• चैत्र १८ २०८१, मंगलवार

राजनीतिको खोल ओढेका सहकारी पीडक

पुष १६ २०८१, मंगलवार

एक बौद्धिक जमघटमा सहकारी ठगहरूको बारेमा छलफल भइरहेको थियो । उनीहरूको विचारमा सहकारीका ठगहरू एकै ठाउँमा उभिई राजनीतिक दल गठन गरेमा उनीहरूले यस देशको शासन सञ्चालन गर्न सक्ने किटानीका साथ निष्कर्ष निकालिराखेका थिए । स्तम्भकार स्तब्ध हुँदै देशको अवस्थाको बारेमा उनीहरूको चर्चा परिचर्चा र छलफल सुनिराखेको थिएँ ।

उनीहरूको विचारमा जेजस्ता आधारसहित प्रस्तुत भइराखेका थिए, ती आधारहरू कमजोर भने थिएनन् । आज यस आलेखमा तिनै आधारहरूको बारेमा छलफल अघि बढाउने सोचका साथ विश्लेषण गरिराखेको छु ।

सर्वप्रथम त नेपालमा भ्रष्टाचार अत्यन्त ज्यादा व्याप्त भयो । उच्च तहका राजनीतिज्ञ नीतिगत निर्णय गर्दै र राजनीतिक निर्णयका आधारमा भ्रष्टाचारमा लिप्त छन् । उनीहरूले अकुत सम्पत्ति आर्जन गरिराखेका छन् । कारबाही प्रायः कसैमाथि पनि उल्लेखनीय रूपमा हुन सकेको छैन ।

दोस्रो दर्जाका कार्यकर्ताहरू तथा नेताहरू ठूला ठूला घोटालाहरूमा बिचौलियाको कार्य गर्दै त्यसैबाट आर्जित रकमको अपचलन गर्दै राजनीतिमा व्यस्त छन् । अस्तित्वमा रहेका छन् । राजनीतिलाई कमाई खाने भाँडो वर्तमान अवस्थामा सबै राजनीतिक दल हरूले बनाइराखेको अवस्था छ ।

अर्को एक पङ्क्तिको काम सहकारी संस्थामार्फत् ठूलो रकम अपचलन गर्दै सर्वसाधारण बचतकर्तालाई जिउँदै मरेतुल्य बनाई आफू सुखसयलका साथ जीवन व्यतित गरिराखेका छन् । नेपाली समाज तिनै ठगहरूलाई इज्जत दिन चाहन्छ । नेपालका राजनीतिज्ञहरू उनीहरूकै सुरक्षा र संरक्षणमा व्यस्त रहेका छन् ।

किनकि, यस्ता अपराधीहरूबाट आवश्यक आर्थिक सहायता समेत राजनीतिक दलका नेताहरूले प्राप्त गर्दछन् । निर्वाचनको समयमा यिनै ठगहरू हाबी हुन्छन् । चुनाव प्रचार प्रसारमा खटिन्छन् । निर्वाचनमा ठूलो रकम लगानी गरी निर्वाचित हुन्छन् । निर्वाचित गराउँछन् ।

यस्ता होनहार कार्यकर्ता हरूलाई उत्साहित बनाउँदै लैजाने कामलाई देशको आर्थिक समुन्नतिको परिभाषा यी तथाकथित भ्रष्ट नेतागणले गरिराखेका छन् । सहकारीको रकम ब्रम्मलुट गरी आमबचतकर्तालाई लुटिन सक्ने वातावरण निर्माण गर्ने क्रममा नेपालका कानुन निर्माताहरू नै लागेका छन् ।

किनकि, उनीहरूले सहकारी सम्बन्धी ऐन र नियमहरू अत्यन्त उदार र अपराध मैत्री बनाएका छन् । उदाहरणका लागि अरबौं रूपैयाँ अपचलन र ठगी गर्नेहरू बढीमा सात वर्ष कारागार जीवन व्यतित गर्दा उनीहरूलाई अन्य कुनै कानुनले थप सजाय दिन सक्ने अवस्था छैन ।
सात वर्ष जेल बसेर सम्पूर्ण जीवन सुखसाथ व्यतित गर्न आँट गर्ने जो कोहीले सहकारी ठगीमा संलग्न हुँदा हुन्छ ।

यस्ता ठगहरूले आफ्ना नाममा कहिँकतै कुनै पनि प्रकारको चलचल सम्पत्ति राखेका हुँदैनन् । यस अर्थमा पनि उनीहरूलाई बढीमा सात वर्ष कारागारको सजाय दिनुभन्दा अन्य कुनै कारबाही गर्न सकिने अवस्था छैन । दोस्रो हो, यी अपचलनकर्ताहरूलाई अदालतबाट दोषी प्रमाणित गर्न पनि अत्यन्त कठिन छ । स्रोतसाधन अपचलनकर्तासँगै हुन्छ ।

