कञ्चनपुर । आजदेखि देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा एकै साथ जलपंछी गणना गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन गरिने भएको छ ।
जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना हुनलागेको नेपाल पक्षीविद सङ्घका वरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपक्षी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए ।
गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिएको थियो ।
विगतका वर्षझैँ यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका रसबै प्रमुख सिमसार क्षेत्रमा जलपक्षी गणना गरिने उनको भनाइ छ ।
भारतीय महादिपमा एशियाली जलपक्षी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले सुरु गरेको हो । यो कार्य सुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।
सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपक्षी गणनाकार्य नियमितरुपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ ।