• माघ १७ २०८१, बिहीबार

बुङमतीको पिंगद्यः पूजा र जात्रा

पुष ११ २०८१, बिहीबार

नेवार समुदाय नेपालमण्डलको आदिवासी/मूलवासी समुदाय हुन् । प्रकृति पूजा गर्नु, पुर्खाको पूजा गर्नु, कुल पूजा गर्नु विभिन्न देवीदेवतालाई हाँस, कुखुरा, बोका, राँगा, भेडाजस्ता जीवका बली चढाउनु, झारफुक गर्नु आदिवासी संस्कृतिका लक्षण हुन, जुन संस्कार र संस्कृति हालसम्म चल्दै आइरहेको पाइन्छ ।

तान्त्रिक विधि विधान अनुसार नेवार समुदायले विभिन्न किसिमका चाडपर्व, मेला र विभिन्न देवीदेवताका पूजा गर्दै आइरहेको पाइन्छ । पुर्खा पुजनमा पनि नेवारहरु अग्रस्थानमैं रहेको पाइन्छ । कुलायन पूजा गर्नु प्रत्येक वर्ष देवालीमा कुल देवताको पूजा गर्नु र बली दिएर तान्त्रिक विधि विधानअनुसार पूजा गरेर कुलायन देवीदेवतालाई प्रसन्न पार्ने कार्य गर्दै आइरहेको पाइन्छ ।

यसै सन्दर्भमा पूर्खा पुजनको एक नमूनाको रूपमा रही आएको पिंगद्यः पूजा संस्कृति पनि हो । नेवारी वस्तिहरुका मसानघाट नजिकै रहने गरी आफ्नो पुर्खाको प्रतीकका रूपमा स्थापना गरिएका ढुङ्गाका समूहलाई पिंगद्यः देवता भनिन्छ ।

विगतमा वितिसकेका पूर्खाहरुको अदृश्य शक्ति चेतना मसानघाट नजिकै रहने विश्वास गरिने भएकोले नै मसानघाट नजिकै पिंगद्यः स्थापना गरी वर्षको एकपटक त्यहाँ गएर पुजा गरी समयबजी खाने प्रचलन प्रायः नेवार बस्तिमा रहेको पाइन्छ । बुंगमतीमा भने चैत कृष्ण चतुदर्शी अर्थात् पाहाँचःह्रेका दिन पिंगद्यः पूजा गर्ने चलन रहेको पाइन्छ ।

पिंगद्यः मन्दिर परिसरमा झारफुक, बोक्सी विद्या इत्यादि सिक्ने सिकाउने गरिने चर्चा सबैले सुन्दै आएको छ । पछि मध्यकालमा ती ढुङ्गाहरुलाई अनेकौं तान्त्रिक देवीदेवताको रूपमा पूजा गर्ने गरिएको पाइन्छ । बुङ्गमतीमा पिंगद्यःलाई ज्ञानेश्वरीको रुपमा पूजा गरिने कुरा त्यहाँ रहेको शिलापत्रमा उल्लेख गएिको छ ।

ज्ञानेश्वरीलाई बौद्धभाषामा योगाम्बर, जोगाम्बर, ज्ञान डाकिनी भनिन्छ

बुङ्गमतीमा पिंगद्यःलाई योगाम्बर, जोगाम्बरको रुपमा पूजापाठ होम गर्ने चलन रहेको छ । यहाँ सम्वत ७९१ फागुन चतुर्दशीमा राखिएको शिलापत्र भेटिएको छ । जस अनुसार यस पिंगद्यःको चपातको निर्माण त्यही सालमा भएको हो ।

योगम्बर बज्रयानको निष्पन्न योगावली र चतुर्पिता तन्त्रका उल्लेखित अक्षब्य बुद्ध कुलको ध्यानी तान्त्रिक देवता हो, जसको समागम ज्ञान डाकिनी (ज्ञानेश्वरी) सँग रहेको हुन्छ । यस समागमबाट नै करुणामयको जन्म भएको मानिन्छ ।

योगाम्बर तीनवटा मुखहरु सेतो, निलो र रातो वर्ण तथा ६ वटा हात भएकी देवी हुन । देवीका ती ६ वटा हातमा बज्र, घण्टी, खप्परको कचौरा इत्यादी लिएकी बाघको छालामा बसेकी देवी हुन ।

यस पिंगद्यः परिसरमा चैत कृष्णपक्ष चतुर्दशीका दिन सबेरैदेखि पूजा गर्न बुङ्गमतीवासीहरु सपरिवार जाने गर्दछन र वरिपरि बसी सम्हय्बजी खाने गर्दछन । दिउँसो यहाँ राज गुर्जुहरु द्वारा मांसाहुति होम गराउने चलन रहेको छ ।

आजकल बोकाको बलि दिई गरिने यस यज्ञमा कुनै बेला नरबलि चढाइन्थ्यो भन्ने जनश्रुति रहेको छ 

उच्चकोटी यज्ञ भएको हुनाले यस यज्ञको समाप्तीपछि स्वर्गलोकमा खबर पठाउन भङ्गेरा र परेवाको प्रतिमा बनाई हावामा छोडने र पाताललोकमा खबर गर्न सर्प र माछाको प्रतिमा बनाई बागमतीमा बगाउने चलन रहेको छ ।  यज्ञ सकेपछि पिंगद्यःलाई खटमा राखी बोकेर बुङ्गमतीको नगरपरिक्रमा गराइन्छ । त्यस पश्चात मच्छिन्द्र बहालको आगम देवता भएको निजी घरमा लगेर राखिन्छ ।

योगाम्बर पूजा र साधनाले वस्तिको रक्षा हुने, ज्ञानको चक्षु खुल्ने र करुणाभाव बढ्ने जनविश्वास छ । बुङ्गमती देवता करुणामय रातो मच्छिन्द्रनाथको रथ बनाउने स्थान पुल्चोक र बुङ्गमती ईखाको स्थानमा अनि म्हयेपि अजिमालाई पनि योगाम्बर स्थलका रुपमा लिने गरिन्छ ।