पुस २०, काठमाडौं । चीनसँगको भैँसीको मासु निर्यात सम्झौता खारेज गर्नुपर्ने भन्दै विभिन्न संघसंस्थाले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । अहिंसावादी, शाकाहारी संघलगायत संस्थाका व्यक्तिहरूले भैँसीको मासु निर्यात सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले ‘आफू पनि बाँचौँ र अरूलाई पनि बाँच्न दिऔँ’, ‘मासु निर्यात सम्झौता खारेज गरौँ’, ‘सम्पूर्ण प्राणीप्रति करुणाभाव राखौँ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले चीनसँगको भैँसीको मासु निर्यात सम्झौता उचित नभएको भन्दै खारेजीको माग गरेका थिए ।
सम्पूर्ण प्राणीको जीवनरक्षाका निम्ति सरकारलाई ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको उनीहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैँसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको थियो । नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा उक्त सम्झौता महत्त्वपूर्ण हुने सरकारको भनाइ छ ।