काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले ६९ औँ स्थापना दिवस मनाएको छ ।
दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरूको तस्बिरमा माल्यार्पण गरेर बार दिवस मनाइएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस–२०८१ विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरका कार्यालयहरूमा मनाइएको जानकारी दिए । बारले निरङ्कुश व्यवस्थासँग लडेको, अन्य थुप्रै न्यायिक सुधारहरूमा लडिरहेको उनले बताए ।
उनले न्यायालयमा हुने गरेको बेतिथिका विरुद्ध बारको लडाइँ निरन्तर रहेको धारणा राखे । घिमिरेले न्यायाधीश नियुक्तिमा भएको ढिलाइमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारकातर्फबाट नाम पठाइने जानकारी दिए ।
२०१३ साल पुस ७ गते स्थापना भएको बार एसोसिएसनले प्रत्येक वर्ष पुस ७ गते बार दिवस मनाउँदै आएको छ ।