पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीनजना प्रतिवादीको बयान सकिएको छ । कास्की जिल्ला अदालतमा लामिछानेसहित गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी र लीला पछाईको बयान सकिएको हो ।
अहिले प्रतिवादी रामबहादुर खनालको बयान जारी छ । अन्य प्रतिवादीहरूलाई पनि बयानका लागि अदालत उपस्थित गराइएको छ । न्यायाधीश नीतिज राईको इजलासमा बयान भइरहेको छ ।
सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।