• पुष १७ २०८१, बुधबार

एमालेको ओरालो यात्रा, फरकमत माथि बर्साइन्छ डण्डा

पुष १४ २०८१, आईतवार

एमालेको ओरालो यात्रा तीव्र भएको देखेर दुःख लाग्यो । वैचारिक–राजनीतिक रुपमा त एमालेको ओरालो यात्रा मालेकालमै माओ त्सेतुङ्ग विचारधारा छोडेपछि नै सुरु भएको थियो । तत्पश्चात् क्रमशः नयाँ जनवादी क्रान्तिको बाटो छोडेर बहुदलीय जनवादको बाटो, सशस्त्र संघर्षको बाटो परित्याग गरेर शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाको बाटो, वर्गसंघर्षको बाटो छोडेर वर्ग समन्वयको बाटो, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, स्वत्व, अस्तित्व र अस्मिताको संरक्षण र सम्बद्र्धनको बाटो छोडेर राष्ट्रिय आत्मसमर्पणको बाटो अंगाल्दै पुँजीवादी प्रतिक्रियावादी संसदीय राजमार्गमा उसको राजनीतिक यात्रा अघि बढ्यो ।
सामन्ती संस्कार–संस्कृतिलाई अवलम्बन गर्ने, एनजीओ/आइएनजीओ भित्राएर साम्राज्यवादी दलाल संस्कृतिलाई जीवनशैली बनाउने, नवउदारवादलाई अवलम्बन गरेर परनिर्भर मगन्ते संस्कृति विकास गर्दै आयो । त्यतिमात्र होइन, शीर्ष नेताहरु साम्राज्यवाद–विस्तारवादबाट आशा गर्ने अनि अन्य नेता–कार्यकर्ताहरुलाई तिनै ठुला नेताको पछि लागेर नेताको भक्ति–स्तुति गरेर पेटपाल्ने परमुखापेक्षी संस्कृतिलाई अन्ततः बा संस्कृतिको रुपमा विकसित गरेको छ ।

नेपालमा नेपाली काङ्ग्रेसले बढाएको व्यक्तिगत र गोप्य रुपमा हुने आर्थिक भ्रष्टाचारलाई एमालेले संस्थागत र खुला गर्नेगर्यो । यसरी भ्रष्ट पुँजीवाद, आसेपासे पोषणवाद, सत्ता र भत्तास्वार्थका निम्ति वैचारिक–राजनीतिक मूल्यमान्यतालाई तिलाञ्जली दिंदै प्रमुख दुश्मनसँग मिलेर खाने मूल्यहीन निकृष्ट संस्कृतिको चरम विकास गर्यो ।

गर्दा गर्दा अहिले आएर त पछिल्लो गतिविधिको रुपमा भ्रष्टाचार र भ्रष्टलाई चोख्याउन उनीहरुको कालोधनलाई चन्दाको रुपमा सार्वजनिक रुपमै स्वीकारेर सम्पत्ति शुद्धीकरण गरिदिने र पार्टीमा पुँजीपती, ठेकेदार, गुण्डा र तस्करहरुको पूर्ण पकडमा पुराउने प्रयास गर्यो । यहाँसम्म कि यसको विरोध गर्नेहरुलाई कार्वाही गरेर सिद्धाउने मित्र निषेध जस्ता विकृती–विसङ्गतिहरु समेत बढाएर सांस्कृतिक अधःपतनको बाटो विस्तार गर्दै सम्पूर्ण रुपले समाप्तिको सन्निकट पुगेको छ ।

नीति–नैतिकता भन्दा विधिपद्धतिलाई र विचारभन्दा व्यवहारलाई बढावा दिंदै सांगठनिक अनुशासनको डन्डा चलाएर संगठनलाई भने ठूलो आकार दिएको थियो । तथापि यसको सांगठनिक ओरालो यात्रा पनि धेरै पहिलेदेखि नै सुरु भएपनि सत्ता र भत्ताको चास्नीको लागि एमाले बनेपछि यसको आकार केही बढेको थियो । तर यसले कृतिम बहुमतको आधारमा राष्ट्रघाती महाकाली सन्धी अनुमोदन गरेपछि भएको विभाजनबाट यसको सांगठनिक ओरालो यात्रा सुरु भएको थियो ।

