१२ पुस, काठमाडौं । निजामती कर्मचारीका पाँच संगठनले पार्टीका सांसदलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । पार्टी निकटका पाँच संगठनका प्रमुखहरूले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर सांसदहरूले निजामती विधेयकमा अस्वभाविक अभिव्यक्ति दिएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलगत ट्रेड युनियन राख्न नहुने विचार व्यक्त गरेका थिए ।
घिमिरे र बर्तौलालाई लक्षित गर्दै कर्मचारी संगठनले भनेका छन, ‘माननीयज्यूहरूले अस्वभाविक ढंगले संचारमाध्यमबाट नकारात्मक टिप्पणीतर्फ बढी उन्मुख गराइरहनुभएको छ । यसले ऐन छिटो जारी गर्नेभन्दा पनि अनावश्यक बखेडाको बहानामा अझै ढिला सुस्ती गर्ने र संघीय निजामती सेवा ऐन तत्काल जारी नगर्ने वातावरण तयार भइरहेको अवस्था छ ।’ कर्मचारीको मानमर्दन गरी धारणा आएको उल्लेख गर्दै दम्भ प्रदर्शन नगर्न चेतावनी दलका सांसदलाई दिइएको छ ।
व्यवस्था परिवर्तनको लागि भएका निर्णायक आन्दोलनहरूमा हामी ट्रेड युनियनहरूले सहभागिता स्मरण गराइएको छ । संविधान जारी भएको नौ वर्षसम्म कर्मचारी विधेयक पारित हुन नसक्नुमा दलहरूको कमजोरी रहेको औंल्याइएको छ । श्रेणीगत प्रणाली खारेज गरी तहगत प्रणाली, वृत्तिविकास छिटो हुने व्यवस्था, सेवासुविधामा पुनरावलोकनको विषयलाई दलहरूलाई ध्यानाकर्षण गराइएको छ ।
एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्र् भट्ट, एकीकृत समाजवादी नजिकको एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्री र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले संयुक्त विज्ञप्ति निकालेका हुन् ।