• पुष २० २०८१, शनिबार

खस सँस्कृतिमा पुष १५ अर्थात् पुषे औंशीको महत्व

खसान क्षेत्रको एक महत्वपूर्ण पर्व दुईज पिठायो हो । खस भाषामा दुईजको अर्थ भाई र पिठायोको अर्थ चामलको टिका भन्ने हुन्छ । अर्थात् यी दुई शब्दको नेपाली अर्थ भाईटिका भन्ने हुन्छ । यो पर्व पुषे औंशीको पर्सीपल्ट पर्दछ । पुष महिना खसानी संस्कृतिमा महत्वपूर्ण महिना हो । बझाङको बान्नी मष्टाको माण्डुमा पुषे पन्ध्रमा पुषेति जाँत लाग्दछ । पुषे औंशीका दिनबाट खसान क्षेत्रका कर्णाली र सुदुरपश्चिम इलाकामा भैलो खेल्ने गरिन्छ ।

जुम्ला, हुम्ला र मुगुतिर पुषे औंशीबाट खेलिने भैलोलाई ठुलो भैली भनिन्छ । त्यसैगरी कालिकोट र सुदुरपश्चिम तिर भस्सो भन्ने गरिन्छ । भुओ कतै भैल्या पूर्णिमा (मंसिरे पुर्णे) बाट खेल्न शुरु गरिन्छ भने कतै पुषे औंशीका दिनबाट खेल्न शुरु गरिन्छ भने कतैकतै चतुर्दशी अर्थात् औंशीको अघिल्लो रातबाट मुढो बालेर भुवो सुरु गरिन्छ । यसरी विभिन्न तिथिमा भुओ खेलिन्छ ।

स्थानिय धर्मेन्द्र न्यौपाने ‘पलाती’का अनुसार कालिकोट पलातादराको चलन अनुसार पुसे औंशीका दिन मुसाल छाडेको र धाराधारे दैतको लागि पाठो र धुलाको दैडो लि दैतलाई चढाई राका फालिन्छ चोकमा ।

बान्जडाका प्याकुरेल, सेजुवाल लगायतका मनिसहरुलाई मुसल छाडे र धारडुग्गेका दैतले सताउने भएकाले उनीहरुका देउता ढुसासैनी मस्टोलाई हेराउलो गर्दा ‘मकन ओडछन पडछन गद्दे, पुसा आंशषी थि धुला दैडौ, मुस्या टालो, बुत(पाठो) अकाल बिकाल नभया मुतवाली काया नजाढ्या(ब्रतवन्ध नगरेको) टोक्याका हातदेई दिया अदै बाईजाला’ भने पछि सोही अनुसार दैत जगाई राका फाल्ने चलन छ ।

त्यसको भोलिपल्ट बल्ल पिठायो (गोरु पूजा) गरिन्छ । बल्ल पिठायोको भोलिपल्ट दुइज पिठायो (भाई टिका) गरिन्छ । दुइज पिठायो खाप्पर मष्टलाई बहिनी बढीमालिकाले दाजु, बहिनीको सम्बन्धलाई चिरस्थायी बनाइ राख्न शुरु गरेको पर्व हो भन्ने भनाइ खसान क्षेत्रमा पाइन्छ ।

दुईजको पिठायो दैत्य बालक धवलपुरालाई मालिका बहिनीहरुले लालनपलन गरे पस्यात खापर मस्टा रुद्र भई मालिका देविलाई भाग नदिएकाले र धवलपुराले एक्लै मस्टा देवको २२ पाटन आफ्नो कब्जामा लिएकाले दाजु बहिनी बिच सम्बन्ध सुधारको निम्ति यो चलनको सुरुवात भएको मान्यता छ ।

नेपाली पर्व तिहारमा काग, कुकुर, गाई, गोरु र भाई पूजा गरे जस्तो दुइज पिठायो (भाई टिका) मा गरिंदैन । मात्र गोरु र भाई टिका गरिन्छ । दुईज पिठायो खसान क्षेत्रको रास्कोट दरा, शान्नदरा, पलाता दरा, कुडना दरा, आसी दरा लगायतका विभिन्न दरामा हर्षोल्लासका साथ मनाइन्छ ।