स्मरणीय छ यिनै केपी ओलीको बार्षिक एक खर्ब बीस अर्ब रुपैयाँ महाकाली नदीको विजुली चाइनालाई समेत स्याटेलाइटबाट बिक्री गरेर पनि लाभ हुने बहुलट्ठीपूर्ण जिकीर र जिद्दीका कारण इन्डियन विस्तारवादको निर्देशन र स्वार्थमा पार्टी केन्द्रमा जालझेलबाट बहुमत बनाएर अनि संसदमा काङ्ग्रेससँग साँठगाँठ गरेर एमालेले चरम राष्ट्रघाती महाकाली सन्धि पनि अनुमोदन गरेको थियो ।

पछि यस्तो राष्ट्रघाती सन्धि पारित गर्ने राष्ट्रघातीहरुको जमातसँग साथै बस्नु हुँदैन भनेर वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भै माले बनेपछि एमाले दुई टुक्रा भएको थियो । यो उसको ओरालो यात्राको पहिलो खुट्किलो थियो । तर फेरि माले र एमाले मिलेपछि केही उक्लिएको यो पार्टी २०३५ को नेकपा (माले) का संस्थापक महासचिव सीपी मैनालीले बहुदलीय जनवादको विरुद्धमा परिमार्जित नौलो जनवादको लाइन लिएर एमालेबाट विद्रोह गरी माले बनाएपछि यसमा विभाजन आई एमालेको सांगठनिक ओरालो यात्रा जारी नै रहेको थियो ।

वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा विचलन र पतनको दिशामा तीव्रतापूर्वक अघि बढिरहेकै बेला माओवादी जनयुद्ध सुरु भएर नयाँ जनवादी क्रान्तिले तीव्र गति लिएपछि एमालेका केही केन्द्रीय स्तरका तर प्रायः जिल्ला र स्थानीय स्तरका क्रान्तिकारी नेता–कार्यकर्ताहरुको ठूलो संख्या माओवादीमा समाहित भएका थिए ।

त्यसपछि त एमाले सांगठनिक रुपमा समेत करिब–करिब बिसर्जनको अवस्थामा पुगेको थियो । यसको पुष्टि २०६४ को संविधानसभाको चुनाव परिणामले गरेको थियो । तत्पश्चात् माओवादीले शान्तिसम्झौता गरेर सदन र सरकारमार्फत् गरेका क्रान्तिविरोधी हर्कतहरुका कारण स्वयम् माओवादीमा आएको ठूलो विभाजनपछि माओवादीप्रति वितृष्णा बढेर पहिलेका एमालेका नेता–कार्यकर्ताहरु सबैजसो एमालेमै फर्केर यसको संगठन पुरानै अवस्थामा पुगेको थियो । त्यो अवस्थामा माओवादी पनि आफ्नो अस्तित्व बचाउन, हैसियत बढाउन र सत्तास्वार्थ सुनिश्चित गर्न एमालेमै मिसिएपछि यसले एक्लै दुई तिहाई जित्ने अवस्था आएको थियो । तर त्यो अवस्था धेरै दिन टिकेन ।

अन्तत पद, शक्ति, प्रतिष्ठा र पैसाको लागि राजनीति गरेका क्रमशः केपी ओली, प्रचण्ड र माधव नेपालजस्ता नेताहरु एक ठाउँमा मिलिजुली बसौं र बाँडीचुँडी खाऔं भन्दै एकता गरेर डबल नेकपा बनाएका यी नेताहरु अन्ततः ३ बर्ष पुग्दानपुग्दै भागबन्डा नमिलेपछि गाँड कोराकोर र भुँडी फोराफोर गरेर तीन टुक्रामा विभाजित भए ।

