काठमाडौं । चीनले नेपालबाट राँगा र भैँसीको मासु लैजाने लागि सम्झौता भएको छ । काठमाडौंमा सोमबार भएको कार्यक्रममा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच उक्त सम्झौता भएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने बताए ।
‘यो सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौं । नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा, भैँसी पालनका लागि थप प्रोत्साहित गरेको छ,’ उनले भने ।
नेपालमा राँगा, भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने उनले बताए । नयाँ—नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरूलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।
‘हामीले युवालाई पनि यस पेसामा जोडेर पुस्तान्तरण गर्न जरूरी छ । पशुपालनका सन्दर्भमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै युवाहरूलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ,’ उनले भने ।
चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उनले बताए ।