यस दुईज पिठायोमा विवाह गरेर गएका चेलीबेटीहरु माइत आउने गर्दछन् र माइतीमा आमा, बुवा, दाजुभाई भेला भएर यो पर्व मनाउँदछन् । यो पर्वमा चेलीबेटीले दाजु भाईलाई र आफू भन्दा सानालाई जेष्ठहरुले पहेलो रङमा मुसेको चामलको टिका वा पहेलो रङको टिका लगाइ दिने गर्दछन । यसरी पहेलो टिका लगाइदिँदा चेलीबेटी, भान्जाभन्जीलाई पैसा दिने गरिन्छ । खस सँस्कृतिमा चेलीबेटी र भान्जभान्जीलाई झोलीका देउता भन्ने गरिन्छ । त्यसैले खस जन्य पर्वहरुमा चेलीबेटी र भान्जभान्जीलाई निम्त्याउन अनिवार्य ठानिन्छ ।

भैल्या पूर्णिमा (मंसिर पूर्णिमा ) एक दिन र पुसे औंशीको दिनदेखि पाँच दिनसम्म खेलिएको भैलोबाट उठेको चामल, पैसा, खाने कुरा आदि जम्मा गरेर त्यसको एक/दुई दिन पछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ, जसलाई पाठेभात भनिन्छ । पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर भैलो खुवाएर पठाउने चलन कतै कतै छ भने कतै कतै पिठायो पछि माघ महिना भरी विवाह गरेर गएका चेलीबेटीहरुलाई पाटे (पुरी) लगायतका खानेकुराहरु माइती पक्षले पुर्याउन जाने चलन पनि रहेकोछ, जसलाई चेल तेवार भनिन्छ । माघिको अघिल्लो रात धुई गरिन्छ । अनि चेलतेवार सुरु हुन्छ र यो माघ मसान्तसम्म मनाइछ ।

खसान क्षेत्रमा टिका लगाउने परम्परालाई पिठायो भनिन्छ । जबारोको दशमीका दिन (दसैं)मा पनि पहेलो पिठायो लगाउने गरिन्छ । जसलाई पिठा पर्वका रुपमा जुम्लाको चौधबिस क्षेत्र लगयतका ठाउँहरुमा मनाउने गरिन्छ । जबारोमा लगाउने पिठायो चौधबिस क्षेत्रमा दशमीका दिन मात्र लगाउने गरिन्छ भने अन्यत्र दशमी देखि पुर्णेसम्म नै लगाउने गरिन्छ ।
ठुली भैली :
खसान क्षेत्रमा पुषे औंशीबाट खेलिने भैलोलाई कतै ठुली भैली, कतै भस्सो त कतै भुवो भन्ने गरेको पाइन्छ । भैलोको अर्थ भलो होस् भन्ने हो । भैलो खेल्न गएकाहरुले, हामी त्यसै आएका होइनौं, बलिराजले पठाएका हुन् भनेपछि हरेकले त्यसोभए भैगो लेउ र जाउ भनेको र कालान्तरमा यो दान भलो कार्यमा खर्च होस् भन्दै जाँदा भैलो हुन पुगेको विश्वास रहिआएको छ ।

भैलो खेल्दा भट्याउनेले घरबेटीलाई सम्बोधन गरेर लामो कारुणिक गाथासँगै भैलो अर्थात् भलो होस् भनिन्छ । भैलो खेल्ने परम्पराको थालनी जुम्लाका कल्यालवंशी राजा बलिराज रावल (शाही)का पालाबाट शुरु भएको हो । जुम्लाका राजा बलिराजले स्थापित गरेको भैलो वर्षमा दुई पटक मनाइन्छ । सानो भैलो भैल्या पूर्णिमाबाट र ठुलो भैलो पुषे  औंशीशीबाट मनाइन्छ । यो भैलो हिउँद याममा सबै फसलहरु थन्क्याइ सकेपछि फुर्सदमा मनाइने पर्व हो ।