ठूलो पार्टीको हैसियतले ओली एक नम्बरका अध्यक्ष भएको र प्रधानमन्त्री पनि उनै भएकोले फुटेर जाने माधव र प्रचण्डका गुटहरु कमजोर भए भने विगत लामो समयदेखि माधव–झलनाथ समूहलाई साथ दिंदै आएका भीम रावल लगायतका दस जना सिनियर, सक्षम र प्रभावशाली नेताहरु अन्ततः वैचारी–राजनीतिक रुपमा खासै भिन्नता नभै फुट्नु आफ्नो हित, पार्टीको हित र देशको हित हुँदैन भन्ने निष्कर्षमा पुगी नफुट्न कोसिस गरे तर मुख्य नेताहरुमा बढेको प्रतिशोधले गर्दा एउटै पार्टीमा बस्न नसक्ने भएपछी फुटे ।

त्यतिबेला ती दस भाई नेताहरु एमालेमै बसेपछि र माओवादीका बादल लगायतका केही नेताहरु पनि अन्ततः एमालेमै बसेपछि सांगठनिक रुपले विघटन र विसर्जन हुन थालेको एमाले बालबाल बचेको थियो ।

मदन–आश्रृतको हत्यापछि १५ बर्षसम्म महासचिव, २०४७ को संविधानका मस्यौदाकार र दुई बर्षजति प्रधानमन्त्री समेत बनिसकेका माधव नेपाल अनि माले–एमालेको पटक–पटक नेतृत्व गरिसकेका र प्रधानमन्त्री समेत बनेका वैचारिक, बौद्धिक र अध्ययनशील देशभक्त नेता झलनाथ खनालसहितका प्रायः सक्षम, इमान्दार र स्वच्छ नेताहरुसहितको एउटा समूह यसरी विभाजित हुँदा यदि भीम रावलहरु त्यसरी एमालेमै नबसेर माधव नेपालको नयाँ पार्टी नेकपा एसमा गएको भए सम्भवतः माओवादीका एमालेमा बसेका बादलहरु पनि एसमै जान्थे र एमालेको सांगठनिक तुजुक त्यतिबेलै तोडिन्थ्यो ।
अहिले केही ढिलो त भएको छ तर ढिलो होस् त राम्रै होस् भन्ने अवस्था आएको छ रावलहरुका निम्ति । माधव–प्रचण्ड फुटेपछि पनि खासै फरक नपरेको एमालेमा रावलजस्ता दुई–तीनजना गए केही फरक पर्दैन । पार्टीमा सधै विरोधको आवाज सुनिरहनु भन्दा न रहे बाँस न बजे बाँसुरी भनेझैं हाइसन्चो हुन्छ भन्ने सत्ता उन्मादले उन्मत्त भएका ओलीलाई परेको हुनसक्छ ।
यसै बेलामा इन्डो–अमेरिकी शासकवर्गबाट भीम रावलहरुलाई नरुचाइएको स्पष्ट नै छ । किनकी सीमा मिचिएको वा नागरिकता विधेयकको विष्यमा र एमसीसी सम्झौताको विरुद्धमा भीम रावल खुलेर बोलेका र गतिविधिहरु गरेका थिए ।
त्यसबाट रिसाएका इन्डो–अमेरिकी शासकहरुले बढी सम्भव छ ओलीलाई निर्देशन दिएर भारत भ्रमण गरेर आफ्ना प्रभुको भक्तिस्तुती गर्न आतुर ओलीलाई भीम रावलहरुमाथी कार्वाही गरेमा साम्राज्यवाद–विस्तारवाद्को भक्ति फलदायी हुन्छ र भ्रारत भ्रमणको बाटो खुल्छ भन्ने लागेर नै यो कार्वाही गरेको हुनुपर्छ ।

