ्गका नाटकीय गतिविधि भइरहेका छन् । अर्को मानवीय राजनीतिक तर्क हो, चीनको तिब्बत क्षेत्र टुक्राउने गतिविधि पनि समानान्तर रूपमा भइरहेको छ ।
हिमाली क्षेत्रलाई विश्वको तेस्रो ध्रुव पनि भनिन्छ । यत्ति नै बेला यही तेस्रो ध्रुव पहिलो र दोस्रो ध्रुवका महाशक्तिको लडाइँको केन्द्रविन्दु बनिसकेको छ । यसले विश्वको भौगर्भिक तथा राजनीतिक क्षेत्रमा गम्भीर महाभूकम्पको सङ्केत गरिरहेको पनि छ ।
हिमाली क्षेत्रमा बढेको भूकम्पको जोखिमलाई अहिले ‘तिब्बतको भूसतहमुनि भइरहेको नाटक’ वा खास गरी ‘ड्रामा’ भन्ने गरिएको यी तथ्य र गतिविधिका कारणले नै हो । यसखाले ड्रामाको अनुमान सन् २०२३ डिसेम्बरमा अमेरिकी जियो–फिजिकल युनियनको वार्षिक सम्मेलनमा ‘हिमाली क्षेत्रको भूकम्प’ बारे प्रस्तुत एक अनुसन्धानात्मक कार्यपत्र प्रस्तुतिसँगै हुन गएको हो ।
उक्त सम्मेलनमा स्ट्यानफोर्ड विश्वविद्यालयका जियो–फिजिसिस्ट सिमोन क्लेम पेरर नेतृत्वको टोलीले हिमाली भेग र त्यसमा पनि मुख्य गरी तिब्बती भूभागमुनि भइरहेको भौगर्भिक हलचलबारे नयाँ अवधारणा सार्वजनिक गरेको थियो । यसले अहिले अनौठो ‘ड्रामा’को रूप लिएर गएको छ ।
पृथ्वीको भू–सतह धान्दै आएका इन्डो–अष्ट्रेलियन र युरेसियनजस्ता दुई ठूला चट्टानी प्लेटले करोडौं वर्षदेखि अस्तित्वमा छन् । ती एकापसमा जुध्दै आइरहेका पनि छन् । यी दुई प्लेटको घर्षणले तात्कालिन टेथिस सागरको पिँध माथि उठ्न गई हिमाली श्रृङ्खला र पहाड–पर्वत बनेका हुन् । दुई प्लेटको यो घर्षण प्रक्रियामा युरासियन प्लेटभित्र इण्डो एसियन प्लेट भित्र ‘घुस्दै’ गएको भनिएको थियो ।
तर नयाँ अनुसन्धान र बहसमा भने ‘घुस्दै’ भन्ने शब्दावलीको स्थानमा ‘दोब्रिँदै’, ‘चोइटिँदै’ र ‘धस्सिँदै’ भन्ने शब्दावली प्रयोग गरिएको छ । यसले हिमालमुनिको भौगर्भिक प्रक्रिया पहिले अनुमान गरिए भन्दा भिन्न वा उल्टोजस्तो प्रक्रियालाई सङ्केत गरेको छ । त्यो हो, युरासियन प्लेटभित्र इण्डोअष्ट्रेलियन प्लेट दोब्रिने प्रक्रियाले तिब्बत दुई चिरा हुँदैछ ।
अहिलेसम्म स्थापित भौगर्भिक वैज्ञानिक अवधारणाका अनुसार दुई वटा प्लेटको निरन्तर घर्षणमा इण्डियन प्लेट वार्षिक चार सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदैछ भन्ने थियो । अब इन्डियन प्लेटले युरेसियन प्लेटलाई तलबाट धक्का दिएर दुई चिरा पार्दैछ भन्नेतिर भौगर्भिक मान्यता मोडिंदै जान थालेको छ ।
तर अमेरिका भन्दा अरू देशका भूगर्भशास्त्रीहरूले आफ्नो मान्यता वा अनुसन्धान यस विषयमा सार्वजनिक गरेका भने छैनन् । तर यस अवधारणालाई हिमाली क्षेत्रको भौगर्भिक गतिविधिबारे रूची लिने भूगर्भविद तथा वैज्ञानिकहरूले भने निकै चासोपूर्वक नियालिरहेका छन् ।
यो अवधारणाले ल्याएको मानवीय तरङ्ग अन्तर्गत राजनीतिक चासोका केही विशिष्ट कुराहरू साङ्केतिक रूपमा अभिव्यक्त हुन पुगेका छन् :
१) अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चासो तिब्बतमा केन्द्रित हुनु ।
२) चीनले हिमाली क्षेत्रस्थित ब्रह्मपुत्र नदीमा विशाल जलाशय निर्माण गरी हजारौं मेगावाट विजुली निकाल्ने प्रोजेक्ट कार्यान्वयनमा लैजाने तयारी गर्नु ।
३) विजुली निकाल्ने यो प्रक्रियाले ब्रह्मपुत्रको तल्लो तटीय क्षेत्रमा पर्ने भारत लगायतका देशको असहमति रहनु ।
४) हिमालय क्षेत्रको भौगर्भिक गतिविधिलाई आड बनाएर विश्वको चासो केन्द्रित गरी यही रङरोगनमा विश्व शक्ति केन्द्रहरूले शक्तिशाली सूचना संयन्त्र हिमाल र तिब्बत क्षेत्रमा जडान गर्ने मौकाको खोजीमा रहनु ।
५) अतिमहाशक्तिका रूपमा उदय हुँदै गरेको चीनले यी सबै कुरा निकै चासोका साथ नियालिरहनु ।
कुरा के हो भने भूगर्भका गतिविधिले पृथ्वीको बाहिरी सतहमा रहेको जीव मण्डल, वनस्पति मण्डल, जलमण्डल, थलमण्डल तथा वायुमण्डल प्रभावित हुने हुनाले यो सबैको चासोको विषय हो नै । तर पनि यी चासोमा शक्ति केन्द्रहरूको खिचातानी र हानथापलाई अस्वीकार गर्न सकिदैन ।
त्यसैले हिमालयमुनिको अहिलेको भौगर्भिक गतिविधि आफैमा भौगर्भिक तथा मानवीय गतिविधि बनेर हाम्रो अगाडि उभिएको छ । आउँदा दिनमा भौगर्भिक गतिविधिलाई ओझेल पार्ने गरी मानवीय गतिविधि अग्रभागमा आउँदा आश्चर्य मान्नु पर्ने कुनै कारण बाँकी रहने छैन ।