काठमाडौं । वैदेशिक रोजगारका लागि विदेश जाने नेपालीहरुले वर्षेनी खर्बो रुपैयाँ रेमिट्यान्स पठाइरहेका हुन्छन् । प्रत्येक महिना विदेशबाट नेपालमा औसतमा १ खर्ब ४० अर्ब भन्दा धेरै रकम भित्रिरहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक बर्षको चार महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह साउनदेखि कार्तिक मसान्तसम्म ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । विदेशबाट पठाएको विप्रेष्ण(रेमिट्यान्स) मध्ये सर्वसाधरणले कति बचत गर्छन् र के मा खर्च हुन्छ भन्ने धेरैको चासो छ । विदेशबाट पठाएको विप्रेषण मध्ये धेरैले ऋण तिर्न र घर खर्चमा लगानी गर्ने गरेका छन् ।
स्वदेशमा रोजगारी नभएको भन्दै पछिल्ला वर्षहरूमा अध्ययनको शिलशिलामा होस् या रोजगारीको लागि भनेर विदेश जाने युवाहरुको संख्या ह्वात्तै बढेको छ । उनीहरुले विदेशबाट पठाउने रेमिट्यान्स पनि बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । तर, विदेशबाट आएको रेमिट्यान्स लगानी चाँही कुन ठाउँमा भयो भन्ने विषय भने एकिन छैन । विदेशबाट नेपालीहरुले पठाएको रेमिट्यान्स(विप्रषण) लगानी भएर न उद्योग खुलेका छन् न कुनै कलकारखानामा नै लगानी भएका छन् । विद्युतको प्रचुर सम्भावना भएर पनि रेमिट्यान्स लगानी गर्न सकिरहेको देखिदैन ।
वैदेशिक रोजगारमा जानका लागि नेपालमा कानुन बनेको चार दशक पुग्यो । अहिलेसम्मको बैधानिक रुपमा विदेश जाने नेपालीको संख्या ८० लाख पुगिसकेको छ । २०५० सालदेखि २०८१ सालसम्मको अवधि ३१ वर्ष ३ महिनाको अवधिमा कुल ७९ लाख ७६ हजार ४६५ जना नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । यो संख्या वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जानेको मात्र हो । अबैध रुपमा जानेको संख्या भने कति छ एकिन छैन । नेपालले श्रम सम्झौता १२ वटा देशसँग गरेको भए पनि बैधानिक रुपमा विदेश जाने नेपालीहरु संस्थागत र व्यक्तिगत गरेर विश्वका १ सय ८६ देशमा रोजगारीका लागि पुगेका छन् ।
यसरी विदेश जाने नेपालीहरुले हरेक महिना नेपालमा पैसा पठाउने गरेका छन् । आर्थिक वर्ष २०५०/५१ देखि २०८०/८१ सम्मको अवधिलाई हेर्दा बैदेशिक रोजगारमा जानेको संख्या २ सय प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा २०५०/५१ मा नेपालमा २ अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ । गत आर्थिक वर्ष प्रत्येक महिना औसतमा १ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो । यो वैधानिक माध्यमबाट आएको रेमिट्यान्स मात्र हो ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले के भन्छ ?
