काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।
बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल एमाले मोरङ जिल्ला सदस्य हुन् ।
प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो । ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।
ऋषिकेश पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् । बिहीबार बिहान उनका स्वकीय सचिव पक्राउ परेका हुन् ।