• चैत्र १८ २०८१, मंगलवार

एमालेभित्र अभिव्यक्त ‘राजनीतिक महामारी’ !

पुष १९ २०८१, शुक्रबार

अहिले एमालेभित्रको आन्तरिक राजनीतिक माहोल निकै लाभायम बनेको छ । केही कुरा बाहिर पनि आएका छन् । केही कुरा पार्टीभित्र पनि उम्लिइरहेका छन् । पछिल्लो समयमा नेता भीम रावललाई पार्टीको साधरण सदस्यता पनि नरहने गरी निस्कासित गरिएपछि सबै कुरा सतहमा पोखिएको छ ।

यस्ता गतिविधि एमाले पार्टीमा मात्र भएका भने होइनन् । नेपाली काँग्रेसले पहिलेदेखि यस्ता गतिविधि गर्दै र भोग्दै आएको छ । माओवादीमा पनि यसले दसौं टुक्राको रूप लिएर गएको छ । एमाले पनि फुट्दै र साँगुरिदै जाने क्रममा छ ।

एमालेभित्रको फुट र जुटको क्रममा भीम रावलको प्रश्न भने अलि केही भिन्न प्रकृतिको देखा परेको छ । यो हो अरू पार्टीमा झैं यो पार्टीमा पनि विचार, फरक मत र वैकल्पिक नेतृत्वले स्थान नपाउनु । साथै, पार्टीमा विचारशुन्यता वातावरण मौलाउनु र हैकमवादले घरजम गर्नु ।

भीम रावल एमाले पार्टीमा रहन चाहन्थे । उनले पार्टी फुटाएका पनि थिएनन् । पार्टी फुटाउनका लागि कसरत गरेको देखिएको पनि थिएन । तर उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीको साधरण सदस्यता पनि नरहने गरी निस्कासित गरिदिए । एमाले सचिवालयले यो सबै चूपचाप स्वीकार गरिदियो । हस्ताक्षर गरेर संस्थागत निर्णयमा बदलिदियो ।

एमालेभित्र अहिले आन्तरिक राजनीतिमा निकै हानथाप र खिचलो छ । केपी ओलीको पङ्क्ति नेतृ विद्या भण्डारीको पङ्क्तिबाट पनि उत्तिकै त्रसित छ । ओलीको पार्टी विधानतः अबका दिनमा फेरि पार्टी अध्यक्ष बन्ने मौका छैन । विधानले दिए अनुसार उनी दुई पटक पार्टी अध्यक्ष बनिसकेका छन् । अबको पार्टी महाधिवेशनमा उनी विधानतः पार्टी अध्यक्षको प्रत्यासी बन्न सक्दैनन् ।

अर्कोतिर, नेतृ तथा पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टी नेतृत्वका लागि चासो प्रकट गरिरहेकी छिन् । यही पार्टी आन्तरिक राजनीतिक परिदृश्यलाई इङ्गित गर्दै ओलीले ‘करकाप लगाएर तपाई पार्टी अध्यक्ष बनिदिनु प¥यो भनेर घिसारेर हुँदैन’ भनी सार्वजनिक अभिव्यक्ति दिँदैगर्दा नेतृ भण्डारीले ‘मेरो पार्टी अध्यक्ष बन्ने संभावना टरिसकेको छैन’ भन्ने दह्रो अडान सार्वजनिक गरेकी छिन् ।

ओली–भण्डारी टकराव आजको होइन, हिजोदेखि नै चलिरहेको थियो । पार्टीभित्र एकछत्र राज चलाउन ओलीले विद्या भण्डारीलाई दुईदुई पटक पार्टीबाट टाढा राख्न राष्ट्रपति बनाएका थिए । तर एक दशकको अन्तराल पार भइसक्दा पनि नेतृ भण्डारीको पार्टीमा पुनरागमनको ‘संभावना टरिसकेको’ देखिएन ।

मदन भण्डारीको ‘विरासत’ कसले लिने भन्नेमा एमालेमा होड छ । यो होडमा नेतृ भण्डारीको पलना भारी हुने देखिन्छ, ओलीको तुलनामा । एमाले विज्ञ तथा पुराना नेताहरूका अनुसार पार्टीको निर्देशित ‘वहुदलीय जनवाद’ परित्याग गराएर ‘समाजवाद’ भन्न थालेपछि ओलीले आफू र आफ्ना मानिसको पङ्क्ति हाबी हुने सपना देखिरहेका थिए ।

तर एमालेको बहुदलीय जनवादको अध्याय समाप्ति र समाजवादी अध्याय सुरूआतको औचित्यता ओलीले पुष्टि गर्न सकेनन् । वैचारिक रूपमा एमाले भित्र यो बहस अहिले सुषुप्त अवस्थामा रहे पनि अनुकूल वातावरण हुनासाथ बाहिर बिष्फोट हुने देखिन्छ । यसलाई पनि बल लगाएर रोक्न चाहन्छन् ओली ! त्यसैले ओली भन्छन्, ‘अझै बीस वर्ष कसैले नेतृत्वको सपना नदेखे हुन्छ ।’

विद्यादेवीको दुई कार्यकाल राष्ट्रपति, ओली–माधव टकराव र फुट, ‘दसभाइ’ को आत्मसर्पण, भीम रावलको निस्कासन आदि कुरा सतहमा देखिएका छाल मात्र हुन् । आन्तरिक कुरा भनेको बहुदलीय जनवादको विचार समाप्तिसँगै विरासत कसले ‘कब्जा’ गर्ने भन्ने नै हो । एमाले पार्टीभित्रको यो आन्तरिक राजनीतिक लडाइँमा पछिल्लो समयमा भीम रावल बलिमा चढाइएका मात्र हुन् ।

