• पुष २६ २०८१, शुक्रबार

गोंगबुँ परोपकार महिला संस्थाको प्रथम साधारणसभा सम्पन्न

पुष २५ २०८१, बिहीबार

काठमाडौं । गोंगबुँ परोपकार महिला संस्थाको प्रथम साधारणसभा पुस २० गते काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभा संस्थाका अध्यक्ष ज्ञानु प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभाको प्रमुख अतिथिमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, विशिष्ट अतिथिमा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ र विशेष अतिथिमा टोखा नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष रामभक्त घिमिरे थिए ।

त्यस्तै साधारणसभामा उपस्थित अतिथिहरुमा प्रहरी प्रभाग नयाँ बसपार्कका वरिष्ठ नायव निरीक्षक दिनेश उप्रेती, जनकल्याण सामाजिक संस्थाका अध्यक्ष तथा समाजसेवी विकासकुमार दास, गोंगबुँ परोपकार संस्थाका सल्लाहकार हिराकाजी श्रेष्ठ, धौलागिरि समाज सेवाका अध्यक्ष खेमकुमारी खड्का, मिस पु चका अध्यक्ष मञ्जु महर्जन र मिस पु चका सदस्य रमा प्रधान थिए ।

सो साधारणसभाको सञ्चालन गोंगबुँ परोपकार महिला संस्थाका सचिव चन्द्राकुमारी श्रेष्ठले गरेकी थिइन् भने आगन्तुक र सहभागीहरुलाई स्वागत मन्तव्यबाट संस्थाकी कोषाध्यक्ष मञ्जु थापाले स्वागत गरेकी थिइन् । कार्यक्रममा संस्थाको बारेमा संस्थाकी सदस्य प्रियंशा आचार्यले जानकारी गराएकी थिइन् ।

यो अवसरमा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्यमी बन्न चाहनेहरुले ठोस योजना बनाएर आएमा नगरपालिकाले सहयोग गर्ने बचन दिए । मन्तव्यका क्रममा नगर प्रमुख अधिकारीले गोंगबुँ परोपकार महिला संस्थाको प्रगतीको कामना पनि व्यक्त गरे ।

सो अवसरमा बोल्दै कार्यक्रमका विशेष अतिथि टोखा नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष रामभक्त घिमिरेले गोंगबुँ परोपकार महिला संस्थाले उत्पादन गरेका वस्तुहरु वडा नम्बर ९ को कोशेली घरबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइने र कोशेली घरको घर भाडा निःशुल्क गरिने व्यवस्था मिलाइने पनि आश्वासन दिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका अतिथि धौलागिरि समाज सेवाका अध्यक्ष खेमकुमारी खड्काले कुनै पनि संस्था जन्माउनु मात्र ठूलो कुरा नभइ त्यस संस्थालाई जीवन्त रुपमा चलाइराख्नु ठुलो कुरा भएकोमा जोड दिइन् ।

कार्यक्रमका अर्का अतिथि विकासकुमार दासले घरको चुलो र चौको मात्र गरेर बसेका महिलाहरु यसरी समूहमा जम्मा भएर यो स्तरको कार्यक्रम गर्नसक्नु ठूलो कुरा भएको बताए ।

साधारणसभाको समापन मन्तव्य राख्दै संस्थाका अध्यक्ष ज्ञानु प्रजापतिले संस्थाले उत्पादन गरेका विभिन्न सामग्रीहरु वडा कार्यालयले किनिदिएर बजारीकरण गरिदिनु पर्ने माग राखिन् । सो अवसरमा बोल्दै उनले गोंगबुँ परोपकार महिला संस्थाको उद्धेश्य नै महिलाहरुको हकहितको लागि लड्ने रहेको बताइन् ।

सो अवसरमा संस्थाका सबै सदस्यहरुलाई कार्यक्रमका विशिष्ट अतिथि तथा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले खादा लगाएर सम्मान गरेका थिए ।