भनिन्छ, मान्छेको दुई पटक मृत्यु हुन्छ । एउटा मृत्यु, जो शारीरिक हुन्छ । दोस्रो मृत्यु, जुन स्मृतिमा हुन्छ । शारीरिक मृत्युलाई स्वीकार्नै परेपनि अक्सर मान्छे स्मृतिहरुमा बाँचिरहन चाहन्छन् । विवेक धेरै मानिसको स्मृतिमा बाँचिरहनेछन् ।
एक प्लेटोनिक प्रेमको वियोगान्त
नजिक, टाढा जहाँ भए नि
दुश्मनै सारा संसार भए नि
कहिल्यै नघट्ने होस्
कहिल्यै नछुट्ने होस्
माया त यस्तो होस् ।
हेमन्त शर्माको यो गीतसँग ठ्याक्कै मेल खाने एउटा प्रेमिल किस्सा थिए, विवेक पंगेनी र सिर्जना सुवेदी । यो जोडीलाई देख्नासाथ हरेकको मनमा स्वतःस्फूर्त प्रतिध्वनित हुन्थ्यो, ‘माया त यस्तो होस् ।’जो सांसरिक दुनियाँसँग पलपल हारिरहेका थिए, उनीहरु नै प्रेमको अजम्बरी भाषा रच्दै थिए । त्यसैले त उनीहरूको त्यो अटुट सम्बन्ध घर–घरको कथा बनेको थियो । यस्तो कथा, जसले आदर्श प्रेमको वकालत गर्छ । आदर्श प्रेम अर्थात् जहाँ कुनै देहित आकर्षण हुँदैन ।
कुनै लेनदेन हुँदैन र नाफा–नोक्सानको हिसाब हुँदैन । त्यस्तो निस्वार्थ प्रेम, जसलाई केवल महसुस गर्न सकिन्छ । यस्तै प्रेमका उदाहरण थिए, विवेक र सिर्जना । तर, अब उनीहरू फेरि कहिल्यै एकसाथ देखिने छैनन् । क्यान्सरसँग जुधिरहेका विवेक पंगेनीको हालैमात्र निधन भयो । उनलाई चौथो स्टेजको ब्रेन क्यान्सर थियो र अमेरिकाको अस्पतालमा उपचार गराइरहेका थिए । विवेक–सिर्जना कुनै सेलिब्रेटी जोडी थिएनन् । तर, उनीहरूको निस्वार्थ प्रेम, त्याग र समर्पणले धेरैको हृदय पगाल्यो ।
खासगरी सिर्जना सुवेदी, जसले क्यान्सरग्रस्त पतिलाई कहिल्यै हिम्मत, हौसला र मायाको अभाव हुन दिइनन् । संभवत हरेक रातसँगै छोटिंदै गएको पतिको जीवनलाई उनी सकेसम्म सहज र सौहार्दपूर्ण बनाउने यत्नमा थिइन् । त्यसैले त हरबखत अस्पतालको शैयामा लडिरहेका पतिलाई स्नेहपूर्वक स्याहारसुसार गर्ने, हँसाउने, खेलाउने, घुमाउने गरिरहिन् । र, त्यसैमा उनले आफ्नो खुसी र आकांक्षाहरू पनि समाहित गरिन् । उनीहरूको यो प्रेममय सम्बन्ध धेरैका लागि पाठ बन्यो ।
अस्पतालमा छटपटाइरहेका कतिले उनीहरूबाट ऊर्जा र उत्साह लिए । दुःख र पीडामा बिलौना गरेर मात्र बसिरहनु पर्दैन भन्ने कुरा बुझे । सानोतिनो रोगसँग हिम्मतका साथ जुध्नका लागि प्रेरणा बन्यो । किनभने विवेक यस्तो रोगसँग जुधिरहेका थिए, जसको पूर्ण उपचार चिकित्सा विज्ञानको वशमा थिएन । चौथो चरणको ब्रेन क्यान्सर आफैंमा पीडादायी मात्र होइन मृत्युउन्मुख पनि थियो । एकदिन मर्नु त छँदै थियो । तर, उचित स्याहारसुसार, माया र हौसलाले मृत्युको मिति धकेल्न सकिन्छ भन्नेमा उनीहरू दृढ थिए ।
जटिल रोगले थलिएका एक पतिलाई पीडाबाट मुक्त राख्न र बाँच्नका लागि आत्मविश्वास भरिरहन सिर्जनाले हरसंभव प्रयास गरिरहिन् । कहिल्यै थाकिनन् । कहिल्यै हारिनन् । कहिल्यै रोइनन् । उनको त्यही त्याग र समर्पणले सामाजिक सञ्जालमा करुणा र प्रेमको धुन गुञ्जाइरह्यो । उनीहरूको फोटो, भिडियो राखेर खासगरी टिकटक प्रयोगकर्ताहरूले समर्पित प्रेमको बखान गरिरहे । बर्दिया बढैयाताल गाउँपालिका९५ राजापुर भएका विवेक १२ वर्षअघि पूर्ण छात्रवृत्र् िपाएर अध्ययनका लागि अमेरिका पुगेका थिए ।
