• पुष २५ २०८१, बिहीबार

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

पुष २५ २०८१, बिहीबार

गण्डकी  ।   सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि आज बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने भएको छ ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस जारी छ । प्रतिवादीका तर्फबाट कानुनी व्यवसायीको बहस सकिएपछि जवाफी बहस सुरु भएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ।

सबैबाट थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश न्यायाधीश राईले दिनेछन्।