• पुष ७ २०८१, आईतवार

मुद्दा दर्ताका लागि रवि लामिछानेसहित पाँच जनालाई अदालत लगिँदै

पुष ७ २०८१, आईतवार

पुस ७, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध आज मुद्दा दर्ता हुने भएको छ । यसका लागि लामिछानेसहित आरोपीहरू पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, नेटर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका न्यायाधिवक्ता कमला काफ्लेले पाँच जनाविरुद्ध आज मुद्दा दर्ता हुने बताइन् । यसअघि शुक्रबार यही प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका राईसहित १९ जनाविरुद्ध शुक्रबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । पहिलो चरणमा पक्राउ पुर्जी जारी भएकामध्ये सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष राई, उनका दाइ भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर र ऋण अधिकृत बुद्धि गुरुङ फरार छन् ।

सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा राई, लामिछाने, जोशीलगायतलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागेको हो ।