विराटनगर — संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रकृयामा रहेकाले अव पारित हुन समय नलाग्ने बताएकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आइतवार विराटनगरमा आयोजित शिक्षा व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ऐन चाँडै पारित हुने दाबी गरेकी हुन् ।
उनले शिक्षा क्षेत्र सुधारका लागि सहकार्य, समन्वय र सहअस्तित्व अपरिहार्य रहेकी बताएकी छन् । ‘हालको शिक्षा ऐन र नीतिहरूबाट पनि धेरै काम गर्न सकिन्छ,’ उनले भनिन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय शिक्षा ऐन शीघ्र जारी गर्न आवश्यक रहेको बताए । उनले संघीय सरकारले कानुन बनाउन ढिलाइ गर्दा शिक्षा क्षेत्र अगाडि बढ्न नसकेको धारणा राख्दै भने,‘प्रदेशले सात दिनमा कानुन बनाउन सक्छ भने संघले सात वर्षमा बनाउन नसक्नु आश्चर्यजनक छ ।’ उनले संघीय सरकारले कानुन निर्माणमा अविलम्ब कदम चाल्नुपर्ने र व्यवधान हटाउन सक्रिय पहल गर्नु पर्ने तर्क राखे । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री पञ्चकर्ण राई, शिक्षा सचिव दीपक काफ्ले, प्रदेशका मुख्य सचिव केदारनाथ शर्मालगायतले पनि शिक्षा क्षेत्र सुधारका पक्षमा मन्तव्य व्यक्त गरेका थिए ।