बढेको वैमनस्यता, विद्रोह र विभाजनको प्रकृया गत संसदीय निर्वाचनमा भीम रावल र घनश्याम भुसालजस्ता कैयौं सक्षम, पाका, पुराना, इमान्दार देशभक्त र क्रान्तिकारीहरुलाई टिकट नदिएर, दिनै परे पनि कमजोर क्षेत्रमा दिएर वा बाध्यतावस बलियै क्षेत्रमा दिएपनि पार्टी नेतृत्वको बेवास्ता र अन्तर्घातका कारण हराइएका वा यसो गर्दा पनि कसैले जितेर आएपनि मन्त्री, सभापतिजस्ता राज्य र पार्टीका कार्यकारी जिम्मेवारी नदिएर अन्याय गरियो । यसो गर्दा हाल यो प्रक्रिया भीम रावललाई पार्टीबाटै निष्कासन अनि सकृय, स्थापित र लोकपृय वरिष्ठ महिला नेत्री वृन्दा पाण्डे र उदीयमान स्वाभिमानी नेत्री उषाकिरण तिम्सीनालाई पार्टीबाट निलम्बनको कार्वाहीसम्म पुगेको छ ।

पार्टी र नेताका गलत विचार र व्यवहार विशेषप्रति असहमती, आलोचना र विरोध जनाएवापत उनीहरुमाथी यो अन्यायपूर्ण कार्वाही गरेको स्पष्ट देखिन्छ । पार्टी र नेताका कुनै गल्ती–कमजोरी औंल्याउन पाउने, प्रश्न उठाउन पाउने, आलोचना र विरोध जनाउन पाउने मात्र होइन विद्रोह गर्न पनि पाइने समेत अधिकार हुने अर्थात् अभिव्यक्तिको स्वतन्त्रता र कामकार्वाहीमा एकरुपता जस्ता मार्क्सवादी–लेनिनवादी मूल्यमान्यता र जनवादी/लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा यसरी निरंकुश, स्वेच्छाचारी र तानाशाही/अधिनायकवादी ढङ्गले निर्मम कार्वाही भएकोले यसको पार्टीभित्र र बाहिरबाट व्यापक विरोध भैरहेको छ भने त्यसको प्रतिरक्षा गर्ने प्रयास पनि भैरहेको छ ।

यो विरोध र प्रतिरक्षाको बहसको गम्भीरता, आयतन, ओज र तर्क–वितर्क सुन्दा यसबाट एमालेको ओरालो यात्राले तीव्रता र पराकाष्ठा लिने हो कि भन्ने देखिन्छ । यसो हुनुको कारण यो रहेको छ कि एउटा लोकतान्त्रिक विधिपद्धति अन्तर्गत चल्ने पार्टी जो संसदीय लोकतान्त्रिक व्यवस्थामा छिरेको छ, त्यसमा विचार राखेकै वा बोलेकै आधारमा नेताहरुमाथी नै हदैसम्मको कार्वाही गरिएको छ । त्यो पनि बिना कुनै स्पष्टीकरण ।

त्यो पनि सार्वजनिक विषयमा, जो विषयमा आफूहरुले आफ्नो मत राख्न पाइएको हुँदैन, त्यस्तो अवस्थामा आफ्नो मत सार्वजनिक गर्दा कार्वाहीमा पर्नु, त्यो पनि आफूले पाँच दशकजति तन, मन र धन लगाएर बनाएको पार्टीबाट । यस्तो अति अन्यायपूर्ण, अवांछित र अप्रिय निर्णय भएपछि कार्वाहीमा परेका सम्बन्धित व्यक्तिहरुले मात्र होइन सचेत नागरिक जोकसैले पनि यस्तो कार्वाहीका विरुद्ध आवाज उठाउनु न्यायपूर्ण, उचित र आवश्यक हुन्छ ।

