१४ पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहको लागि दशरथ रंगशालामा शनिबार हजारौं विद्यार्थी र अभिभावक पुगेका थिए । थापाथली, शहीदगेटदेखि लाइन थियो । ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बनेपछि त्रिविको आलोचनासमेत भयो । त्रिविले वर्षभरीका उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त एकैपटक गर्दा प्रत्येक वर्ष यस्तै अस्तव्यस्तता देखिने गरेको भन्दै आलोचना भएको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने त्रिविको इतिहासमै अहिलेसम्मको ठूलो संख्या शनिबारको दीक्षान्त समारोहमा सहभागी भएकाले बढी भिडभाड देखिएको बताए ।
‘त्रिविको इतिहासमा अहिलेसम्मको ठूला संख्या हो,’ परीक्षा नियन्त्रक जोशीले भने । उनका अनुसार शनिबार १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका थिए भने विद्यर्थाीका साथमा अभिभावक पनि आएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार रंगाशालामा करिब ३० हजारको उपस्थिति थियो । जसका कारण व्यवस्थापन गर्न परीक्षा नियन्त्रण कार्यालयलाई हम्मेहम्मे परेको थियो । ‘सबै संयमित भएकाले मात्र सफल भयो,’ नियन्त्रक जोशीले भने । मञ्चबाट परीक्षा नियन्त्रक जोशीले भनिरहेका थिए, ‘अब यो प्रकारको दीक्षान्त यसअघि भएको थिएन ।
अब हुने पनि छैन ।’ दीक्षित हुन विद्यार्थी र अभभावकको क्रेज बढेकाले एकैपटक दीक्षान्त गर्न नसकिने निचोडमा परीक्षा नियन्त्रण कार्यालय पुगेको छ । ‘यो खालको दीक्षान्त अब गर्न सकिँदैन । विद्यार्थी र अभिभावकको क्रेज बढ्यो । दीक्षान्तका लागि नेपालबाट युरोप, अमेरिका, अष्ट्रेलियामा अभिभावक बोलाउँछन् । यहाँ पनि गाउँ गाउँबाट छोरोछोरीको दीक्षान्तमा खुसी साट्न अभिभावक आउनुभयो,’ जोशीले भने । अब नयाँ मोडालिटीमा जानुको विकल्प देख्दैनन् उनी । ‘अब ६–६ महिनामा अथवा संकाय अनुसार गर्नुपर्छ,’ अनलाइनखबरसँग उनले भने, ‘सबैलाई एकैपटक दीक्षित गर्न सम्भव छैन ।’
एउटा मुख्य दीक्षान्त गर्ने अरु सम्बन्धित डीनबाट गर्ने मोडालिटीमा जानुपर्ने तर्क उनको छ । ‘यो ग्रेस लिस्टसम्मको यो–यो दिन गर्नेभनेर तय गर्नुपर्छ । कि ६र६ महिनमा र्गयो भने व्यवस्थापन गर्न सकिन्छ,’ जोशीले भने, ‘दीक्षान्तमा संख्या घटाउनुको विकल्प छैन ।’प्राध्यापकहरू पनि दीक्षान्तको मोडालिटी परिवतर्न गर्नुपर्ने पक्षमा छन् । त्रिवि प्रध्यापक संघका अध्यक्ष वसन्त ढकाल स्नातकको एकपटक र त्यसपछि माथिल्लोको अर्कोपटक गर्नुपर्ने बताउँछन् । ‘६–६ महिनामा गर्ने हो भने व्यवस्थापन गर्न समस्या हुँदैन ।
धेरै विद्यार्थी स्नातकमा हुने हुन् । वर्षमा दुईपटक गर्दा उपयुक्त हुन्छ,’ उनले भने, ‘पदक र पुरस्कार पाउनेलाई वर्षमा एकपटक गर्दा हुन्छ ।’दीक्षान्तको मोडालिटी परिवर्तन गर्ने विषय त्रिविको सिनेटमा चर्चा हुने गरेको छ । त्रिविको अघिल्लो सभामा ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले दीक्षान्त समारोहको मोडालिटी परिवर्तनको प्रस्ताव नै राखेका थिए । उनले दीक्षान्त बहिस्कार गर्ने चेतावनी समेत दिएका थिए । तर, परीक्षा नियन्त्रण कार्यालयले यसपछि यसरी दीक्षान्त नगर्ने भनेपछि उनी सहभागी भएका थिए । उनले संकाय र संस्थानको छुट्टाछुट्टै दीक्षान्त गर्न सिनेटमा प्रस्ताव राख्दै आएका छन् ।
‘छुट्टाछुट्टै गर्न बारम्बार भनिएको हो । संकाय र संस्थानको छुट्टाछुट्टै गर्दा विद्यार्थीलाई पनि दीक्षित भएकामा आत्मसम्मान हुन्छ,’ उनले भने । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा पनि संकायअनुसार दीक्षान्त समारोह गर्नुपर्ने मत राख्छन् । ‘दीक्षान्तमा व्यवस्थापनको पाटो कमजोर भयो । व्यवस्थित गर्न संकायअनुसार फरक–फरक गर्दा राम्रो हुन्छ,’ उनले भने । दीक्षान्त समारोहमा त्रिविमा खेलकुद, रंगशालमा दीक्षान्त समारोह भन्नेसम्मको प्रश्न उठ्यो ।
त्रिविकै जग्गामा क्रिकेट मैदान छ । हालसालै एक महिना एनपीएन त्रिवि मैदानमा चलेको थियो । यदि संकायअनुसार दीक्षान्त कार्यक्रम राख्ने हो भने त्रिवि मैदानमै गर्न सम्भव हुने विद्यार्थीहरू बताउँछन् । ‘संकाय र संस्थाको छुट्टाछुट्टै गर्दा संख्या कम हुन्छ । थोरै संख्या भएपछि त्रिविमै गर्न सम्भव छ,’ त्रिवि सिनेटको सदस्यसमेत रहेका ल क्याम्पसका स्ववियु सभापति ढुंगेलले भने ।
त्रिविको आफ्नै रेकर्डमा ब्रेक
शनिबारको दीक्षान्त कार्यक्रमको सहभागिताले त्रिविको गत वर्षको आफ्नै रेकर्ड ब्रेक गरेको छ । अघिल्लो वर्ष १२ हजार तीन सय ७४ दीक्षित भएका थिए । यो वर्ष १४ हजार ३०८ जना थिए । गत वर्ष गिनिज बुकमा समेत नाम लेख्ने प्रक्रियामा रहेको दाबी परीक्षा नियन्त्रक जोशीको छ । ‘अघिल्लो वर्षको त्यही ठाउँ हो । पोहोरको भन्दा यो वर्ष संख्या बढी भयो,’ उनले भने । अघिल्लो वर्ष गिनिज बुकमा रेकर्ड गरिएको प्रमाणपत्र आउने प्रक्रियामा रहेको उनले बताए । ‘सबै प्रोसेस भएको छ । सुरुमा तीन महिनाको प्रोभिजनल दिने रहेछ । त्यसपछि हामीले सबै डकुमेन्ट पठाएका छौँ । अब छिट्टै आउँछ । तीन वर्षको अवधि मान्य हुन्छ,’ उनले भने ।