• पुष ८ २०८१, सोमबार

कैलालीमा आधा किलो सुन र नगदसहित २ भारतीय नागरिक पक्राउ

पुष ७ २०८१, आईतवार

७ पुस, धनगढी । प्रहरीले कैलालीबाट आधा किलो सुन र नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाखिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी)पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई आइतबार धनगढी उपमहानगरपालिका–३ को ट्राफिक चौराहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ५४९ द्दण्ण ग्राम सुन, ४४ हजार ८१० नेपाली रूपैयाँ, एक हजार २८० भारतीय रूपैयाँ र सुन बोक्न प्रयोग गरिएको युपी ३२जेभी ९२००नम्बरको भारतीय गाडी समेत बरामद गरेको छ । एउटा ल्यापटप र दुई वटा मोबाइल पनि बरामद गरिएको छ । पक्राउ परेका भारतीय र बरामद सुनसहितका सामान जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले विशेष सूचनाका आधारमा सुन र नगदसहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उदेश्यले सुन तस्करी गरी ल्याइएको उनले बताए । पक्राउ परेका मध्येका सुमित बर्माले भारतको पलियामा सुनचाँदीको व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ । एसपी विष्टले सुनसहित पक्राउ परेकाहरूलाई अनुसन्धान सकेर थप कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइने बताए ।