उनी भौतिकशास्त्रमा पिएचडी गर्दै थिए । त्यसको पाँच वर्ष नबित्दै उनको आमाको निधन भयो । आमा पार्किन्सन्स रोगले थलिएकी थिइन् । अक्सर बुढ्यौलीमा सताउने यो समस्या एक न्यूरोडिजेनेरेटिभ डिसअर्डर हो । आमाको निधनपछि विवेक नेपाल आए । काजक्रिया सकाए । अनि अमेरिका फर्कने तयारीमा लागे । ठीक त्यहीबेला उनको स्वास्थ्यमा पनि समस्या देखियो । उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल गए । रिपोर्टले देखायो, उनलाई क्यान्सर जस्ता रोगले समाइसकेको छ ।
उनलाई त्यसबेला ब्रेन ट्युमर भएको थाहा भयो । त्यो पनि चौथो स्टेजको । अब उनको अमेरिका उडान पढाईभन्दा उपचारका लागि केन्द्रित थियो । अमेरिकामा उनको उपचार सुरु भयो । दुई पटक शल्यक्रिया गरियो । यसबाट ७० प्रतिशत ट्युमर निकाल्न संभव भयो । बाँकी उपचारको लागि किमोथेरापी र रेडिएसन दिनुपर्ने भयो । पति थलिएपछि सिर्जना निरन्तर स्यहारसुसारमा लागिन् । र, त्यस क्षणका कतिपय फोटो भिडियो सामाजिक सञ्जाल खासगरी टिकटकमा राख्न थालिन् ।
एउटा शिथिल र रोगी जीवनसाथीका लागि सिर्जनाले जसरी आफूलाई समर्पित गरिरिहन्, त्यसले धेरैको हृदय स्पर्श गरिदियो । अन्ततः उनीहरु टिकटकमा आदर्श जोडीको रूपमा स्थापित भए । त्यसो त सिर्जना र विवेकको टिकटक यसअघि नै ‘भाइरल’ हुने गरेको थियो । सिर्जनाले आफ्ना पति विवेकलाई नचाउने अभ्यास गराउँथिन् र त्यसैको भिडियो टिकटकमा राख्ने गर्थिन् । त्यसैले सिर्जनालाई टिकटकमा ‘बुढो नचाउने दिदी’ भनेर सम्बोधन गर्थे, धेरैले । उपचार क्रम चलिरहेकै थियो ।
पछिल्लो समय विवेकको स्वास्थ्य स्थिति क्रमशः नाजुक हुँदै गयो । र, उनलाई बचाउनका लागि गरिएका अनेक प्रयासहरू विफल भयो । विवेकको निधनसँगै यतिबेला धेरैले सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् । हास्य कलाकार मनोज गजुरेलले फेसबुकमा उनीहरूको फोटो राख्दै लेखेका छन, ‘हार्दिक श्रद्धान्जलि विवेक पंगेनी । ‘।तपाईं दुईको अमर प्रेम युगौंसम्म सम्झिइरहनेछ ।’अर्का एक फेसबुक प्रयोगकर्ता लेख्छन, ‘पत्नी प्रेम र पत्नी धर्ममा उत्तीर्ण भएपनि मृत्युकै जित भयो ।
किनकि मृत्यु परम सत्य हो । तर, अपनाउन अत्यन्तै कठिन छ । सिर्जनाले लैला मजनु, मुना मदनले झै भिन्नै प्रेमकहानी कोरेकी छिन् ।’एक फेसबुक प्रयोगकर्ताले उनीहरूको फोटो राख्दै कामना गरेका छन्, ‘अर्को जुनीमा पनि उहाँहरूकै मिलन होस् ।’ भनिन्छ, मान्छेको दुई पटक मृत्यु हुन्छ । एउटा मृत्यु, जो शारीरिक हुन्छ । दोस्रो मृत्यु, जुन स्मृतिमा हुन्छ । शारीरिक मृत्युलाई स्वीकार्नै परेपनि अक्सर मान्छे स्मृतिहरुमा बाँचिरहन चाहन्छन् । विवेक धेरै मानिसको स्मृतिमा बाँचिरहनेछन् ।