‘छोरी कुटेर बुहारी तर्साउने’ खेल ओलीले खेले पनि भण्डारीसँगको टकराव भने महाधिवेशनसम्म चुलिएर जाने देखिन्छ । यसको चुरो कुरो भनेको ओली आफूसम्बद्ध मानिसलाई नेतृत्व हस्तान्तरण गर्न चाहन्छन् । यो बाटोमा देखा पर्ने संभवित व्यवधानलाई उनले हटाउँदै पनि आइरहेका देखिन्छन् ।

नेतृत्व हस्तान्तरणको विषयमा देखा परेका यस्ता डरलाग्दा घटना परिघटना अरू पार्टीमा पनि बग्रेल्ती छन् । नेपाली काँग्रेसमा देउवा त्यसै निकम्मा साबित हुँदै गएका होइनन् । उनी ‘वैचारिक नेतृत्व’ पनि होइनन् । उनले वर्तमानमा वीपीको प्रजातान्त्रिक समाजवादको मौलिक अभ्यास गर्न आँट पनि गर्दैनन् । उनमा यो ख्वाब पनि देखिदैन । त्यसैले नेपाली काँग्रेस हाल विचार सुषुप्तताको अवस्थामा छ । ‘प्रजातान्त्रिक समाजवाद’को ठाउँ अहिले ‘गुटगत वादविवाद’ले लिएको छ । वैचारिक स्खलनको यस अवस्थामा वैयक्तिक महत्वाकाङ्क्षा र व्यक्तिवादी टकरावले घर गर्नु अन्यथा होइन ।

माओवादी केन्द्रमा पनि यो रोग जहाँको त्यहिँ छ । त्यहाँ पनि नयाँ जनवाद, ‘एक्काइसौं शताब्दीको जनवाद’भन्दै र अलमल्याउँदै ल्याएर सिंगो पार्टी पङ्क्तिलाई अहिले संसदीय दलदलमा फसाइएको छ । व्यक्तिगत टकरावले अहिले स्थान पाएको छ । यस्तो बेलामा पार्टीभित्र ‘भुरेटाकुरे’ धेरै देखा पर्ने गर्दछन् पनि । पार्टी निर्देशित विचार अहिले सुषुप्त छ ।

एमाले लगायतका कम्युनिष्ट पार्टीभित्रको यस्तो डरलाग्दो र लाजलाग्दो हालत सिर्जना हुनुमा पार्टी नेतृत्व नै जिम्मोवार छन् । अहिले काँग्रेसभित्र प्रजातान्त्रिक समाजवादपप्रति स्वयम् देउवा नै इमान्दार छैनन् । अरू वैकल्पिक भनिएका नेता नै यसप्रति इमान्दार देखिदैनन् । शायद उनीहरूलाई प्रजातान्त्रिक समाजवादको वर्तमान अवस्थामा ‘मौलिक’ तथा ‘सिर्जनात्मक’ प्रयोगको ज्ञान र आभाष नै छैन । विचारले पार्टी नचल्ने उनीहरूले देखिरहेका छन् ।

एमालेको कुरा गर्ने हो भने स्वयम् वर्तमान अध्यक्ष ओलीले नै बहुदलीय जनवाद मिल्काइदिएका हुन् । उनले न त ‘मिल्काइएको’ बहुदलीय जनवाद समाप्तिको औचित्य साबित गरे । न त पछि भन्ने गरिएको ‘साजवाद’को औचित्य साबित गरे । माओवादीमा पनि यही हालत कायम छ । कि त माओवादीले एक्काइसौं सताब्दीको जनवादको औचित्य नरहेको साबित गर्नुपथ्र्यो, कि त समाजवादको औचित्य स्थापित गर्न सक्नुपथ्र्यो । दुबै कुरा हुन सकेन । यी सबै कुरा नेतृत्वको खुबी र ख्वावसँग जोडिएका छन् ।

नेपालमा वैचारिक पार्टी सिद्धिने र सिध्याउने खेल आजबाट सुरू भएको होइन । परिणामतः राजनीतिक परिवेश अनुकूल बन्दै गएपछि रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ नेपाली राजनीतिक परिदृष्यमा स्वतन्त्र हैसियत देखाउँदै देखा पर्दै आए । बालेन, हर्क र कतिपय काममा रविका पङ्क्ति जनताले पत्याउने र रूचाउने काम गर्दै आएका छन् पनि ।

पुराना र वैचारिक भनिने पार्टीहरूप्रति जनतामा अविश्वास त कतिसम्म पनि चुलिएको छ भने रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा जे गरिए पनि यो सबै रविको पार्टी रास्वपाको लोकप्रियता बढ्दै गएपछि पुराना पार्टीबाट गरिएको असफल कसरत मात्र भन्ने सोच प्रवल नै देखा परिरहेको छ । यसप्रति विचारले चल्ने पार्टीहरूले गम्भीर ध्यान दिनै पर्छ । विचारविहीन पार्टी निर्माणको महामारी रोक्न र वैचारिक रूपमा पार्टीलाई अघि बढाउन कसरत थाल्नु पर्छ । अभ्यास गरिनु पर्छ । कमीकमजोरी सच्याइनु पर्छ । वैचारिक पद्धकिो विकास गरिनुपर्छ ।