जसलाई खस सँस्कृतिको महत्वपूर्ण पर्व मानिन्छ । पुषे भैलो खसान क्षेत्रमा कहिलेबाट, किन खेल्न थालियो ? भन्ने बारेमा लेखक तथा अध्येता चन्द्रप्रकाश बानियाँ भन्नुहुन्छ– “भैलो खेल्दा स्मरण गरिने बलिराजा वैदिक साहित्यका पात्र अर्थात् पौराणिक बलि होइनन् । वैदिक समाजमा भैलो देउसी खेल्ने, गाउने चलन देखिँदैन । खसराजा अभय मल्लको कालपछि खस साम्राज्यको पतन भयो । खास गरेर डोटी र तिब्बतले विद्रोह गरेपछि साम्राज्यको विखण्डन प्रारम्भ भयो । बलिराज नामक दरबारिया ज्वाइँले राज्यको बागडोर हातमा लिएर खस साम्राज्य जोगाउने प्रयत्न गरे । त्यही सन्दर्भमा गाउँ, गाउँ र बस्ती बस्तीहरुमा राज्यले सांस्कृतिक टोली खटाएर जनतामा राष्ट्रिय भाव जगाउने र अर्थ संकलन गर्ने अभियानको रुपमा भैलो खेलिन थालेको इतिहास छ ।”

भाषाशास्त्री तथा ‘खस जातिको इतिहास’का लेखक बालकृष्ण पोखरेल भैलो खेल्ने चलनका बारेमा उनी फरक धारणा राख्दछन् । उनी भन्छन् –“बलिराजको शासनकाल शुरू हुँदा मङ्गोल योद्धा तैमूरले भारतमा विध्वंस मच्चाइरहेका थिए । तैमूर–इ–लङ्ग र ‘तैमूर द लेम’ अर्थात् लङ्गडो तैमूर भनिने ती लडाकू भारत विजय गर्ने उद्देश्यले हाल उज्वेकिस्तानमा पर्ने समरकन्दबाट आएका र दिल्लीलाई ध्वस्त बनाएर उत्तरतिर लागेका थिए । तैमूरले गरेको आक्रमणलाई जुम्लाको खस राज्य समेतले सामना गरेको र त्यसकै लागि खर्च उठाउन बलिराजले भैलो खेल्न आफ्ना पैकलाहरु (सेना)लाई घर–घरमा पुगेर रित जनाउनु, मोहर पैसा माग्नु, अन्न माग्नु भनि पठाएका थिए । त्यसैबेलादेखि भैलो खेल्ने परम्पराको शुरुवात भएको बताइन्छ ।”

तैमुरले दिल्ली आक्रमण गरेको समय सन् १३९८ तिर मानिन्छ र बलिराजले जुम्लामा शासन गरेको समय पनि सन् १३९८ कै आसपास नै भएकाले पोख्रेलको भनाइ सही हुनसक्ने देखिन्छ । भैलो जुम्लाबाट नै शुरु भएको मान्न सकिने अर्को आधार हो । भैलो भट्याउँदा ऐतिहासिक सिंजा साम्राज्यको सम्पूर्ण नालिबेली आउँछ । सानी भैलोको ठिक १५ दिनपछि औँसीको दिनबाट पाँच दिनसम्म कर्णाली क्षेत्रमा ठूली भैलो खेलिन्छ । यसमा भैलोको उत्पत्तिदेखि पुग्ने ठाउँसम्मको वर्णन गरिएको हुन्छ । जसका शब्दहरुले उतिबेलाको शक्तिशाली सिंजा साम्रज्यको यथार्थता झल्काउँछ । त्यसैले भैलो पर्वको सम्बन्ध खस साम्राज्यको विरासतसँग जोडिएको देखिन्छ ।

