२० पुस, काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका केही कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले सरकारका कामहरूबारे चर्चा गरेका छन् । सरकारले गरेका कामहरूको चर्चा गर्दै सिद्धबाबा सुरुङ ब्रेक थ्रु, अवरुद्ध प्रमुख राष्ट्रिय राजमार्ग र अन्य पूर्वाधार निर्माणको गति, सुनकोशीको पुल २० दिनभित्रै पुनर्निर्माण, बंगलादेशमा विद्युत् निर्यात सुरु, भैरहवा विमानस्थलमा विदेशी एयरलाइन्सहरूको उडान, स्याटलाइट प्रविधिमा आधारित नयाँ संयन्त्र लगायतका विषय उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘नयाँ सरकारका यी कामहरू सकारात्मक छन्, तर पर्याप्त भने छैनन्,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘दुई मुख्य दलको साझेदारी र अन्य दलहरू समेतको सहभागीतामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेका छन् ।’एक वर्ष बितिसक्दा पनि जाजरकोट र पश्चिम रुकुममा पुनर्निर्माणको काम थालनी नहुनु र असोज दोस्रो साताको बाढीबाट पीडितहरूको पुनस्थापनामा ढिलाइ हुनु सोचनीय विषय भएको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।