माहुरी मानिसका लागि अतिउपयोगी किरा हो । यो जङ्गलमा बस्ने भए पनि मानिसले माहुरी पालनका रूपमा विकास गरी यसबाट मनग्यै फाइदा लिन थालेका छन् । माहुरी आफैमा अचम्मको किरा हो । यसले गर्ने कर्म झन् आफैमा अचम्मको छ :
(क) माहुरी छुट्टिएर रूखमा बसेछि मात्र ‘पाइलट माहुरी’ले आफूले देखेका वासस्थानमध्ये कुन चाहिँ राम्रो छ भनेर छनौट गर्न जान्छन् । माहुरी यसरी गोला बनेर रूखमा झुण्डिनुको कारण सापेक्ष उत्तम घार वा स्थान छनौट गर्न पाइलट माहुरीको उडान भर्नका लागि हो । थकाइले बसेको वा बाटो थाह नपाएर बसेको होइन ।
(ख) माहुरी तातो वा उष्ण हावापानीमा सजाउने किरा हो । माहुरी १४ डिग्री सेन्टीग्रेड वा त्याभन्दा चिसो तापक्रममा हलचल गर्न सक्दैन ।
(ग) रानी माहुरीलाई कर्मी माहुरीले फुल पार्न बाध्य पारिदिन्छन् । रानी माहुरीले फुल पार्न नचाहे पनि कर्मी माहुरीको अगि उसको केही जोड चल्दैन । किनकि गोला वा घारमा कति कर्मी माहरीको आवश्यकता छ र कति कर्मी माहुरीको सक्रिय जीवन कुन कुन मितिमा सकिदैछ भन्ने उीहरूलाई थाह हुन्छ ।
(घ) कर्मी माहुरीले आफै खाना खान्छन् । तर रानी माहुरी, भाले माहुरी र छाउरालाई भने कर्मी माहुरी आफैले खाना खुवाउँछन् । कर्मी माहुरी आफैमा गोला वा घारभित्रका ‘भान्से माहुरी’ पनि हुन् ।
(ङ) रानी माहुरीले आफ्नो शरीरबाट एक किसिमको सुगन्ध निस्कासन गर्छ । यो सुगन्ध ‘रोयल जेली’ अर्थात् शाही खुुराकका कारण निस्कने गर्छ । शाही खुराक कर्मी माहुरीको गन्थीबाट उत्पन्न हुने सर्वोत्तम खाना हो । हरेक रानी माहुरीको शरीरबाट निस्कने यो सुगन्ध रानी माहुरी अनुसार फरक फरक हुन्छ ।
(च) रानी माहुरी नहुँदा घार वा गोला लोप भएर जान्छ । पहिलो कुरा त छाउरा हुर्कन र संख्या बढ्न छाड्छ । दोस्रो कुरा घार वा गोला नियन्त्रण हुन छाड्छ । त्यसको नेतृत्व गर्ने कोही पनि हुँदैन ।
(छ) गोला वा घारभित्रको तापक्रम ३० देखि ३५ डिग्री कायम राखिरहन्छन्, कर्मी माहुरीले । यो तापक्रममा मह पनि बिग्रदैन र छाउरा पनि छिटो हुर्कन्छन् । माहुरी स्वयम्का लाागि पनि यो तापक्रम अति उत्तम तापक्रम हो ।
(ज) माहुरीले मानिस वा शत्रुलाई टोकेपछि एक किसिमको रसायन छाडिदिन्छ । यो रसायनले शत्रु जीव वा मानिसलाई भगाउन मद्दत गर्छ । यसलाई ‘एलार्म फेरोमेन’ भनिन्छ । यसको विशेषता भनेको शरीरमा सुजन ल्याउनु मात्र होइन, यसको गन्धले आफ्ना सहमर्की माहुरीलाई शत्रु आएको जानकारी दिनु पनि हो । एलार्म फेरोमेनको गन्ध आउने बित्तिकै घार वा गोलाका माहुरी शत्रु जीवप्रति खनिन पुग्छन् ।
(झ) कर्मी माहुरीले मात्र यस्तो रसायन बाहिर निकाल्न सक्छ । भाले माहुरीले यसरी टोक्न वा चिल्न सक्दैनन् । भाले माहुरीको खिल हुने अङ्गमा लिङ्ग हुन्छ । त्यसैले पनि यसले खिल गाड्न सक्दैन । यसले मुखले त टोक्न खोज्छ, तर डस्न सक्दैन ।
(ञ) रानी माहुरीसँग ढोर वा भाले माहुरीले संसर्ग गरिसकेपछि यसको मृत्यु हुन्छ । भाले माहुरीको लिङ्ग रहेको भाग निकै कमजोर हुन्छ । यस कारण रानी माहुरीसँगको संसर्गका बेलामा यसको लिंगको वरिपरिको भाग च्यतिन्छ र यसैका कारण रानी माहुरीसँग संसर्गमा आएको भाले माहुरीको मृत्यु हुन्छ ।
(ट) माहुरीले एक सय ग्राम मह बनाउन कम्तिमा पनि दश लाख फूल चाहर्नु पर्छ । कर्मी माहुरीले एक किलो मह संकलन गर्दा गरेको यात्राको दुरी यदि सबै जोड्ने हो भने त्यो दुरीेले पृथ्वीलाई सात फन्को ललगाउन सकिन्छ ।