पुस २०, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा लागुऔषधको कारोबार बढ्दै गएको छ । प्रदेशमा पछिल्लो समय लागुऔषधको कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दो रूपमा बढेको हो । यस्तै, प्रदेशका तीन जिल्लाबाट लागुऔषधसहित एकैदिन १३ जना पक्राउ परेका छन् । शुक्रबार कैलालीमा १०, डडेल्धुरामा दुई र कञ्चनपुरमा एक जना पक्राउ परेका हुन् ।
कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले ‘कर्डन एन्ड स्विप अप्रसेन’ गरी १० जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–२, भन्सार कार्यालयबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७
बस्ने ३४ वर्षीय मोहन राना ६ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको हेण्डलभित्र लुकाएर राखेको अवस्थामा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, धनगढी–२, त्रिनगर भन्सार चोकबाट सु.प.प्र.०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा धनगढी–१३ बस्ने २९ वर्षका बाहाली राना र स्कुटर पछाडि सवार धनगढी–६ बस्ने ३१ वर्षको दीपक रानालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट पाँच सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
धनगढी–१०, घुइयाघाटबाट धनगढी–७ बस्ने २५ वर्षीय प्राभुपन राना र अमन रानालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट आठ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी–१३, झोलुङ्गेपुल नजिकबाट कृष्णपुर–९ बस्ने २४ वर्षीय प्रदीप राना र ३० वर्षीय अनिल रानालाई आठ सय ९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र लागुऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
कैलालीको टीकापुर नगरपालिका–२, आँखा अस्पताल नजिक सडकखण्डबाट सोही ठाउँ बस्ने २३ वर्षको विक्रम बुढा र १० वर्षको मिलन टमटालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट ८० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै, धनगढी–३ केदार टोलबाट बैतडीको पाटन नगरपालिका–८ घर भई केदार टोलमा बस्दै आएका ४० वर्षीय रोशन महरा पक्राउ परेका छन् । उनको साथबाट ६९ ग्राम ३४० मिलिग्राम चरेश र १० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको छ ।
उता कञ्चनपुरमा पनि लागुऔषधसहित एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१८, खैरभट्टीमा सोही ठाउँका ३१ वर्षीय कैलाश लुहार पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ०.५४ ग्राम लागुऔषध बरामद गरेको छ । डडेल्धुरामा पनि लागुऔषधसहित शुक्रबार दुई जना पक्राउ परेका छन् ।