राजनीतिक नेतृत्वले उनीहरूलाई नै साथ दिएको हुन्छ । राजनीतिक दलका शीर्षदेखि दोस्रो र तेस्रो तहका नेताहरूले पीडितलाई आश्वासन बाँड्ने बाहेक अन्य केही गरी राखेका छैनन् । उनीहरू पीडितहरूलाई गुमराहमा राख्न मात्र तल्लिन छन् किनकि यिनै अपराधीहरूसँग साठगाठ गरी फाइदा लिई अपराधीका रूपमा उनीहरूले आफ्नो पहिचान बनाइराखेका छन् ।

यस अर्थमा पनि स्रोत साधन सम्पन्न बनेका सहकारीका पीडकहरूलाई नेपालको कानुनले समेटी कडा कारबाही गर्न सक्ने अवस्था देखिँदैन । अदालतलाई लोकतन्त्र प्रेमी सबैले सम्मान गर्नुपर्दछ । तर सम्मानित संस्थाका पात्रहरूमा धेरै प्रकारका कमी कमजोरीहरू पाइएका छन् ।

यस्ता पात्रहरू राजनीतिक दलको आवरणमा न्यायमूर्तिका रूपमा विजयमान रहेका छन् । एक भुक्तभोगी पीडक न्यायका लागि याचना गर्दै अदालतको ढोकामा पुग्दा न्यायमूर्तिका रूपमा बसेका राजनीतिक कार्यकर्ताहरूसँग जम्काभेट हुन पुग्ने अवस्था छ ।

यस अवस्थामा सम्मानित अदालतको गरिमा र त्यस अदालतबाट प्राप्त हुने न्यायका बारेमा आशङ्का हुने नै भयो । अदालतबाट अपराधी प्रमाणित गरी कारावास जीवन व्यतित गरेकाहरूले पनि जनप्रतिनिधिको रूपमा स्थापित हुन पाउने नेपालको कानुन छ ।

नैतिक पतन देखिने अपराधलाई न्यायपालिकाले अथवा न्यायाधीशले स्पष्ट रूपमा व्याख्या गरी सहकारीका पीडकहरूलाई पनि सोही वर्गमा दर्ज गरेको अवस्था हालसम्म देखिएको छैन । यस स्थितिमा सहकारीका ठगहरू सहजै यस देशको कार्यकारिणी प्रमुख राष्ट्रपति सबै बन्न सक्ने ढोका यो देशको संविधान र कानुनले खुला राखिदिएको छ ।

सहकारी ठगहरू राजनीतिमा सफल हुने अर्को आधार हो, नेपाली मतदाताहरू अत्यन्त छिटो अपराधीहरूप्रति विश्वास गर्न पुग्दछन् । पुराना दलहरू इमान्दार नहुँदाको परिणामको रूपमा यसलाई लिनुपर्दछ । अहिले सहकारीको ठगी मामिलामा अनुसन्धान भइराखेका हिरासतमा रहिआएका केस मामिला अभियोजनको अवस्थामा रहेका र अभियोजन भएहरू मध्येलाई स्मरण गरौं ।

कोही अथाह लुट मच्चाएर उक्त सम्पत्ति विदेशमा रहेका आफ्ना सन्ततिका नाममा पठाई यस देशमा ठूलो राष्ट्रिय दलको सदस्यता लिई सांसद समेत बनेका छन् । कारावासको जीवन व्यतित गरिराखेका छन् । विभिन्न दलहरू निर्वाचित र नेतृत्वको कृपापात्रहरू क्रमशः विवादमा आइराखेका छन् । कोही पलायन छन् । कोही कारागार चलान भएका छन् । कोही चलान हुने क्रममा छन् ।

तर विडम्बना नै भन्नुपर्छ ठूला ठगहरूमध्ये अधिकांश जनप्रतिनिधिकै आवरणमा देखिएका छन् । जो प्रत्यक्ष जनप्रतिनिधिहरूका रूपमा विराजमान छैनन् । उनीहरूको पछाडि राजनीतिक नेतृत्वको आशीर्वाद रहेको छ । नेपाली जनता यिनै तथाकथित नेताहरूको मिठो अभिव्यक्तिका पछाडि लागेर यिनीहरूलाई नै समर्थन गर्न थोरै पनि असहज मान्दैनन् । पटक पटक यिनै लोभीपापी अपराधीहरू नेपालको राजनीतिमा जमेर बसेका छन् ।

यी अपराधीहरूको विगत नेपाली जनताहरूलाई राम्रो ज्ञान छ । उनीहरूले विगतको आर्थिक अवस्था र अहिलेको यथार्थताको सही मूल्याङ्कन दिन प्रतिदिन गरिराखेका छन् । तिनै कुपात्रहरूलाई निर्वाचनको समयमा मत मागिदिने र मतदान गर्ने यिनै सहकारी पीडितहरू हुन् । सहकारी पीडितका रूपमा रहेकाहरू नै सहकारी पीडकको आशंकामा अनुसन्धान भइराखेका व्यक्तिहरूलाई छुटाउन नाराबाजी गर्ने, निर्णायक निकायहरूलाई प्रभावमा पार्ने प्रकारका हर्कतहरू सधन रूपमा गरी आएका छन् ।