भीम रावलहरुमाथिको यो कार्वाहीले गर्दा अब एमालेको ओरालो यात्राको गति तीव्र हुने र छिट्टै यो गन्तव्यमा पुग्ने अर्थात् एमालेको कम्युनिस्ट नामको पार्टीको रुपमा रहेको वर्तमान अस्तित्व संकटमा पर्ने र अन्ततः यो विघटन र विसर्जनको अवस्थामा पुग्ने देखिन्छ । यस्तो कुनै आग्रह–पूर्वाग्रह र प्रतिशोधको कारणले आवेगमा आएर आक्रोश पोखेको होइन ।

कुनै कम्युनिस्ट पार्टी आफ्ना घोषित वैचारिक, राजनीतिक र सांस्कृतिक मूल्यमान्यताबाट धेरै नै विचलन र पतन भैसकेको लामो समय भएपछि सांगठनिक विधि र बन्धनले बाँधेर धेरै दिन टिक्दैन । स्पष्ट छ यसरी पतन हुँदै गएको धेरै लामो अवधि भैसकेको छ । हुन त ओली र उनको गुटको यो बुझाइ होला कि ‘यस्ता आरोप लाग्दैगर्दा पार्टी सत्ता र राज्यसत्ता दुवैमा एकछत्र राज गरिरहिएकै छ र अझै गरिन्छ, कुनै माइकालालले केही लछारपाटो लाउँदैन । दुवै सत्ता भएको अवस्थामा मीनबहादुर गुरुङहरु जस्ता थुप्रैबाट पैसाको पहिरो आइरहन्छ र पैसा भए अरिङ्गालहरुको ओइरो लागिहाल्छ अनि त सबै काम सहजै छिटै तमाम भैहाल्छ ।’

तर यो बुझाइ कति गलत छ भन्ने कुरा पार्टी सत्ता र राज्यसत्तामा लामो समय एकल नेतृत्व गरेका कम्युनिस्ट वा अन्य पार्टीका नायकहरुको कस्तो दुखद अन्त भयो भन्ने कुरा सामान्यतया विश्व राजनीतिको इतिहास र विशेषतः छिमेकी देश इन्डियाको ज्योती बसुको पार्टी र उनको प्रान्तीय सत्ताको हालैको अवस्था हेरे मात्र पनि पुग्छ । साथै, सत्ता र शक्ति भएपछि जे गरेपनी हुन्छ भन्ने ओली गुटको यो दर्पले ‘अति दर्पे हता लङ्का …..अति सर्वत्र बर्जयेत’ जस्ता संस्कृतका संश्लेषणको मात्र होइन ‘अति गरे खति हुन्छ’ र enough is enough  जस्ता नेपाली र अङ्ग्रेजी भनाइहरुको पनि स्मरण गराएको छ ।

उल्लेखनीय छ कि यसअघि यसरी कार्वाही गरिएर एमालेमा विभाजनाएको नभएर केही वैचारिक–राजनीतिक र मूलतः व्यावहारिक र कार्यशैलीगत रुपमा अन्तर हुँदा बहस र विवादहरु विष्फोट भै विद्रोह र विभाजनको रुपमा अभिव्यक्त भएका थिए तर अहिले त भीम रावलहरुलाई कार्वाही नै गरेर पाँच दशकजति अवधिभरि आफ्नो खुनपसिना बगाएको पार्टीबाट जबर्जस्ति रक्षानमा फाल्ने दुस्साहस गरिएको छ ।

स्मरणीय छ, गत संसदीय निर्वाचनमा रावल र घनश्याम भुसाललाई उनीहरु सक्षम देशभक्त र लोकतन्त्रवादी भएको र मार्क्सवादी आलोचनात्मक चेत भएका स्वाभिमानी दिग्गज भएकोले वैकल्पिक नेतृत्वको रुपमा आफूहरुलाई चुनौती हुने हुनाले ओली मन्डलीद्वारा टिकट दिइएन । टिकट नदिने बित्तिकै घनश्यामले विद्रोही उमेद्वारी दिए र उनलाई एमालेका विपक्षीहरु सबैजसोले तत्काल समर्थन गरेर सांसदमा लडे ।