भुओ वा भस्सो :
पुषे भैलो जस्तै खसान क्षेत्रमा भस्सो वा भुओ खेल्ने गरिन्छ । विसं १४५७ मा पूर्णरूपमा खस साम्राज्यको राजाको हैसियतमा उदय भएका बलि राजाले आफ्नो शाषित साम्राज्य भरिका सबैलाई वर्षको एक पटक भइलो खेल्ने आदेश दिएका थिए रे । भैलोको सुरुवातीमा आजपनि ‘हामी त्यसै आएका होइनौं, बलि राजाले पठाए’ भनेर भट्याईको सुनिन्छ । खसकालमा गाउँगाउँमा पैकेला (योद्धा/सैनिक) हरु हुन्थे । पौष महिनाको चिसोमा भैलो खेलिन्थ्यो । दक्षिणा उठाउँदै आशिष दिइन्थ्यो । भुओ खेलका जानकार अछाम निवासी सुवर्ण विष्टका अनुसार खस सभ्यता अनुसार खेल्न सुरु गरेको भैलो, समयक्रममा भुओ नाचमा परिणत भएर सांस्कृतिक पर्वको रूपमा विकसित भएको बुझिन्छ ।

यसरी भैलो शब्द अपभ्रंश भएर भुओ नामाकरण हुन गएको देखिन्छ । ‘भु’ को अर्थ भूमि अर्थात् प्रकृति र ‘ओ’ को अर्थ प्रार्थना हो । भूमी वा प्रकृतिको पूजा/प्रार्थना भन्ने हुन्छ भुओको शाब्दिक अर्थ । यो अर्थ सान्दर्भिक र सत्यको नजिक देखीन्छ । किनभने भुओ पर्व मष्टो पुजकहरुले मनाउँदै आएको पर्व हो । मष्टो पुजकहरु आफैमा प्रकृति पुजक पनि हुन् । भुओ नाचको सुरुवात कहिलेबाट भएको हो भन्नेबारे एकरुपता पाइँदैन । भस्सो अथवा भुओ पर्व पश्चिम नेपालको बाजुरा, अछाम, बझाङ, दार्चुला लगायत भारतको उत्तराखण्डतिर पनि भुओ मनाइन्छ भने दैलेख र अछाममा यो पर्व लक्ष्मी पूजा औँशीको अघिल्लो राती अथवा कुकुर तिहारको रात्री मनाइने जात्रा भस्सोलाई ‘भुवा’ पनि भनिन्छ ।

यो जात्रामा भैलो जस्तै बाजा गाजाका साथमा केटा मान्छेले भस्सो खेल्ने गर्दछन् । भूवा खेलको आम मान्यता एउटै र साझा भएपनि खेल्ने तरिका र पोशाक भने जिल्ला र समुदाय अनुसार केहि भिन्नता पाईन्छ । भुओ कतै भैल्या पूर्णिमा (मंसिरे पूर्णे) बाट खेल्न शुरु गरिन्छ भने कतै पौष कृष्णपक्ष चतुर्दशीको बिहानै राँको सल्काउदै गाउँदै बस्तिबाट करिव डेढ किलोमिटर जति टाढा लगेर फालिन्छ र त्यहिँबाट फेरि गाउँदै लावालस्करका साथ भुवाखाडामा पुगिन्छ ।

भुवाखाडामा आगो हुन्छ, आगो तापेर सबै घर गएर खाना खाएर आफना हतियारहरु ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र चम्किलो बनाइन्छ । पुषे औंशीको राति भुवाखाडामा मुढा बाल्ने, भस्सो खेल्ने, भारी खेल खेल्ने गर्छन् भने बिहान भइसकेपछि आगोको राँको बालेर राँके जुलुस समेत निकाल्ने गरिन्छ ।
औंसीको भोलीपल्ट पनि लुगा कपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्धितिया तिथिको दिनमा ठूलै चाड मान्दछन् । छरछिमेकहरुले मिलेर आ–आफनो घरमा मीठामीठा परिकारहरु पकाईन्छन र बाँडेर खाइन्छ ।
दिउँसो १२ बजेतिरबाट सबै भुवाखाडोमा गएपछि भुवाको रौनक शुरु हुन्छ । बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन् । बाजा–गाजा, लस्कर हुदै औंशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजागाजा भूवाको लयतालमा चम्कन शुरु हुन्छ ।

