• पुष २५ २०८१, बिहीबार

इजाजतपत्र नवीकरण नगरी सञ्चालन गरिएका स्वास्थ्य संस्थालाई कारबाही गर्दै सरकार

पुष २४ २०८१, बुधबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ ।
मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाका नाममा परिपत्र गर्दै इजाजतपत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

कतिपय गैरसरकारी तथा सामुदायिक स्तरबाट सञ्चालित संस्थाहरू नवीकरणविना सञ्चालनमा आएको उजुरीपछि मन्त्रालयले परिपत्र गरेको हो । इजाजत नवीकरण नगरेका केही संस्थाहरू मापदण्ड अनुसार समेत नचलेको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरूले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरूलाई भनेका थिए ।

जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाको अनुगमन गरी नियम अनुसार नभएको पाएमा कारबाही गर्ने समेत प्रवक्ता बुढाथोकीको भनाई छ ।