काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् ।
उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड भए पनि सेन्टरले कोषाध्यक्षसहित केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष जित्नु सकारात्मक संकेत भएको बताए । ‘स्थानीय तह उपनिर्वाचन र पत्रकार महासंघको चुनावी परिणामले उत्साहित बनाएको छ,’ उनले भने, ‘पत्रकार साथीहरु सचेत भएर सेन्टरलाई जिताउनु भयो । यो जनमत सकारात्मक मान्नुपर्छ ।’