यो खेल अति नै रमाइलो र अचम्म लाग्दो खेल हो । जति रमाइलो छ त्यति नै यो खेल फरकफरक किसिमको छ । यसका विभिन्न लय भाका छन् । प्रत्येक दिनमा यो खेल फरक–फरक ताल र लयमा खेलिन्छ । चाली नै १४ किसिमका छन् । बगाली ९ किसिमका छन् । प्रत्येकले दाँया हातमा तरवार र बायाँ हातमा ढाल समातेर दौरा, लबेदा र सुरुवाल, इस्कोट, कालोटोपी, निधारमा ठूलो टिका लगाएर खेलेको देख्दा जो सुकैका आखाँ पनि लोभिन्छन् । यो अति नै जोखिम खेल जस्तो लाग्छ, चाली र बगाली खेलको दृष्य । यो खेल हेर्दा साच्चिकै लडाइँ हो कि जस्तो लाग्दछ । तरवार र ढाल फनफनी घुम्दछन् । भस्सो चाड लामो समयसम्म खेलिने चाड हो । भुवाखाडामा एक, दुई दिन खेलीसकेपछि गाउका मुख्य, नायक, जिम्मावाल मुखिया, कर्मचारी, शिक्षक र अन्य मान्यजनको घरमा गई भूवो खेल्दछन् ।

अछाम निवासी सुवर्ण विष्टका अनुसार भुओ खेलमा भुओ गाउँदा बौजु शब्दको प्रयोग गरिन्छ । यस सम्बन्धी एउटा किंवदन्ती यस्तो छ –भैल्या पूर्णिमा (मार्ग शुक्ल पूर्णिमा) का बेला प्राचिन राजाकी रखवाली (कमारी) हराएकी थिइन् । गाउँका मान्छेहरु उनको व्यापक खोजी गर्न निस्केका थिए । खोजी गर्ने क्रममा डाको लाएर बोलाउन पर्ने भयो अनी कसरी बोलाउने त भनि सोध्दा ‘बौजु’ भनेर बोलाउन भनियो ।

कालान्तरमा भुओ भट्याउँदा पनि ‘बौजु’ भन्दै भट्याइँदै आएको छ । सुदुरपश्मिको अछामतिर नाचिँदै आएको भुओ नाच, पुरै देवी देवताप्रतिको आस्थामा समर्पित देखिन्छ । भूओ पर्व नै नन्दामाताको हो भन्ने पनि भनाइ छ । देवी देवताका भक्तहरुले भुओ नाच नाचेर देवी भागवतीलाई खुशी पार्नु पर्ने मान्यता रहि आएको छ । भुओ नाच्ने स्थानलाई भुवाखाणा भनिन्छ । यस ठाउँमा मुडाहरु जम्मा गरेर आगो बालिएको हुन्छ । भुओ नर्तकहरुले पौष, माघ को चिसोमा आगोमा हातहरू सेकाउँदै ढाल तरवार नचाएर नाच्ने गर्दछन् ।

