• पुष १२ २०८१, शुक्रबार

बिहान उठ्ने बित्तिकै फोन चलाउनुहुन्छ ? यी हुनेछन् समस्या

पुष ११ २०८१, बिहीबार

काठमाडौं । आजकल स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी भइसकेको छ कि स्मार्टफोन बिना कुनैपनि काम चल्नसक्छ भन्ने लाग्दैन । दिनभर कुनै न कुनै कामका लागि फोनको प्रयोग गरिन्छ । धेरैजनाको बानी त बिहान उठ्ने बित्तिकै ओछ्यानमा रहँदा देखि नै फोन चलाउने हुन्छ। तर एकाबिहानै स्मार्टफोनको स्क्रिनमा गाडिने यस्तो बानी हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

बिहान उठ्ने बित्तिकै स्मार्टफोन प्रयोग गर्ने बानीले प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्य, मानसिक स्वास्थ्य तथा व्यक्तित्वलाई प्रभाव पार्दछ । एकाबिहानै फोन हेर्ने बानीका नकारात्मक असरहरु यस्ता छन् ।
निद्राको गुणस्तर बिग्रिने
जब हामी सुतिरहेका हुन्छौँ, त्यसबेला हाम्रो दिमाग शान्त रहन्छ । त्यस्तोमा जब हामीले बिहानै फोनको स्क्रिन हेर्छौँ तब हाम्रो दिमाग अचानक सक्रिय हुन्छ र यसले हाम्रा दिमागका स्नायुसम्मै क्षति र्पुयाउँछ । यदि यो बानी लामो समयसम्म रह्यो भने निद्राको गुणस्तर खराब हुने तथा सधै थकान महसुस भएको जस्तो समस्या पैदा हुन्छ ।
उच्च तनाव
स्मार्टफोनमा सोसल मिडिया, समाचार, इमेल तथा विभिन्न खालका एपहरुका नोटिफिकेसन आइरहन्छन्। बिहानै उठेर यस्ता सूचना हेर्नाले तनाव अर्थात् स्ट्रेस बढ्न सक्छ । बिहानै यदि नकारात्मक खबर हेरियो भने त्यसबाट हाम्रो मस्तिष्क नकारात्मकताले भरिन्छ र दिनभरको मुड खराब हुन्छ ।
उत्पादनशीलता घट्ने
यदि उत्पादनशीलता अर्थात् प्रडक्टिभिटी बढाउनु छ भने बिहानको समय सबैभन्दा धेरै उपयोगी हुन्छ । बिहानको समयमा हामीले आफ्नो पूरा दिनको योजना बनाउन सक्छौँ र त्यसलाई उत्कृष्ट बनाउन सक्छौँ । तर, जब हामीले बिहानै उठ्ने बित्तिकै फोनमा झुम्मिन थाल्छौँ, तब हाम्रो ध्यान भट्किन्छ र धेरै समय बर्बाद हुन्छ । यसबाट तपाईँको समय त बर्बाद हुन्छ नै काममा मन नलाग्दा उत्पादनशीलता पनि कम हुन्छ ।
आँखाको समस्या
स्मार्टफोनको स्क्रिनबाट निस्किने निलो प्रकाश हाम्रो आँखाको लागि निकै हानिकारक हुन्छ । बिहान स्मार्टफोनको प्रयोग गर्दा आँखामा जलन हुने, सुन्निने र धमिलोपन जस्ता समस्या उत्पन्न हुन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै स्मार्टफोन चलाउनुको साटो अन्य विभिन्न गतिविधिमा ध्यान दिनु आवश्यक हुन्छ । बिहानको समयमा योगा, ध्यान, व्यायाम आदि गरेर आफ्नो दिनको सुरुवात गर्नुपर्छ। यसबाट हाम्रो दिमाग शान्त रहन्छ, राम्रो निद्रा पर्छ र उत्पादनशीलता पनि बढ्दछ ।