बच्चाहरुमा पेट दुख्ने समस्या हुनुका कारण यस्ता छन् ः
–पास्नी गरेपछि विभिन्न खालका खाना खुवाउन सुरू गर्दा बच्चाहरूलाई पेट दुख्ने समस्या हुन्छ। अभिभावकले यसलाई सामान्य रूपमा लिएका हुन्छन्। तर यो समस्या धेरै लामो भयो भने, बीसौं दिनसम्म दिसा नगर्ने समस्या समेत हुन्छ। यस्तो अवस्थामा आन्द्राको क्षमता बढ्दै जान्छ र आन्द्रा सुन्निने हुन्छ। कतिपयको त आन्द्रा फुटेर जटिलता निम्तिएको छ।
–जंक फुड धेरै खुवाएर पेट दुख्ने समस्या थप बढेको छ। कहिलेकाहीँ जंक फुड खुवाउँदा केही हुँदैन। तर धेरैजसो घरहरूमा खाजाकै रूपमा यसलाई खुवाउन थालिएको छ। यसले गर्दा घरमै पाइने खाना बच्चाले मन पराउन छाडेका छन्। बच्चाले साग र तरकारी खान मन नगर्दा कब्जियत धेरै हुन्छ।
–पानी राम्रो नहुने र सरसफाइ गतिलो नहुँदा जुकाको समस्या हुन्छ। जुकाले गर्दा पनि बच्चालाई पेट दुख्छ। जुका पर्यो भने बच्चाको तौल नबढ्ने, खाना खान मननलाग्ने, वाकवाकी हुने हुन्छ।
–मौसमी फ्लुका कारण झाडापखला लाग्ने भएकाले पनि पेट दुख्ने हुन्छ। कति बच्चालाई एपेन्डिसाइटिसले समस्या पारेको हुन्छ। कब्जियतको कारणले नै यस्तो हुने हो। ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा रहेको यो अंगमा दिसाका कणहरू छिरेर पाक्ने हुन्छ। बच्चाहरूलाई विभिन्न कारणले एपेन्डिसाइटिस हुन्छ तर मुख्य कारण कब्जियत हो।