पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र पेश भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग पत्र पेश गरेको हो । अहिले मुद्दा दर्ताको क्रममा रहेको छ ।
मुद्दा दर्ताका लागि लामिछानेलाई बिहान अदालतमा उपस्थित गराइएको थियो । यसअघि पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आज अदालतमा लामिछानेविरुद्ध अभियोग दायर गरेको हो ।
सहकारीको रकम अपचलनको अभियोगमा उनीसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध अभियोग दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रतिवेदनमा लामिछाने, पूर्वडीआईजी जोशीलगायतसँग डेढ अर्ब रुपैयाँ बिगो असुल र सहकार ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद,संगठित अपराधमा ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धिकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनु पर्ने प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
सहकारी ठगीमा सामूहिक बिगो १ करोड ६२ लाख, व्यक्तिगत बिगो १ करोड ७५ लाख सहित सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा छ ।
सहकारी ठगीका मुख्य योजनाकार भनिएका जीवी राईलाई संगठित अपराध, सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाइएको छ ।