• माघ १८ २०८१, शुक्रबार

दैलेखको जलजलेमा प्राकृतिक ग्याँस रहेको संकेत फेला पर्याे

पुष १५ २०८१, सोमबार

१५ पुस । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा उत्खनन् गर्दा प्राकृतिक ग्याँस रहेको संकेत देखिएको अधिकारीहरुले बताएका छन् ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गत वर्ष वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर उत्खनन थालेको थियो ।
त्यतिबेला सबैखाले पेट्रोलियम पदार्थको अवस्था पत्ता लगाउने उद्देश्य थियो ।

तर हालसम्मको अवस्थाले त्यहाँ प्राकृतिक ग्याँसको सकारात्मक संकेत देखिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद एवम् पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुईंटेलले जानकारी दिए ।

‘चार हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य भएकोमा आइतबारसम्म ३ हजार ९ सय ४८ मिटर खनिसकिएको छ र अहिलेसम्मका सबै सिम्प्टम (संकेत) हरु हेर्दाखेरि यहाँ प्राकृतिक ग्यास रहेको सकारात्मक संकेत देखिएको छ ।’ उनका अनुसार जमिन खन्दै जाँदा उपकरणले ग्याँस ‘डिटेक्ट’ गरेको छ ।

परियोजनाका अनुसार अहिलेसम्म जमिन मुनि ग्याँस छ कि छैन भनेर पत्ता लगाउनका लागि मात्र काम भइरहेको छ । ग्याँस रहेको पुष्टि भइसकेपछि व्यापारिक दृष्टिले उपयुक्त छ कि छैन भनेर थप अध्ययन गरिने छ ।

त्यसका लागि जमिन खन्दा निस्किएका चट्टानका नमूनाहरु संकलन गरिएको छ । त्यसलाई परीक्षण गर्न भने बाँकी छ । ‘चट्टानका जुन नमूनाहरु छन्, तिनलाई परीक्षण गर्ने चरणमा छौं,’ भूगर्भविद लुईंटेलले भने, ‘त्यसको परीक्षणपछि व्यापारिक दृष्टिकोणबाट उपयुक्त छ कि छैन भन्ने पनि पत्ता लाग्छ ।’

ड्रिलिङको काम सकिएपछि र ग्याँस रहेको पुष्टि भएपछि दोस्रो चरणमा ग्याँसको आयतन र गुणस्तर परीक्षण गरिने छ । त्यो परीक्षण पनि ड्रिल भइरहेकै स्थानमा हुने परियोजनाले जनाएको छ ।

दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा जमिन मुनिबाट निस्किरहने ग्याँसमा आगो बल्ने गरेको छ । ‘अखण्ड दीप’ बलिरहने शीरस्थान, नाभिस्थान लगायतका क्षेत्र धार्मिक तथा पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् ।