यसले गर्दा पीडकहरू अत्यन्त ज्यादा उत्साहित बनेका छन् । आफ्नो पेशालाई निरन्तरता दिन चाहन्छन् । किनकि यही पेशाबाट आम रूपमा जनतालाई मर्माहत बनाई तिनै मतदाता हरूको मतबाट शासन सत्तामा पुग्न सफल भइराखेका छन् । यस अवस्थामा अपराधीहरू उत्साहित हुने नै भए। नेपालको प्रचलित कानुनले कुनै पनि अपराधीलाई मृत्युदण्डको व्यवस्था गरेको छैन ।

ठूला ठूला अपराधकर्म गर्ने हरूलाई पनि निर्वाचनमा सहभागिता दिन बन्देज लगाएका छैनन् । त्यसैले देश परिस्थिति अनुसार यिनै यस्तै अपराधीहरूले नै यस देशमा लामो समयसम्म रजगज गर्ने सम्भावना अझ बढी देखिँदै गएको छ । समाचारपत्रमा सम्प्रेषण भएका समाचारहरूलाई सूचनाहरूलाई ग्रहण गर्दा यस्ता सहकारीका रकम अपचलनकर्ताहरू सबै दलका प्रभावशाली नेताहरू नै देखिएका छन् ।

उनीहरूले अपचलन गरेको रकम सबै हिसाब गर्दा अरबौ बराबर छ । यस अवस्थामा यस्ता अपराधीहरूलाई नेपालको राजनीतिक प्रणालीले उत्साहित मात्र बनाएको छ । त्यसैले सहकारीका पीडकहरू सबैले शीघ्र राष्ट्रिय भेला बोलाई एउटा राजनीतिक दल खोली तदर्थ समिति गठन गरी विधिवत राजनीतिक दल दर्ता गर्न उपयुक्त समय नै यही भएको निष्कर्ष समाजका अग्रजहरूले निकाल्न थालिराखेका छन् ।

ढिलो चाँडो यस प्रकारको राजनीतिक दल गठन भएमा र त्यही राजनीतिक दलले मिठा मिठा अभिव्यक्तिहरू दिई सिधासाधा नेपालीहरूको मत प्राप्त गरी उनीहरूकै सम्मानित प्रतिनिधिको हैसियत बनाए भने यस देशमा जो कोहीले आश्चर्य नमान्दा हुन्छ । जनताको अवस्था पनि अत्यन्त कमजोर छ ।

किनकि सहकारीका ठूला ठगहरू उनीहरूको एकाउन्टमा खातामा रकम आएको पनि थाहा पाउँदैनन् । आफ्ना मानिसहरूलाई रकम पठाएको पनि पत्तै हुँदैन । त्यो रकम पनि सानो हुँदैन । अरबको हाराहारीमा हुन्छ । यिनै अभियुक्तहरू सहकारीको पीडितहरूको सबै रकम फिर्ता गराउने वाचा गर्छन् ।

कम्तिमा पनि आफूलाई लगाएको अभियोग र मुद्दाबाट सफाई पाएमा मात्र यस्तो प्रतिबद्धता व्यक्त हुनुपर्दथ्यो । यहाँ जो ठूलो अपराधीको हिसाबले अनुसन्धानको दायरामा परिराखेका छन् । उनीहरूले नै सहकारी पीडित हरूलाई राहत दिने कार्यक्रम दिन्छन् । हामी पीडितहरू नेपाली नागरिकहरू र स्वघोषित सचेत वर्ग सबै यस्तै कुराहरूमा विश्वास गर्दछौँ ।

यस अवस्थामा हामी सबैले अभियुक्तहरूले नै सहकारी पीडितको डुबेको रकम अठासी अर्ब फिर्ता गराइदिन्छन् भनेर विश्वास गर्नु पर्ने भएको छ । नेपालका केही युवाहरू यही विश्वासमा नाराबाजी गर्दै सडकमा उत्रिएका छन् ।

यसलाई हामीले कानुनी राजका रूपमा स्वीकार गरिदिनुपर्दछ । यो भन्दा ठूलो दुर्भाग्य देशका लागि के हुन सक्दछ ? तसर्थ सहकारीका पीडकहरूले शीघ्र राजनीतिक दल खोल्नुहोस् । मत दिने नेपालीहरू तयार छन् । सरकार बनाउनुस् ढुकुटी पनि लुट्नुस् । देशले आज यही माग गरिरहेको छ । यस प्रकारका टिका टिप्पणीहरू सचेत वर्गमा साधारण रूपमा भइराखेको स्थिति छ ।