१२ पुस, काठमाडौं । नेपालगन्जमा शुक्रबारदेखि दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरे । उद्घाटन समारोहमा मन्त्री चौधरीले नेपालमा हाप्किडो खेलको विकास र विस्तार तीव्र गतिमा अगाडि बढिरहेको बताए । उनले हाप्किडो खेलको स्थायित्व र प्रगतिमा सहयोगको लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
त्यसैगरी, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तीरनदाज गौतमले हाप्किडो खेल नेपालमा सक्रिय रूपमा अगाडि बढिरहेको भन्दै यसको दिगो विकासका लागि पूर्वाधार निर्माण, प्रशिक्षण, र प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने बताए । उनले कोरियन खेल हाप्किडो नेपालमा तीव्र गतिमा लोकप्रिय हुँदै गएको पनि उल्लेख गरे । नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो खेल हिमाल, पहाड र तराईसम्म फैलिएको जानकारी दिए ।
उनले हाप्किडो खेल समाज रूपान्तरणको एउटा महत्त्वपूर्ण आधार भएको बताए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशबाट खेलाडीहरूको सहभागिता छ ।