• पुष ४ २०८१, बिहीबार

बढ्यो बलात्कार : काठमाडौंमा मात्रै ४ महिनामा १२४ महिला बलात्कृत

पुष ३ २०८१, बुधबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो चार महिनामा १२४ वटा बलात्कारका घटना भएका छन् । २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका १२४ वटा घटना काठमाडौँ उपत्यकामा दर्ता भएका हुन् ।

गत वर्ष सोही अवधिमा ११३ मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्षको तुलनामा काठमाडौँ उपत्यकामा बलात्कारको घटना बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिएको छ ।

चालु आर्थिक वर्षको साउनपछि कार्तिकसम्मको अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै बलात्कारका मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘चार महिनाको अवधिमा जबरजस्ती करणीको घटना कोशी प्रदेशमा सबैभन्दा धेरै देखिएको छ ।’

सो अवधिमा कोशीमा १९५ वटा बलात्कार सम्बन्धी घटना दर्ता भएको थियो । गत आर्थिक वर्षको त्यही समयभित्र १८३ मुद्दा दर्ता भएको थियो ।

चालु आर्थिक वर्षमा देशभर ८ सय २३ बलात्कारका मुद्दा दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा ८ सय ९ मुद्दा दर्ता भएका थिए । तुलनात्मक रूपमा बलात्कार बढेको एसएसपी अधिकारीले जानकारी दिए ।