नेपाल राष्ट्र बैंकले २०७३ सालामा ‘विप्रेषण (रेमिट्यान्स) प्राप्त गर्ने परिवारको विषयमा एउटा अध्ययन गरेको थियो । राष्ट्र बैंकले घर–परिवारको बचत तथा लगानी प्रवृत्ति शीर्षकमा अध्ययन गरेको थियो । घर–परिवारको बचत तथा लगानी प्रवृत्तिलाई केन्द्रित गरी १६ जिल्लाका ३२० घर–परिवारलाई समेटी अध्ययन गरिएको थियो ।
अध्ययनले सबै महत्वपूर्ण बिषय अहिले वैदेशिक रोजगारीमा रहेका व्यक्ति मध्ये ८०.८ प्रतिशत घरपरिवारको आयनै रेमिट्यान्स रहेको देखाएको छ । उनीहरुले रेमिट्यान्स बाहेक अन्य स्रोतवाट खर्च धान्न नसक्ने स्थिती रहेको पनि पाइएको छ ।
अध्ययनले नेपाल आउने रेमिट्यान्सको प्रयोग ऋण तिर्न २५.३ प्रतिशत, दैनिक उपयोगका लागि २३.९ प्रतिशत, शिक्षा, स्वास्थ्यमा ९.७ प्रतिशत, सामाजिक कार्यका लागि ३ प्रतिशत, उत्पादनमूलक कार्यहरूमा १.१ प्रतिशत र बचत कार्यका लागि २८ प्रतिशत हुने देखाएको थियो ।
“विप्रेषण आय प्राप्त गर्ने घरपरिवारले कामभन्दा फुर्सद रोज्ने गरेको देखिएकाले विप्रेषण आप्रवाहले कुल गार्हस्थ्य उत्पादन अभिवृद्धिमा प्रतिकूल प्रभाव पारेको देखिन्छ,” अध्ययन प्रतिवेदनमा भनिएको छ, “यो प्रवृत्ति रोक्न र घर–परिवारका सदस्यलाई आय आर्जन गतिविधिमा संलग्न गराई विप्रेषण आप्रवाहलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता देखिन्छ ।”
अध्ययनमा समेटिएका रेमिट्यान्स प्राप्त गर्ने घर–परिवारमध्ये ६६.६ प्रतिशतले रेमिट्यान्स आय कुनै न कुनै रूपमा बचत गर्ने गरेको बताएका थिए भने ३३.४ प्रतिशतले उपभोग तथा ऋण तिर्न प्रयोग गरेको बताएका थिए । रेमिट्यान्सबाट प्राप्त रकम बचत गर्ने घरपरिवारहरू मध्ये ४८.८ प्रतिशतको बचत गर्नुको मुख्य उद्देश्य घरजग्गा खरिद गर्नुरहेको बताए थिए । ३६.६ प्रतिशतको बचत गर्नुको उद्देश्य घर मर्मत गर्न जनाएका थिए ।
अध्ययनले ३२० घर–परिवारले बितेको एक वर्षमा प्राप्त रेमिट्यान्समध्ये २५.३ प्रतिशत अंश ऋण तिर्न प्रयोग गरेको देखाएको थियो । रेमिट्यान्स आम्दानीको २३.९ प्रतिशत खाना, खाजा, लत्ताकपडालगायतका दैनिक उपभोगका क्षेत्रमा खर्च हुने गरेको अध्ययनले देखाएको थियो । “स्थलगत सर्वेक्षणमा विप्रेषण प्राप्त गर्ने घर–परिवारले प्राप्त आम्दानीको १.१ प्रतिशत मात्र व्यापार÷व्यवसाय जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरेको पाइएको छ,” प्रतिवेदनमा भनिएको छ ।
अध्ययन अनुसार बिदेशमा रहेका मध्ये अझै दुई तिहाइ बैंक तथा वित्रीय संस्थाको पहुँच वाहिर रहेको देखाएको छ । ती परिवारमध्ये ६४.१ प्रतिशत परिवारको मुलीको नाममा बैंक खाता रहने र ३६.६ प्रतिशतको मात्र स्वयं रोजगारीमा गएकाको बैंक खाता रहेको छ ।
कुन सालमा कति भित्रियो रेमिट्यान्स ?
राष्ट्र बैंकको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब ६० करोड रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँ र २०६९/७० मा ४ खर्ब ३४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
यस्तै, आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीबाट नेपालमा आएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब ७९ अर्ब ३० करोड रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब १० करोड रुपैयाँ, २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ, २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ र २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स वैदेशिक रोजगारीमा गएकाहरूले पठाएका छन् ।