साढे दुई वर्षमा चार म्याग्निच्युडभन्दा ठूलो भूकम्प ७८ पटक, जबकि त्यसअघि सात वर्षमा ४६ पटक भूकम्प गएको थियो । धनगढी — बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्रीलाई केन्द्रबिन्दु बनाएर पुस ६ मा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सय ८ घर भत्किए, ४ सय ६० घरमा आंशिक क्षति पुग्यो । घरमा बस्नै नमिल्ने भएका कारण जगन्नाथ–५ दर्जी टोलका एक दर्जन परिवारले त्रिपालमुनि आश्रय लिइरहेका छन् ।
बाजुराको उक्त भूकम्पयता दार्चुला, जाजरकोट र बैतडीमा पनि चार म्याग्निच्युडभन्दा माथिको भूकम्प गइसकेको छ । त्यसअघि पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा केन्द्रबिन्दु बनाएर पटक–पटक भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिम र कर्णालीमा यो वर्ष पुस १६ सम्ममा चार म्याग्निच्युडभन्दा माथिको भूकम्प ८ पटक गएको छ ।
२०८० मा ५१ र २०७९ मा १९ पटक भूकम्प गएको तथ्यांक छ । जबकि त्यसअघि सात वर्षमा चार म्याग्निच्युडभन्दा ठूलो भूकम्प ती दुई प्रदेशमा ४६ पटक गएको थियो । यस्तै, २०७९ कात्तिक १५ देखि मंगलबारसम्ममा २ देखि ६ म्याग्निच्युडका भूकम्पको संख्या ३ हजार २ सय ४६ रहेको छ । साढे दुई वर्षको अवधिमा ६ म्याग्निच्युडभन्दा माथि तीन पटक भूकम्प गएको छ । कर्णालीको जाजरकोटमा गत वर्ष कात्तिक १७ मा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा १५७ जनाको मृत्यु भएको थियो भने ६० हजारभन्दा बढी घर भत्किएका थिए ।
शान्तिनगरमा अवस्थित वेविलोन नेशनल स्कुललाई मिनीबस चालक चाहियो त्यसको एक महिनाअघि २०८० असोज १६ मा सुदूरपश्चिमको बझाङमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु भयो । २०७९ कात्तिक २२ मा डोटीमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको ज्यान गएको थियो । २०८० वैशाखयता साढे दुई वर्षको अवधिमा ५ देखि ६ म्याग्निच्युडको भूकम्प बझाङमा सात पटक गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाले बताए ।
कैलाली बहुमुखी क्याम्पसका भूगोल विषयका सहप्राध्यापक लोकबहादुर विष्टले अहिले सुदूरपश्चिम र कर्णालीमा तारन्तार गइरहेकाले भूकम्पले ठूलो जोखिमको संकेत गरेको हुन सक्ने बताउँछन । ‘यस क्षेत्रको धरातलमा ठूलो शक्ति सञ्चित भएर बसेको विभिन्न अध्ययनले देखाएका छन,’ उनले भने, ‘जुनसुकै बेला विनाशकारी भूकम्प आउन सक्छ । पूर्वसतर्कता जरुरत छ ।’खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले पनि पश्चिम क्षेत्रमा ठूलो भूकम्पको जोखिम रहेकाले सतर्कता आवश्यक रहेको बताइन् ।
‘गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्रमा ठूलो भूकम्प नगएको ५१७ वर्ष भयो,’ उनले भनिन, ‘त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चय भएर बसेको छ ।’ भूकम्पको जोखिम न्यूनीकरणका लागि काम गर्दै आएका केशव भट्ट स्थानीय तहहरूले भवन संहिता अत्यन्तै आवश्यक रहेको बताउँछन । ‘पहाडका घरहरू कमजोर छन् । छानामा अधिक भार छ । तर आवश्यक सतर्कता छैन,’ उनले भने, ‘पुराना भवनहरूलाई सबलीकरण (रेक्ट्रोफिटिङ) गर्न पनि जरुरी छ ।’
प्रदेश सरकारअन्तर्गतको आपत्कालीन कार्य सञ्चालन केन्द्रकी सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकीले सम्भावित जोखिम हेरेर विपद् व्यवस्थापन योजना बनाई सबै मन्त्रालयले एकीकृत काम गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिइन । ‘सुदूरपश्चिमलाई भूकम्पीय जोखिमको क्षेत्र भनेर विज्ञहरूले औंल्याउँदै आएका छन । त्यही भएर पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिँदै आएको छ,’ उनले भनिन्, ‘योजना बनाउने, जनशक्ति व्यवस्थापन गर्नेलगायतका कार्य नियमित गरिरहेका छौं ।’