हाल उनी नेकपा एस अर्थात् माधव नेपाल समूहको महासचिव बन्न पुगे भने रावल चुनावमा भएको यसप्रकारको असहिष्णुता, उपेक्षा, अन्याय र अपमानका बावजुद पनि एमालेमै बसेर हालसम्म पनि आफ्ना विचारहरु राख्दै असहमत र अवान्छित विचार विधि र व्यवहार विरुद्ध जिम्मेवार र अनुशासित रुपमा बहस, विवाद र विरोध गर्दै आए तर विद्रोह, विस्फोट र विभाजनको व सम्म पनि उच्चारण नगरी बसे ।

म जस्ता पार्टी बाहिरका वा भित्रका देसभक्त, क्रान्तिकारी, जेनियुन र जिम्मेवार नेता–कार्यकर्ता, योद्धा–अभियन्ता र समर्थक–शुभचिन्तकहरुले एमालेमा यो अवस्थामा नबस्न र अर्को नयाँ क्रान्तिकारी र राष्ट्रवादी पार्टी पुनर्गठन गर्नको लागि पटकपटक अनुरोध–आग्रह र सुझाव–दवाव दिँदा पनि उनी त्यहीँ बसेरै विधिवत अन्तर्संघर्ष गर्ने र पार्टीलाई रुपान्तरण गर्ने भन्दै आए ।

एमालेमा अन्तसंघर्ष र रुपान्तरणको कुनै सकारात्मक अर्थ र परिणाम नहुने हुनाले समय खेर नफाल्न सुझाव दिंदै छरिएर रहेका सच्चा देशभक्त र क्रान्तिकारीहरुलाई गोलबन्द गर्न ढिला भैसकेकोमा सचेत गराउँदा पनि मानेनन् । देशभक्त र क्रान्तिकारीहरुको संगठित र मोर्चाबद्ध शक्ति नभए देश र जनताको मात्र होइन आफ्नै पनि सुरक्षा गर्न नसकिने हुनाले समयमै आवश्यक सतर्कता पुराउनुपर्ने शिक्षा मदन–आश्रृत हत्याकाण्ड र वर्तमानमा देश र कम्युनिस्ट आन्दोलनको दुरावस्थाबाट लिनसक्नुपर्छ भन्दा पनि ध्यानाकर्षण भएन

यसरी उनी त्यही एमालेमै बसेर एकता, संघर्ष र रुपान्तरणमा विश्वास गरी अन्तसंघर्ष चलाएका विशिष्ट नेतृत्व र व्यक्तित्व हुन् । अहिले एमालेको ओली गुटले आफ्नो प्रमुख प्रतिस्पर्धी काङ्ग्रेसजस्तो घोर प्रतिकृयावादी, विजातीय र विवर्गीय पार्टीसँग मिलेर आफू र आफ्नाका कतिपय गलत चिन्तन र चरित्रका कारण आफैबाट विद्रोह र विभाजन गरेर जाने सहधर्मी–सहकर्मी नेता–पार्टी (झलनाथ–माधव) हरुलाई सँगै बस्न नसक्ने गरि पेलेपछि बिद्रोह गरेर जान बाध्य पारे ।

यतिले मात्र पनि नपुगेर आफ्नै पार्टीका वैकल्पिक नेतृत्व (गत पार्टी महाधिवेशनमा अध्यक्ष पदमा लडेका) अनुभवी, सक्षम र साहसी नेता भीम रावल, जस्ले एउटा महाधिवेसनमा भएको केन्द्रीय सदस्यहरुको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका थिए, लाई यसरी अनुशासनमा नबसेको भनेर कार्वाही गरी पत्तासाफ गर्नखोज्नु भीम रावलहरुको ओज र मूल्य बढाउनु हो भने एमालेले आफ्नो कद घटाउँदै पतनको सुनिश्चितता निम्त्याउनु हो र हुनेछ । यस घटनाबाट अध्यक्ष केपी ओली र उनका वरिपरिका हनुमान, चम्चा र अरिङ्गालहरुलाई देशभक्त, राष्ट्रवादी र कम्युनिस्ट देख्ने एमालेभित्र र बाहिरका मानिसहरुका आँखा खुलेका छन् र यो कार्वाहीको विरोधमा आम सचेत नागरिक र बुद्धिजीवीहरुबाट समेत विरोधको बाढी नै आएको छ ।