भुवाखाडाको आगो वा राँको सल्काएर अन्त लान मिल्दैन । त्यो आगोको एक फिल्का मात्र पनि अपरिचित ठाउँको कुनै व्यक्तिले चोरेर लग्यो भने भुओ चोरिएको अर्थ लाग्छ । यसरी भुओ चोरिएको राम्रो नहुने मान्यता थियो पहिले पहिले तिर । त्यसैले त्यो आगोको पनि निकै सुरक्षा गरिन्थ्यो र अहिले पनि गरिन्छ ।
भुओलाई यसरी भट्याउने चलन छ–
बौजु प्रथम भुओ मांडीगडा–२ पछी सिरी डाँडा–हे भस्सा भस्सा
बौजु दाइनी भया नन्दामाता–२ हाम्रा बुढागडा –हे भस्सा भस्सी
भुओ नाच सुरु गर्नुलाई भुओ पैटाउनु भनिन्छ ।
बौजु (पहिलो भुओ मांडीगडा) २ पछी सिरी डाँडा २–हे भस्साभास्सी
बौजु (दाइनी भया नन्दामाता) २ हाम्रा बुढागडा २–हे भस्साभस्सी
बौजु (जडा काटे भाड तमाखु) २ टुपाको सुरती २ –हे भस्साभास्सी
बौजु (दायनी भाया नन्दमाता) २ चढाउंला मुरती २ –हे भस्साभास्सी
बौजु (जेठी बहिनी लालसारा) २ कान्छी बहिनी देवा २ – हे भस्साभस्सी
बौजु (नन्दा माईको भुओ आयो) २ मुखियाको सेवा २ – हे भस्साभस्सी
बौजु (क्या राम्रा केलीका पात) २ तर पानी तर २ –हे भस्साभिस्सी
बौजु (हँन्डै खसी खाँदो भयो) २ मुखियाका घर २ –हे भस्साभस्सी
जब पिठायो अर्थात् चामल पैसा ग्रहण गरिन्छ त्यसपछी फेरी आशिष गीत गाइन्छ । तिर्थ गएर फर्केका मानिसको घरमा र जसको घरमा छोरा जन्मेको छ । त्यसको घरमा गएर भर्सो अर्थात भुओ खेल्छन। जसको घरमा भुवो खेलिन्छ । त्यस घरको मूलिले चिउणा, फलफूल र पैसाहरु दिएर आर्शिवाद दिने चलन छ । लगभग १४ दिनसम्म खेलिसकेपछि विधिवत रुपमा यो चाडलाई त्यस वर्षका लागि समापन गरिन्छ । उज्यालो भयपछि खोलामा गएर चिसो पानीमा नुहाउने र बिहान सबैले आ–आफ्नै शैलीका नयाँ कपडाले सजिएर भारी खेल, चौभानीयाँ खेल खल्दै भुवाखाडामा आइपुगेर गोलबद्ध लाइन लागेर रमाइलो गरी पुरानो भाका हाली देउडा खेल्ने गरिन्छ ।

पछि ढाल र तरबार समाएर चाली खेल्ने गरिन्छ । सोही दिन दिनभर चाली नाच नाच्ने गरिन्छ भने साँझपख भारी खेल खेल्ने, लाखेनाच नाच्ने, मागल गाउने गरिन्छ । यो पर्व अवधिभर दुधका विभिन्न परिकारका साथै मिठामिठा खानेकुरा खाने गरिन्छ । भुवा शब्द भुत शब्दको अपभ्रंस भई भुवा शब्द भएको हुनसक्ने बुढापाकाहरु बताउँछन् । महाभारत युद्धमा हिमवतखण्डबाट खस र किरातले भाग लिएको धार्मिक ऐतिहासिक प्रसङ्गसङ्ग ठ्याक्कै जोडिएर आएको सुदुरपश्चिम र कर्णाली प्रदेशको खस मौलिक संस्कृति ‘भुव’ पर्वको भुव नृत्यले पनि सोहि कुराको पुष्टि गर्दछ भनि खस संस्कृतिका जानकार हरी बुढाथोकीले बताउनु भएको छ ।

ढाल तरवार, खुँडा खुकुरी भण्डार गरि राखिएको घरलाई भखाडो भनिन्छ । उक्त भखाडोमा महिलाले पुजा आजा गरेर पिठाको टिका लगाएर लडाकु पुरुषलाई तरवार दिएर भुव शुरु गरिन्छ भने नृत्य खेल्दै एक जनाले वीरगाथा सहित युद्धयात्राको वर्णन गर्दै जान्छन् भने अरुले भस्सो… भन्दै लामबद्ध भएर नाच्ने गर्दछन् ।

रातभरि मुढाको आगो बालेर जागृत बसि विभिन्न परिकारहरु खाने र भोलिपल्ट भखाडो खोलेर भुव खेल्ने चलन सुदूरपश्चिम तिरको दृश्यले युद्धमा मारिएका योद्धा साथीहरुको अन्त्यष्टिको झझल्को दिने गर्दछ ।

यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो । हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजासहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर–घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन् । भोस्को खेलका माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिन्छ । यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढने जनविश्वास छ । पहिलेका दिनहरूमा राजा रजौटाहरूले आफ्ना भाई भारदार लगायत जनताहरूलाई आत्मरक्षाको लागि खेतीको काम सकाएर फुर्सदको समयमा ढाल, तरवार खेल्न सिकाउनको निमित्त भूवो अथवा भस्सो खेलाउने गरेको बताइन्छ ।

बाजुरामा यसै भुवा पर्वको समयमा गाउँमा छैट पनि खेल्ने चलन रहिआएको छ । गाँउमा कसैको घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा भएपछि उसको घरमा गएर छैट माग्ने चलनसमेत रहेकोछ । छैटमा घरको आँगनमा देवी–देवताको गाथा गाउने र जन्मेको बच्चालाई गाउँका ठुलाबडाले आशीर्वाद दिने गर्दछन् भने घरधनीले गाउँलेलाई बोलाई भोज गर्ने चलन पनि रहेकोछ । उता कर्णालीका कतिपय ठाउँमा भने सल्लाको दियालो बालेर भुवो मनाउने गरिन्छ । पहिला भुवा जगाएको ठाउँमा आएर भुवानीलाई पूजा–आजा गरी बलीसमेत चढाई सकेपछि भुवा पर्वको विसर्जन गरिन्छ ।

भुवा विसर्जन गर्ने कार्यलाई भुवो सेलाउने भनिन्छ । खस साम्राज्यको इतिहास अनुसार के देखिन्छ भने भुओ पर्व खस सभ्यता सँगसँगै विकसित भएको सांस्कृतिक प्रचलन हो । तत्कालिन खसान राज्यका राजा बलिराजाको निर्देशनमा पैकेलाहरूले खेल्न सुरु गरेको भैलो परम्परा, समय क्रममा खस सभ्यताको अवसान पछि उदय भएका टुक्रे राज्यहरु बीचको आपसी द्धन्दको बीचवाट भुओ खेल नामाकरण हुँदै सँस्कृतिको रूपमा विकसित भएको देखिन्छ । त्यसैले भुओ खस संस्कृतिको एउटा पर्व हो ।

निष्कर्ष :
खसान क्षेत्रमा पुषे औंशी, पुषे भैलो, दुइज पिठायो, भुवो वा भस्सो, पुषेति जाँत आदि पर्वहरुसँग जोडीएको तिथि हो । सुदुरपश्चिम प्रदेश सरकारले भुवोको अवसरमा सार्वजनिक विदा दिन थालेको भएता पनि नेपाल सरकार खस संस्कृतिका यी महत्वपूर्ण पर्वहरुसँग परिचित भएको पाइदैन । अतः खसानी संस्कृतिलाई बच्चाइ राख्ने यी महत्वपूर्ण पर्वसँग जोडीएको पुषे औंशीका दिन नेपाल सरकारले सार्वजनिक विदा दिने ब्यबस्था मिलाउन सके कर्णाली र सुदुरपश्चिम दुवै क्षेत्रलाई सम्बोधन गर्न सजिलो हुने देखिन्छ । यसो गर्दा खस जातिले पनि अन्यजातिले आफ्ना विशेष पर्वहरुमा जस्तै, तामाङ्, शेर्पा, गुरुङहरुले लोहोसारमा, मगर र थारुहरुले माघीमा, राइ र लिम्बुहरुले उधौली, उभौलीमा, मधेशीले छैटमा, नेवारहरुले विभिन्न जात्राहरुमा, मुस्लिमहरुले रमदानमा विदा पाए सरह खसहरुले पनि विदा पाउनेछन् ।

नेपालको आदिवासी भैकन पनि राज्यबाट ठगिँदै आएको खस जातिको निम्ति उसका पर्वहरुमा कम्तिमा वर्षको एक दिन विदा दिन जरुरी छ । त्यसका लागि ‘पुषे औंशी’ एक उपयुक्त दिन हुने देखिन्छ ।