घोराही २५ पुस । नेपाल मगर संघ दाङ घोराही उपमहानगर समितिले माघ ५ देखि ११ गते सम्म ‘पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला’ गर्ने भएको छ ।
मेलाको विस्तृत जानकारी दिन नगर समितिका अध्यक्ष वेदबहादुर बुढामगरको अध्यक्षता एवं नेपाल मगर संघका केन्द्रिय सदस्य शारदा पुनमगरको प्रमुख आतिथ्यमा मगर संघको कार्यालयमा शुक्रवार पत्रकार सम्मेलन भएको थियो ।
घोराही १४ झिंगौरामा हुने एकहप्ते मेलामा ४० वटा जति स्टल राखिने अध्यक्ष बुढाले जानकारी दिए । ‘विभिन्न जातजातिका पोषाक र परिकारहरु स्टलमा राखिनेछ’ अध्यक्ष बुढाले भने, ‘अन्य व्यापारीक स्टलहरु रहने छैनन् ।’
उनका अनुसार मनोरञ्जनका साधनहरु भने राखिने छन् । शुरुको दिन विभिन्न जातजाति भेषभूषाका झाँकी जुलुस प्रदर्शनी गरिनेछ ।
महोत्सवको अवधिभरमा विभिन्न जातजाति र भाषा भाषिका गीत तथा नृत्य प्रस्तुत गरिने बुढाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय स्थानीय कलाकारको प्रस्तुति रहनेछ । धनुषवाण तथा पौरानिक खानाहरु रहनेछन् । सबै जातजातिलाई आफ्ना पोषाक, खाना तथा पौराणिक भाँडा वर्तन प्रदर्शनी गर्न पाइने छ । मगर संग्राहालयमा राखिएका महत्वपूर्ण पौराणिक वस्तु पनि स्टलमा राखिने भएको छ ।
‘मगर संग्राहलयलाई पूर्णता दिन मेला सञ्चालन गरिने छ’ अध्यक्ष बुढाले भने ‘मेलाबाट भएको आम्दानी मगर संग्राहलयमा लगानी गर्ने उद्देश्य छ ।’
‘हामी मगरहरुका महत्वपूर्ण पर्वहरु माघेतिहार र भूम्या हुन्’ प्रमुख अतिथि संघका केन्द्रिय सदस्य पुनले भने, ‘मगरहरुको महान चाडको रुपमा सम्पन्न गर्नेछौँ ।’ उनका अनुसार भाषा संस्कृति संरक्षण, सम्बर्धन र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यका साथ मेला आयोजना भएको छ । उनले भव्य रुपमा सम्पन्न गर्न सबैलाई आआफ्नो ठाउँबाट लाग्न आव्हान गरे ।
‘सबै मगर र गैह्रमगरले यसलाई अवसरको रुपमा लिने हो भने सजिलो छ’ संघका जिल्ला काबा अध्यक्ष मुक्त बुढाले भने ‘मगर आयोजक भएपनि पर्यटन जोडिएको हुनाले सबैको मेला हो ।’
उनका अनुसार यस्तो मेला पहिलो चोटी हो । यसमा अवसर र चुनौति छन् । पर्यटन भएकाले गैह्रमगरले पनि आफ्नो सम्झिनु पर्छ । मगर सँस्कृतिमा भाषा र धर्म मात्रै छैन । सम्पूर्ण सर्वसाधारण, संघ संस्था व्यवसायी, पर्यटन क्षेत्रका व्यक्तित्वलाई सफल बनाउन उनले अपिल गरेका छन् । महोत्सवमा सफल बनाउन विभिन्न उपसमिति बनाइएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष मित्रलाल घर्तीको संयोजकत्वमा आर्थिक तथा झाँकी व्यवस्थापन उपसमिति, भाषिक उपाध्यक्ष तेजु खाममगरको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, मगर सांस्कृतिक संघ घोराहीका अध्यक्ष बेदलाल पुनमगरको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष अमरबहादुर घर्तीको संयोजकत्वमा सटल व्यवस्थापन उपसमिति, सदस्य गोपाल पुनको संयोजकत्वमा कलाकार व्यवस्थापन उपसमिति, सचिवालय सदस्य रेनु घर्तीमगरको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, सचिवालय सदस्य कैलाश घर्तीमगरको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, काबा सचिव गणेश प्रताप पुनको संयोजकत्वमा खरिद तथा खाना व्यवस्थापन उपसमिति, सदस्य चलमान बुढामगरको संयोजकत्वमा पार्किङ व्यवस्थापन उपसमिति चयन गरिएको छ । बाँकी रहेका काम मुल व्यवस्थापन समितिले गर्नेछ ।
यसैगरी सल्लाहकार समितिमा नेपाल मगर संघका केन्द्रिय उपमहासचिव सावित्रा रानामगर, लुम्बिनी प्रदेश अनुशासन विभाग संयोजक खलुप्रसाद पुन, जिल्ला अध्यक्ष मुक्त बुढामगर, भानसिंह बुढामगर र टोपबहादुर घर्तीमगर रहरेका छन् । कार्यक्रमा सञ्चालन संघका घोराही नगर समिति काबा सचिव गणेशप्रताप पुनले गरेका थिए ।