यस्तो अन्यायको कुरा एउटा पार्टीमा मात्र होइन देस र दुनियाँमा पनि कसैमाथि कसैबाट हुन्छ भने त्यो आम चासो, चिन्ता, असहमती र विरोधको समेत विषय बन्छ । अझ कम्युनिस्टहरु त अन्तर्राष्ट्रियतावादी अन्तर्राष्ट्रिय जाति पो हुन् ! संसारभरका न्यायप्रेमी कम्युनिस्टहरुले मात्र होइन लोकतन्त्रवादीहरुले पनि अलोकतान्त्रिक तरिकाले भएका यस्ता कार्वाहीका विषयमा आवाज उठाउनु स्वाभाविक हो भने देसभित्रकाले त स्वाभाविक मात्र होइन आवश्यक समेत हुन्छ । एउटा बलियो राष्ट्रिय शक्ति बनेको एउटा राजनीतिक पार्टीले आफ्नो बलका आधारमा देस र जनताको लागि केही सकारात्मक योगदान गर्ला कि भनेर आशा गरिएको हुन्छ ।

यदि त्यही शक्तिले गरेको कुनै निर्णय आत्मघाती होला र पतन होला कि भनेर आम नागरिकले चिन्ता र खबर्दारी गर्नु नितान्त जायज हो । त्यसैले एमाले कामले कम्युनिस्ट क्रान्तिकारी नभए पनि नामले कम्युनिस्ट भएकाले उसले आलोचना–आत्मालोचाको विधिपद्धति र संस्कार–संस्कृति अनुसार असहमती र विरोधलाई सुन्नु र सच्चाउनु पर्ने हुन्छ । अझ उसले लोकतान्त्रिक कम्युनिस्ट भएर संसदीय व्यवस्था र बहुदलीय जनवाद मान्ने भएकाले प्रतिपक्षी र आम जनताको विरोध सुन्न, गुन्न र मान्न सक्नुपर्छ ।

कुनै पार्टीको आन्तरिक मामलामा हस्तक्षेप ठानेर यसका नेता–कार्यकर्ताहरु असहिष्णु, उत्तेजित र आक्रामक हुने होइन । फेरिपनि एमाले यसरी नै जान्छ भने मानौं न मानौं उसको ओरालो यात्रा सम्पूर्ण रुपले पतनको अवस्थामा पुग्छ । वर्तमान कार्वाही प्रकृयाले यो ओरालो यात्रालाई सांगठनिक रुपले विभाजन, विघटन र विसर्जनको सन्निकट त पुराएकै छ । अझै पनि नसच्चिए, त्यसो त ओली र उनको अनुदार गुटको अहंकारी चिन्तन र चरित्रले गर्दा सच्चिने कुरा असम्भवप्रायः भएकाले पार्टीको सम्पूर्ण रुपले विसर्जनको अन्तिम गन्तव्यमा पुराएरै छाड्ने देखिन्छ ।

आम जनता, कार्यकर्ता र नेताहरुको त्याग, तपस्या, श्रम, पसिना, आँसु, रगत आदिको बलिदान र योगदानबाट बनेको कुनै पार्टी त्यस्तो दुखद विडम्बनाको अवस्थामा नपुगोस् भन्ने हाम्रो कामनाले कति पो काम गर्ला र ? हेरौं !

२०८१ पुस १४