• पुष २६ २०८१, शुक्रबार

‘श्रीमान मलाई तारेखमा छोडिदिनुस्, बाहिरै बसेर मुद्धा लड्छु’ : रवि लामिछाने

पुष २५ २०८१, बिहीबार

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्की इजलासमा लामिछानेले जिल्ला न्यायाधीश नितिज राईसँग आफूलाई तारेखमा छाड्न आग्रह गरेका हुन् ।
‘म सूर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टी भन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारी सम्बन्धी संसदीय समितिको अंग पनि बनेको छ,’ लामिछानेले भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा केके गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’

लामिछानेले धेरैबेर कुरा राखेपछि जिल्ला न्यायाधीश राईले संक्षिप्तमा कुरा राख्न भनेका थिए । जवाफमा लामिछानेले भने, ‘म पीडित भएकोले धेरै समय बोल्न परेको हो श्रीमान ।’

सरकारी वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश राईले प्रतिवादीहरूलाई केही भन्नु छ ? भनेर सोधेका थिए । त्यसपछि लामिछाने बोलेका थिए ।
लामिछानेले सूर्य थापा सभापति रहेको संसदीय छानबिन समितिले पनि सहकारीको पैसा गोर्खा मिडियामा लैजान आफ्नो संलग्नता नदेखाएको लामिछानेको भनाइ थियो । ‘त्यसैले पनि बाहिरै बसेर मुद्दा लड्न पाऊँ,’ उनले भने ।

जिल्ला अदालत कास्कीले आजै लामिछाने बारे थुनछेक आदेश दिने तयारी गरेको छ । लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए ।